१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५९:oo

समाचार सम्प्रेषण गरेकै आधारमा प्रहरीले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत, काठमाडौंमा साइबर अपराधको मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्पmत सोमबार दायर मुद्दामा उनलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय मागदाबी गरिएको छ ।

प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रहरीले अनुसन्धान गरी फौजदारी अभियोग लगाइएकोमा सञ्चारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् । नेपाल पत्रकार महासंघ, पत्रकारका विभिन्न संघसंस्था, राष्ट्रिय मानव अधिकार आयोगलगायतले यो प्रकरणमा यसअघिदेखि नै विरोध जनाउँदै आएका छन् । समाचार गलत भएमा प्रेस काउन्सिल नेपालमार्फत कारबाही हुने प्रावधान छ । 

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीका विषयमा आफ्नो युट्युब च्यानलमा समाचार सम्प्रेषण गरेका थिए । जयवीरले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए । सोही आधारमा अदालतमा मुद्दा दायर गरिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७(१) कसुर पुष्टि भएको हुँदा पाठकविरुद्ध एक लाख रुपैयाँ जरिवानासहित पाँच वर्षसम्मको कैद सजाय मागदाबी गरिएको हो । सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेले पाठकविरुद्ध मुद्दा दर्ता भएको बताए । ‘पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७(१) कसुर पुष्टि भयो । त्यसो हुँदा उनीविरुद्ध एक लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्मको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको छ,’ उनले भने ।

विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१)मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न नहुने भनी उल्लेख छ । त्यस्तै, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य पनि गर्न नहुने उक्त दफामा उल्लेख छ । कसैले कानुन उल्लंघन गरे कसुदारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ ।  

सरकारी वकिल कार्यालयले अदालतसमक्ष पाठक पक्राउको अनुमति पनि माग गरेको छ । अभियोगपत्रअनुसार युट्युब ‘च्यानल टफ टल्क विथ दिलभूषण पाठक’मार्फत प्रसारण भएको सामग्रीले जाहेरवालाको अपमान, बेइज्जत र चरित्रहत्या पुष्टि भएको भनिएको छ । ‘भिडियो सार्वजनिक रूपमा प्रसारण गरी पीडित जाहेरवाला परिवर्तित नाम ‘साइबर ५९’ को अपमान र बेइज्जत गरी घृणा द्वेष फैलाई चरित्रहत्या गर्नेलगायतको कार्य गरी निज प्रतिवादी दिलभूषण पाठकले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आयो,’ अभियोगपत्रमा छ । 

यसअघि नै पाठकलाई समात्न प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर, चौतर्फी विरोध भएपछि प्रहरी रोकिएको थियो । लगत्तै उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि ब्यूरोले उपस्थिती हुन सूचना जारी गरेको गरेकोमा उपस्थित नभएपछि उनीविरुद्ध मुद्दा दायर गरेको हो ।