
बागमती प्रदेशका विपक्षी दलहरूले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमा पूरक प्रस्ताव ल्याउन वा संशोधन गर्न माग गरेका छन् । माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।
माओवादीका प्रमुख सचेतक रत्न ढकालले बजेटको निर्माण प्रक्रिया नीतिगत रूपमा त्रुटिपूर्ण रहेको र त्यसमा भएका असन्तुलन, विभेदका कारण पूरक प्रस्ताव वा संशोधन जरुरी रहेको बताए । ‘बजेट नीतिगत रूपमा त्रुटिपूर्ण छ । बजेटका कारण सत्तासाझेदार दलहरूमै असन्तुष्टि छ भने प्रतिपक्षी नहुने कुरै भएन,’ उनले भने, ‘यसको मुख्य कारण भनेकै त्रुटिपूर्ण बजेट निर्माण प्रक्रिया, बजेट असन्तुलन र बजेट वितरणमा भएको विभेद हो ।’ उनले आफैँले ल्याएको बजेटमाथिको छलफलबाट सरकार आफैँ भागेको आरोप पनि लगाए ।
त्यस्तै, एकीकृत समाजवादीका वसन्त मानन्धर र राप्रपाका उपनेता गिरबहादुर तामाङले सत्तारूढ दललाई संवादका लागि आह्वान गर्दै बजेटको नीतिगत त्रुटिहरू सच्याउन माग गरे । उनीहरूले सरकार छलफल र संवादबाट भागेर लगातार प्रदेश सभा बैठक स्थगन गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
कांग्रेस केन्द्रको निर्देशन कुर्दै सत्तारूढ दल
बजेटमाथिको छलफल गर्न सत्तारूढ दलहरू कांग्रेस केन्द्रीय समितिको निर्देशन पर्खेर बसेका छन् । कांग्रेस केन्द्रीय समितिको सोमबारदेखि सुरु भएको बैठकबाट आउने निर्देशनअनुसार मात्र बजेटमाथिको छलफल अघि बढाउने रणनीतिमा सत्तारूढ दल रहेको एमालेका एक सांसदले बताए । उनले भने ‘कांग्रेस केन्द्रीय समितिको बैठकले दिने संकेतअनुसार बजेट माथिको छलफल प्रारम्भ हुन्छ । हामी अहिले पर्ख र हेरको अवस्थामा छौँ । बजेटको विषयलाई लिएर एमालेभित्र पनि केही असन्तुष्टि छ ।’
कांग्रेसका एक सांसदले पनि केन्द्रीय नेताहरू पनि प्रदेशको बजेटप्रति सन्तुष्ट नरहेकाले बैठकबाट आउने निर्देशनअनुसार जानेमा निष्कर्षमा पुगेको बताए । उनले प्रदेश सभा संसदीय दलको बैठक पनि प्रभावकारी बन्न नसकेको स्वीकार गरे । सत्तासाझेदार दलहरूबिच पनि बजेटको विषयलाई लिएर तीव्र असन्तुष्टि छ ।
सोही कारण पटक–पटकको औपचारिक–अनौपचारिक बैठकमा सहमति जुट्न नसक्दा १२ गते र १६ गते बोलाइएको संसद्को बैठक एकपटक पनि बस्दै नबसी सारिएको छ ।
सोमबार पनि बजेटमाथिको विवाद समाधान गर्न बसेको कांग्रेस संसदीय दलको बैठक विनानिष्कर्ष टुंगिएको छ । सोही कारणले एमालेको संसदीय दलको बैठकसमेत बस्न सकेको छैन ।
एमालेका प्रमुख सचेत मधुसूदन पौडेलले बजेटको विषयलाई लिएर असन्तुष्टि रहेको बताए । उनले सत्तासाझेदार दलहरूबिच एउटै धारणा बनाएर जाने सन्दर्भमा छलफल भइरहेको उल्लेख गर्दै एक–दुई दिनमै आपसी समझदारीबाट समस्या समाधान हुने बताए ।