१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
श्रवण उप्रेती काठमाडाैं
Invalid date format १o:o२:oo
Read Time : > 8 मिनेट
फिचर प्रिन्ट संस्करण

जसले नैतिकता देखाए, पदमा बसिरहन चाहेनन्

Read Time : > 8 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

अहिले विश्वभर नै अधिकांश राजनीतिज्ञ अलोकप्रिय बनिरहेका छन् । राजनीतिक दल र नेतृत्वमा गुम्दै गएको नैतिकताका कारण पनि यस्तो स्थिति सिर्जना भएको हुन सक्ने विश्लेषक बताउँछन् । पछिल्लो समय नेपालमै पनि भिजिट भिसाको आवरणमा रकम असुलेर मानव तस्करी हुने गरेको सार्वजनिक भएको छ । त्यसमा गृहमन्त्रीसहितकै उच्च पदका कर्मचारीको संलग्नता रहेको गम्भीर आरोप लागेको छ । संसद्का चौथो र पाँचौँ ठुला दलले न्यायिक समिति वा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सरकारले उल्टै आरोपित गृहमन्त्री रमेश लेखकको छनोट र प्रस्तावमा झारा टार्ने छानबिन समिति बनाएको छ । तथापि, विश्व राजनीतिमा भने  आफूमाथि प्रश्न उठेको अवस्था वा जिम्मेवारी राम्ररी बहन नगरेको आरोप लागेपछि नैतिकताका आधारमा पद त्याग्ने गरेका उदाहरण प्रशस्त छन् । यहाँ त्यस्तै केही नेताको चर्चा गरिएको छ : 

सन्ना मारिन प्रधानमन्त्री, फिनल्यान्ड
सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री चुनिँदा मारिन जम्मा ३४ वर्षकी थिइन् । उनले त्यति वेलाको विश्वको सबैभन्दा कान्छी सरकार प्रमुखको रेकर्डसमेत राखेकी थिइन् । उनले कठिन समयमा देशको नेतृत्व गरेकी थिइन् । प्रधानमन्त्रीका रूपमा उनले कोभिड–१९ विरुद्ध सफल योजना सञ्चालन गरिन् । त्यस्तै युक्रेनमाथि रुसी आक्रमणपछि रुससँग सिमाना जोडिएको उनको देशलाई नेटो सदस्य बनाउन नेतृत्वदायी भूमिका खेलिन् ।

चार वर्षको कार्यकाल पूरा गरेपछि सन् २०२३ मा भएको निर्वाचनमा उनले नेतृत्व गरेको ‘सोसल डेमोक्रेटिक पार्टी अफ फिनल्यान्ड’ले पहिलो दलको हैसियत गुमायो । लोकप्रिय मत र सिट दुवैमा पार्टी तेस्रो बन्यो । लगत्तै उनले पार्टी नेतृत्व मात्र होइन, आफ्नो सांसद पदबाट समेत राजीनामा दिइन् । यहाँसम्म कि उनले राजनीतिबाट नै सन्न्यासको घोषणा गरिन् । जबकि पार्टीको विधानमा त्यसरी राजीनामा दिनुपर्ने व्यवस्था थिएन । फिनल्यान्डको राजनीतिक अभ्यास पनि पहिले त्यस्तो देखिएको थिएन । तर, पार्टीको हारको जिम्मा लिँदै मारिनले राजनीतिमा आफूले गर्न सक्ने गरेको र अब नयाँ व्यक्तिलाई पालो दिन चाहेको बताउँदै राजनीतिबाटै सन्न्यास लिइन् । 

डेभिड क्यामरुन प्रधानमन्त्री, बेलायत
सन् २०१० मा बेलायतमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टी पहिलो दल बन्यो । डेभिड क्यामरुनको नेतृत्वमा निर्वाचनमा गएको सो दल १३ वर्षको अन्तरालपछि सत्तामा फर्किन सफल भयो । तथापि, कन्जर्भेटिभ पार्टीसँग बहुमतभन्दा केही कम सिट रहेकाले उसले लिबरल डेमोक्रेट्ससँग मिलेर गठबन्धन सरकार बनायो । क्यामरुनले दोस्रो विश्वयुद्धपछि बेलायतको पहिलो गठबन्धन सरकारको नेतृत्व गरे । शक्तिशाली बेलायतको प्रधानमन्त्री हुँदा उनी ४३ वर्षका थिए, जुन आधुनिक कालका सबैभन्दा कान्छा ब्रिटिस प्रधानमन्त्रीको रेकर्ड थियो । 

यस कार्यकालमा उनको कामकै कारण हुन सक्छ, सन् २०१५ को आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टी एकल बहुमत ल्याउन सफल भयो । निर्वाचनका क्रममा उनको घोषणापत्रमा देशमा चर्किंदै गएको युरोपेली संघको सदस्यको विषयमा जनमत संग्रह गराउने वाचा पनि उल्लेख थियो । चुनावी वाचाअनुरूप क्यामरुनले दोस्रो कार्यकाल सम्हालेको एक वर्षपछि २३ जुनमा बेलायत युरोपेली संघमै रहने वा बाहिरिने दुई प्रश्नमा जनमतसंग्रह गरे । निर्वाचनमा क्यामरुनले संघमै रहनुपर्छ भन्ने पक्षमा अभियान चलाएका थिए । तर, झिनो अन्तरले युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा बहुमत आयो । ५१.८९ प्रतिशत मतदाताले बाहिरिनुपर्ने पक्षमा मत जाहेर गरेका थिए । निर्वाचनको परिणाम आएको केही घण्टापछि नै क्यामरुनले आफ्नो मुद्दा हारेको भन्दै राजीनामा दिने घोषणा गरे । सोही घोषणाअनुरूप १३ जुलाईमा थेरेसा मे कन्जर्भेटिभ पार्टीकी नयाँ नेतृ चुनिएपछि उनले राजीनामा दिए । 

बेनेडिक्ट सोह्रौँ पोप भ्याटिकन सिटी 
‘पोप’ इसाई धर्मभित्रको प्रमुख सम्प्रदाय क्याथोलिकका सर्वोच्च नेता हुन् । पोपले विश्वभरका करिब अढाई अर्ब क्याथोलिकको नेतृत्व गर्छन् । एकपटक चुनिएपछि पोप भ्याटिकन सिटी नामक विश्वको सबैभन्दा सानो देशका (जुन एक धार्मिक राज्य हो) राजा नै हुन् । यस पदमा पुग्ने हरेक क्याथोलिक पादरीको सपना हुन्छ । इतिहासमा एकपटक पोप चुनिएपछि उनको मृत्यु नभएसम्म सो पद स्वेच्छाले त्यागेको घटना बिरलै देखिन्छ । पोप पदको शक्ति तथा सुविधाका कारण पछिल्लो ७१५ वर्षको इतिहासमा कुनै पनि व्यक्तिले स्वेच्छाले पद त्यागेका थिएनन् । तर, यसमा पछिल्लो अपवादका रूपमा देखिए पोप बेनेडिक्ट सोह्रौँ । सन् २००५ मा पोप चुनिएका बेनेडिक्ड सोह्रौँले आठ वर्षपछि पोप पद स्वेच्छाले त्यागे । मुटुसम्बन्धी रोग चर्किंदै गएपछि स्वास्थ्य समस्याका कारण पोपको जिम्मेवारी पर्याप्त रूपमा पूरा गर्न असमर्थ रहेको जनाउँदै उनले पद छाडेका थिए । जबकि उनीभन्दा अघि र पछि पनि अस्वस्थ्य रहेको समयमा समेत पोप कायम रहेको प्रशस्तै उदाहरण भेटिन्छ । तर, उनले सकी–नसकी पोपमा रहनु ठिक नहुने बताएर पद त्यागे । पोप छाडेको करिब १० वर्षपछि मात्र सन् २०२३ मा उनको निधन भयो । 

सिन्जो आबे प्रधानमन्त्री, जापान
सन् २०२२ मा चुनावी र्‍यालीमा भाषण गरिरहेका सिन्जो आबेमाथि एक विक्षिप्त व्यक्तिले गोली हानेपछि उनको निधन भयो । मारिनुअघि सिन्जो आबे जापानका सबैभन्दा शक्तिशाली राजनीतिज्ञमध्ये एक थिए । पदमा रहँदा होस् वा बाहिर उनी आफ्नो दलमा उत्तिकै प्रभावशाली मानिन्थे । जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेको रेकर्ड बनाएका आबे पहिलोपटक सन् २००६ मा प्रधानमन्त्री बनेका थिए । तर, आफ्नो मन्त्रिपरिषद्का सदस्य एकपछि अर्को विवादमा फस्न थालेपछि उनले छोटो समयमै त्यति वेला राजीनामा दिएका थिए । पहिलोपटक उनको क्याबिनेटका कृषिमन्त्री तोसिकात्सु मात्सुओका राजनीतिक चन्दासम्बन्धी काण्डमा जोडिए । विवाद बढ्दै गएपछि मान्सुओकाले आत्महत्या गरे, जुन दोस्रो विश्वयुद्धपछि कुनै जापानी मन्त्रीले गरेको पहिलो आत्महत्या थियो । सो मन्त्रालयमा मात्सुओकापछि आएका नयाँ कृषिमन्त्री पनि पुरानै राजनीतिक चन्दा काण्डमा तानिए । उनले पनि राजीनामा दिए । यसले सोही समयपछि भएको माथिल्लो सदनको चुनावमा आबेको सत्तारुढ पार्टीले ५२ वर्षमा पहिलोपटक बहुमत गुमायो । यसपछि आबेले आफू नजोडिएको भए पनि आफ्नो नेतृत्वको सरकारको सदस्यले गरेको गल्तीका लागि नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री पदबाट राजीनामा दिए । 

लैला फ्रिभाल्ड्स विदेशमन्त्री, स्विडेन
३० सेप्टेम्बर २००५ मा डेनिस पत्रिका ‘जिल्यान्ड्स पोस्टेन’मा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको कार्टुन छापियो । इस्लाम धर्मअनुसार मोहम्मदको तस्बिर प्रकाशित गर्ने कार्य धर्मविरोधी हो । त्यसमाथि उक्त कार्टुनले मोहम्मद र मुस्लिम धर्ममाथि नै व्यंग्य गरेको थियो । यसबाट धेरै मुस्लिम चिढिए । डेनमार्कमा सक्रिय मुस्लिम समूहले कार्टुन आफ्नो धर्म प्रवर्तकप्रति अपमानजनक भएको भन्दै उक्त संस्थाविरुद्ध कदम चाल्न सरकारसँग माग गर्‍यो । न्यायालयमा मुद्दा हालियो । तर, दुवै निकायले यसलाई अभिव्यक्ति स्वतन्त्रताको विषय भन्दै कुनै कदम चाल्न अस्वीकार गर्‍यो । अन्य पश्चिमी देशले पनि डेनमार्कलाई समर्थन जनाए ।

यो विषयले मुस्लिमबहुल देशका मिडियामा उलेख्य चर्चा पायो । ती देशमा डेनमार्क, पश्चिमी देश र इसाई धर्म तथा धर्मावलम्बीविरोधी भावना चुलियो । धेरै ठाउँमा हिंसा भड्कियो । यस घटना सम्बन्धमा भएको दंगाहरूमा विश्वभर झन्डै २५० जना मारिए । घटनालाई डेनमार्कका तत्कालीन प्रधानमन्त्रीले देशले दोस्रो विश्वयुद्धपछि भोगेको सबैभन्दा खराब अन्तर्राष्ट्रिय सम्बन्धको परिघटनाको संज्ञा दिए । यही घटनासँग जोडिएका कारण डेनमार्कको छिमेकी देश स्विडेनकी विदेशमन्त्री लैला फ्रिभाल्ड्सले राजीनामा दिनुपर्‍यो । विवाद चर्किरहेकै वेला सत्तारुढ दल स्विडेन डेमोक्रेट्स पार्टीले आफ्नो वेबसाइटमा ‘जिल्यान्ड्स पोस्टेन’लाई समर्थन गर्दै मोहम्मदलाई व्यंग्य गर्दै कार्टुन छापेको थियो । तर, कार्टुन छापिएको केही समयपछि नै वेबसाइट बन्द भयो । वेबसाइट ‘इन्टरनेट सर्भिस प्रोभाइडर’ले बन्द गरेको थियो । फ्रिभाल्ड्सले यो काम पार्टीका कुनै अन्य नेताले गरेको र आफूलाई केही थाहा नभएको बताएकी थिइन् । तर, पछि सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गरी हेर्दा यस विषयमा उनी पूर्ण जानकार रहेको देखियो । यो कुरा बाहिरिएसँगै २१ मार्च २००६ मा फ्रिभाल्ड्सले पदबाट राजीनामा दिएकी थिइन् ।

लालबहादुर शास्त्री रेलमन्त्री, भारत
छिमेकी भारतमा नैतिकताका आधारमा पद त्याग्ने कुरा गर्दा अक्सर पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको चर्चा हुने गर्छ । तथापि, यो घटना उनी प्रधानमन्त्री हुनुअघि मन्त्री रहँदाको हो । भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको सरकारमा शास्त्री रेलमन्त्री थिए । उनी सो पदमा रहँदा देशमा दुई ठुला रेल दुर्घटना भए । दुवैपटक उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

उसो त ब्रिटिस शासनकालमा बनेको रेल लाइन र रेलहरू जर्जर अवस्थामा थिए । त्यसैले सानातिना दुर्घटना भइरहन्थे । तर, सन् १९५६ मा हैदराबाद राज्यको सेचुनदराबाद–द्रोनाचलम लाइनमा भएको रेल दुर्घटनामा भने सयौँको ज्यान गयो । रेल ट्रयाकबाट निस्किएर नदीमा खस्दा कम्तीमा १२५ जनाको मृत्यु भयो । लगत्तै शास्त्रीले रेलमन्त्रीको पदबाट राजीनामा दिए । हैदराबादमा रेल नदीमा खसेको केही महिनाभित्रै तमिलनाडु राज्यमा फेरि उस्तै रेल दुर्घटना भयो । यसपटक रेल ट्रयाकबाट मरुदाइयारु नदीमा खसेको थियो । दुर्घटनामा १५० भन्दा बढीको ज्यान गयो । सम्बन्धित मन्त्रालयको प्रमुखको हिसाबमा नैतिक जिम्मेवारी लिँदै शास्त्रीले प्रधानमन्त्री नेहरूसामु राजीनामा पेस गरेका थिए । पहिलोपटक राजीनामा अस्वीकृत भएको थियो भने दोस्रोपटक नेहरूले राजीनामा स्वीकार गरेका थिए । 

रामुस हारादिनाज प्रधानमन्त्री, कोसोभो
सन् १९९० को दशकमा सिंगो युगोस्लाभिया विभिन्न हिस्सामा छिन्नभिन्न भएको थियो । अरू भागमा भन्दा अलि पछि कोसोभोमा पनि पृथक्तावादी विद्रोह उठ्यो । अल्बानियन मुस्लिमको बाहुल्य रहेको यो भागमा फेब्रुअरी १९९८ देखि भीषण युद्ध भएको थियो । बेलग्रेडकेन्द्रित युगोस्लाभियाको संघीय सेना र अलग कोसोभोको माग राखेको ‘कोसोभो लिबरेसन आर्मी (केएलए)’ बिच जुन १९९९ सम्म युद्ध चल्यो । केएलएका एक शीर्ष कमान्डर थिए, रामुस हरादिनाज । युद्धमा दुवै पक्षले युद्ध अपराध गरेको आरोप लाग्ने गर्छ । केएलएमाथि आफ्नो प्रभाव रहेका क्षेत्रका सर्बियाली, रोमानी जातिलाई दमन र यातना दिएर थातथलो छाड्न बाध्य पारेको आरोप लाग्यो ।

सन् २००८ मा रामुस हरादिनाजविरुद्ध केएलएका कमान्डरका रूपमा यस्तो कार्यमा संलग्न भएको भन्दै मुद्दा पर्‍यो । त्यसमा उनले सफाइ पाए । सन् २०१२ मा पहिलेको मुद्दामा पर्याप्त प्रमाण पेस नगरिएका भन्दै मुद्दा पुन: ब्युँताइयो । फेरि पनि उनले सफाइ पाए । कोसोभो युद्ध सकिएपछि हरादिनाज ‘अलाइन्स फर फ्युचर अफ कोसोभो (एएके)’ नामक राजनीतिक दल खोलेर राजनीतिमा सक्रिय भएका थिए । सन् २०१७ मा हरादिनाजको पार्टीको नेतृत्वमा सरकार बन्ने भए पनि उनी कोसोभोका तेस्रा प्रधानमन्त्री बने ।

तर, हरादिनाजलाई मुरोनो मुद्दाले अझै छाडेको थिएन । यसपटक हारादिनाजमाथिको मुद्दा देशभित्र नभएर नेदरल्यान्डको हेगमा गठित विशेष सुनुवाइमा परेको थियो । कोसोभो युद्धमा भएको अपराधमा संलग्नहरूको अनुसन्धान गर्न हेगमा ‘स्पेसलिस्ट प्रोसेक्युटर्स अफिस(एसपिओ)’ गठन भएको थियो । एसपिओले हारादिनाजलाई पनि सुनुवाइका लागि बोलायो । त्यसपछि आफू ‘देशको प्रधानमन्त्री र संदिग्ध व्यक्ति’ एकैपटक हुन नसक्ने भन्दै सुनुवाइमा सामान्य नागरिकको रूपमा जाने भन्दै पदबाट राजीनामा दिएका थिए । 

सिग्मुन्डुर गुनलोग्सन प्रधानमन्त्री, आइसल्यान्ड
सन् २०१३ मा ३८ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा सिग्मुन्डुर डेभिड गुनलोग्सन विश्वका सबैभन्दा कान्छा निर्वाचित नेता बनेका थिए । त्यो समय उनीभन्दा कान्छा दुई विश्वनेता उत्तर कोरियामा किम जोङ उन (३० वर्ष) र भुटानका राजा जिग्मे केसार नाम्ग्याल वाङचुक (३३) पारिवारिक विरासतका आधार सत्तामा आएका थिए । तथापि, चार वर्षअघि नै उनी ‘प्रोग्रेसिप पार्टीका अध्यक्ष चुनिएका थिए । पार्टी नेतृत्वमा आएको चार वर्षभित्रै उनले दललाई देशमा गठबन्धन सरकार बनाउने स्थानमा पुर्‍याए । उनले आफ्नो शासनकालमा क्षेत्रीय देशबिचको सम्बन्ध बढाउन जोड दिएका थिए । 

तर, युवा उमेरमा ठुलो राजनीतिक उचाइ हासिल गरेका गुनलोग्सनको राजनीतिक पतनको कारण बन्यो ‘पनामा पेपर्स’ । ३ अप्रिल २०१६ देखि सार्वजनिक हुन थालेको पनामा पेपर्सले विश्वभरका धनाढ्यले आफ्नो देशमा कर छल्न ‘कर छुट हुने क्षेत्र (ट्याक्स हेभन)’मा ‘जाली कम्पनी (सेल कम्पनी)’ खडा गरेर लगानी गरेको देखाउने गरेको खुलायो । लाखौँ कागजात रहेको पनामा पेपर्समा गुनलोग्सनको नाम पनि भेटियो । 

त्यसबाहेक उनले पहिलोपटक सांसद हुँदा बाह्य कम्पनीमा गरेको लगानीबारे उल्लेख नगरेको खुलेपछि उनी विवादमा तानिएका थिए । उसै पनि आइसल्यान्ड विश्वमा कम भ्रष्टाचार हुने देशमा पर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गर्ने भ्रष्टाचार हुने देशको सूचीमा यो देश कम भ्रष्टाचार हुने शीर्ष १० भित्र पर्ने कुराले त्यही संकेत गर्छ । त्यहाँ भ्रष्टाचारलाई गम्भीर मानिन्छ । कर छलीजस्तो भ्रष्टाचारकै एक घटनामा जोडिएको खबर बाहिरिएलगत्तै गुनलोग्सनले राजीनामा दिए । 

हेलेमारियम देसालेग्न प्रधानमन्त्री, इथियोपिया
दुई दशकदेखि नेतृत्व गर्दै आएका प्रधानमन्त्री मेल्लेस जेनावीको अगस्ट २०१२ मा निधन भयो । त्यसपछि उप्रधानमन्त्री रहेका हेलेमारियम देसालेग्न प्रधानमन्त्री बने । त्यस पदमा उनी ६ वर्ष रहे । तर, सन् २०१८ मार्चमा उनले अचानक राजीनामा दिए । उनी आधुनिक इथियोपियाको इतिहासमा स्वेच्छाले राजीनामा दिने पहिलो नेता थिए । आफ्नो शासनकालमा सुधारका उलेख्य काम गरेका थिए । उनले दशकौँदेखि तिक्त सम्बन्ध रहेको छिमेकी सोमालियासँग सम्बन्ध सुधारतर्फ योजना अघि बढाएका थिए । पूर्ववर्ती जेनावीका आर्थिक नीतिलाई निरन्तरता दिएका कारण देशको अर्थतन्त्र पहिलेझैँ उच्च दरमा बढि नै रहेको थियो । उनले अझ हावासा र मेकेले क्षेत्रमा औद्योगिक ग्राम निर्माण, अदिस अभावा हल्का रेल, अदिस अभावा–जीबुट्टी रेल परियोजना सुरु गरे । 

तर, उनको शासनकालमा देशमा वर्षौंदेखि सुषुप्त रूपमा बढ्दै गएको जातीय तनाव सतहमा आयो । निहुँ बन्यो, राजधानी अदिस अभावाको विस्तार योजना । सन् २०१४ मा देसालेग्नको सरकारले अदिस अभावा मास्टर प्लान सार्वजनिक गरेको थियो । त्यो योजना कार्यान्वयन हुँदा छेउका ओरोमिया जातिका ११ लाख हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने थियो । यो विषयबाट ओरोमिया जाति विरोधमा उठ्यो । इथियोपियाको कुल जनसंख्याको करिब एकतिहाइ रहेको सबैभन्दा ठुलो जातीय समूह ओरोमो पहिलेदेखि शासनबाट बहिष्कृत थियो । अल्पसंख्याका टिग्रे र दोस्रो ठुलो जाति अम्हाराको शासनमाथिको हालीमुहालीविरुद्धको असन्तुष्टि जाहेर गर्ने बहाना बन्यो, जग्गा अधिग्रहणको विवाद । सो विरोध झन्डै दुई वर्ष चल्यो र देश जातीय युद्धमा फस्ने अवस्थामा पुगेको थियो । विशेषत: ओरोमिया र अम्हारा जातिबिच युद्धको सम्भावनाबिच अशान्तिलाई सम्बोधन गर्न र शान्ति र लोकतन्त्रका लागि मार्ग प्रशस्त गर्ने भन्दै देसालेग्नले १५ फेब्रुअरी ०१८ मा राजीनामा दिए ।

ओयुन एर्डेन लुभ्सन्नमसरैन प्रधानमन्त्री, मंगोलिया
सन् २०२१ मा प्रधानमन्त्री चुनिँदा ओयुन भर्खरै ४० टेकेका थिए । विश्वको सबैभन्दा प्रतिष्ठित हार्बर्ड विश्वविद्यालय पढेर देश फर्किई राजनीतिमा होमिएका ओयुनले राजनीतिमा नयाँपनको आह्वान गरेका थिए । प्रधानमन्त्री बनेपछि उनले यस दिशामा केही प्रयास पनि थालेका थिए । उनले सबै सरकारी सेवालाई डिजिटलाइज्ड गर्दै इ–मंगोलियन अभियान सुरुवात गरेका थिए । त्यस्तै, समाजिक विकास, आर्थिक वृद्धि र जीवनस्तर सुधार्ने भन्दै ‘भिजन २०५०’ लागू गरेका थिए । उनको शासनलाई सन्तोषजनक नै मानिएको थियो । तर, परिवारका सदस्यका कारण उनी विवादमा फस्न पुगे । विवाद गत मे महिनामा आयुनका २३ वर्षे छोरा तेमुलेन ओयुन–आर्डेनसँग विवाह तय भएकी युवतीले सामाजिक सञ्जालमा तेमुलेनसमेत रहेको एक पोस्ट गरेपछि सुरु भएको थियो । त्यस पोस्टमा दुई जोडी निकै महँगा ब्याग, औँठी र एक मर्सिडिज–बेन्जसहित देखिएका थिए । लगत्तै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको परिवारको यो विलासी खर्चको स्रोत खोज्न थालियो । प्रधानमन्त्रीले पाउने गरेको तलब र अन्य आयका आधारमा त्यति विलासी जीवन जिउन नसकिने कुरामा जोड दिँदै प्रधानमन्त्री भ्रष्टाचारमा डुबेको आरोप फैलियो । मेको मध्यबाट मानिसहरू प्रधानमन्त्रीको आयमाथि प्रश्न उठाउँदै सडकमा उत्रिए । विरोध बढ्दै जाँदा ओयुनले संसद्मा विश्वासको मतदान आयोजना गरे । संसद्मा विश्वासको मत गुमाएपछि अन्तत:३ जुनमा ओयुनले ‘राजनीतिक तथा नैतिक जिम्मेवारी’का कारण भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिए । 

(एजेन्सीको सहयोगमा)