१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format o७:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिडिसी कार्यालयमा तालाबन्दी हुँदा रोकियो किसानको भुक्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५९:oo

दुग्ध विकास संस्थानको अत्तरियास्थित धनगढी दुग्ध वितरण आयोजनामा स्थानीयले एक महिनादेखि तालाबन्दी गर्दा किसानको सात करोड भुक्तानी रोकिएको छ 

अत्तरियाबाट आयोजनालाई सुदूरपश्चिमको राजधानी धनगढी सार्ने निर्णयको विरोधमा स्थानीयले गत ८ जेठमा कार्यालयमा ताला लगाएका थिए । त्यसयता डिडिसीका आर्थिक तथा प्रशासनिक काम प्रभावित भएका छन् । डिडिसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईले एक महिनायता किसानलाई दुध खरिदको भुक्तानी दिन नसकेको बताए । कार्यालय बन्द हुँदा दुध तथा दुग्ध पदार्थ उत्पादनमा समेत असर पुगेको उनले बताए ।

‘भुक्तानी रोकिएकाले किसानले दिनैपिच्छे फोन गरिरहेका हुन्छन्, दुग्ध संकलन केन्द्रबाट पनि भुक्तानी दिनुपर्‍यो भनेर दबाब आइरहेको छ,’ उनले भने, ‘किसानलाई योबिचमा सवा करोडभन्दा बढी रकम भुक्तानी भइसक्नुपर्ने थियो, तर लेखा शाखामा ताला बन्दी भएकाले भुक्तानी गर्न सकेका छैनौँ ।’

अहिले कार्यालयमा तालाबन्दी भएकाले कर्मचारीहरू कारखानामा बस्ने गरेका छन् । कारखाना भने सञ्चालनमै छ । दुध संकलन तथा दुध र दुग्धजन्य पदार्थको बिक्री–वितरण भने नरोकिएको कार्यालय प्रमुख भट्टराईले बताए । 

अत्तरियास्थित कृषि हाटबजारभित्र रहेको कार्यालय र कारखानाका लागि ठाउँ साँघुरो हुन थालेको भन्दै डिडिसीले धनगढी उपमहानगरपालिका– १५, कनरीमा कारखानासहित कार्यालय सार्ने निर्णय गरेको थियो । त्यसका लागि संस्थान र उपमहानगरबिच भवनसहित करिब डेढ बिघा जग्गा २५ वर्षका लागि लिजको सम्झौता पनि भइसकेको छ । 

अत्तरिया आसपासमा लामो समयसम्म जग्गाको खोजी गर्दा पनि नपाएपछि नै धनगढी सार्ने निर्णय गरेको कार्यालय प्रमुख भट्टराईले बताए । तर, स्थानीय बासिन्दा संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएकाले कार्यालय स्थानान्तरणको काम रोकिएको छ । दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थान सार्न नहुने माग राखेको संघर्ष समिति संयोजकसमेत रहेका स्थानीय लोकराज पाण्डेले बताए । उनले संस्थान अत्तरियामै सञ्चालन गर्ने प्रतिबद्धता आए ताला खोल्ने बताए ।

अत्तरियामा ०६७ मा स्थापना भएको कार्यालय अहिले कारोबार बढ्दै गएपछि फराकिलो स्थानमा सर्न चाहेको हो । उक्त आयोजनाले कैलाली, कञ्चनपुर र डडेलधुराबाट सुक्खायाममा दैनिक करिब साढे तीनदेखि चार हजार लिटर र अन्य समय दैनिक करिब सात हजार लिटर दुध संकलन गर्दै आएको छ ।