१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:२८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइईमा ६१.८१% विद्यार्थी ग्रेडेड, गणितमा कमजोर

गत वर्षभन्दा १३.९५ प्रतिशत नतिजा सुधार, व्यावहारिक सिपमा शिक्षाविद्को प्रश्न

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२८:oo

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । 

नियमित परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३८.१८ अर्थात् एक लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा भने रद्द भएको बोर्डले जनाएको छ । 

७ चैत ०८१ देखि १९ चैतसम्म सञ्चालन भएको परीक्षाको नतिजामा गत वर्षभन्दा १३.९५ प्रतिशत सुधार देखिएको छ । गत वर्ष ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । 

बोर्डका अध्यक्ष महाश्रम शर्माले सुधारका प्रयासहरू नतिजामा देखिएको बताए । ‘शिक्षक आन्दोलनका कारण कापी जाँचमा केही ढिला भए पनि नतिजा समयमै भएको छ । नतिजा सुधारका लागि विभिन्न प्रयास भएका थिए, त्यसले काम गर्‍यो,’ उनले भने । 

नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये उच्च जिपिए ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ । त्यस्तै, जिपिए ३.२ देखि ३.६ सम्म ल्याउने ८१ हजार ३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जिपिए २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९ जना, जिपिए २.० देखि २.४ सम्म ल्याउने चार हजार १२६ जना र जिपिए १.६ देखि २.० सम्म ल्याउने विद्यार्थी आठजना छन् । 

परीक्षामा सामेल नियमिततर्फका विद्यार्थीमध्ये ननग्रेडेडको संख्या एक लाख ६७ हजार ५९७ छ । एसइईमा ग्रेडेड हुन सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मक परीक्षामा ४० प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । सैद्धान्तिकतर्फ ७५ पूर्णांकमा कम्तीमा २७ र आन्तरिक मूल्यांकन तथा प्रयोगात्मकतर्फ २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त नगर्ने विद्यार्थी ननग्रेडेड सूचीमा हुन्छन् । 

०८१ को एसइई परीक्षामा नियमिततर्फ दुई लाख ११ हजार ८५७ छात्र, दुई लाख नौ हजार ७०५ छात्रा र २३ जना अन्य सहित चार लाख २१ हजार ५८५ जना, ग्रेडवृद्धितर्फ ३४ हजार ५७० छात्र, ४० हजार ९६२ छात्रा र सात अन्यसहित ७५ हजार ५३९ जना तथा प्राविधिकतर्फ नौ हजार ८४८ छात्र, सात हजार ६३ छात्रासहित १६ हजार ९४७ जना गरी कुल पाँच लाख १४ हजार ७१ जना (२,५६,३११ छात्र, २,५७,७३० छात्रा र ३० अन्य) सहभागी थिए । तीमध्ये बोर्डले नियमिततर्फ मात्र ग्रेडेड र ननग्रेडेड विद्यार्थीको संख्या छुट्याएको हो । 

जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१
एसइईमा सबैभन्दा उच्च अंक जिपिए ४ ल्याउने विद्यार्थी संख्या करिब एक हजार छ । नतिजाअनुसार जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१ छ । परीक्षा दिएका विद्यार्थीका आधारमा पनि उच्च स्कोर ल्याउने यो संख्या उत्कृष्ट मानिन्छ । गत वर्ष बोर्डले उच्च जिपिए ल्याउने विद्यार्थीको अंक सार्वजनिक गरेको थिएन । 

गणितमा सबैभन्दा बढी कमजोर 
विषयगत रूपमा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक लाख २८ हजार २१५ विद्यार्थीले गणितमा ननग्रेडेड अंक पाएका छन् । गत वर्ष पनि गणित विषयमै सबैभन्दा धेरै ननग्रेडेड संख्या थियो । ‘यसपालि पनि गणितमा विद्यार्थी कमजोर देखिए,’ बोर्ड अध्यक्ष शर्माले भने । उनका अनुसार गणितपछि अंग्रेजीमा ८० हजार ६७२ जना, विज्ञानमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अतिरिक्त गणितमा १८ हजार २२२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । 

कुन प्रदेशमा नतिजा कस्तो ? 
बोर्डका अनुसार परीक्षामा सबैभन्दा धेरै सहभागी बागमती प्रदेशका विद्यार्थी थिए । जसमा एक लाख १९ हजार ५१७ सहभागी भएकोमा २० हजार ९४६ जना ननग्रेडेड भएका छन् । त्यस्तै, कोशी प्रदेशबाट ४७ हजार ८३५ विद्यार्थी सहभागी रहेकोमा २३ हजार ६३१ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट ५९ हजार ७४९ विद्यार्थी सहभागी रहेकोमा ४२ हजार ७७९ विद्यार्थी ननग्रेडेड भएका छन् । 

गण्डकी प्रदेशबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या ४७ हजार ८४९ थियो । जहाँ ११ हजार ३२८ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट ५७ हजार ६८७ विद्यार्थी सहभागी रहेकोमा २८ हजार २७४ विद्यार्थी ननग्रेडेड भएका छन् । कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी सहभागी रहेकोमा १३ हजार ७६५ विद्यार्थी ननग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी थिए भने २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् । 

२३ असारभित्र पुनर्योग, २९ साउनदेखि मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडेड विद्यार्थीका लागि २९ साउनदेखि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । ननग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । त्यस्तै, बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा २३ असारभित्र पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ । आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । 

सामुदायिक र निजीको तथ्यांक भएन सार्वजनिक 
बोर्डले उत्तीर्ण हुनेमध्ये सामुदायिक र निजीका कति विद्यार्थी भन्ने तुलनात्मक तथ्यांक सार्वजनिक गरेको छैन । गत वर्ष पनि बोर्डले यस्तो सूचना सार्वजनिक गरेको थिएन । बोर्डका अध्यक्ष शर्माले केही दिनमा तुलना र मूल्यांकन गरिने बताए । 

नतिजा सुध्रिएकोमा प्रधानमन्त्रीले दिए बधाई, अंक देखाएर फुर्ती नगर्न शिक्षाविद्को सुझाव 

एसइईको नतिजा सुध्रिएकोमा प्रधानमन्त्री केपी ओलीले शिक्षक र विद्यार्थीलाई बधाई दिएका थिए । ‘एसइई नतिजामा गत वर्षको भन्दा १३.९५ प्रतिशतले सुधार आएको छ । शिक्षकहरूलाई धन्यवाद । सफल विद्यार्थीलाई फेरि बधाई ! बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् । 

त्यसैबिच, शिक्षाविद् विद्यानाथ कोइरालाले एसइईको नतिजा तथ्यांकको हिसाबमा सुध्रिए पनि व्यावहारिक र सिपको हिसाबमा सुध्रियो वा सुध्रिएन भन्ने विषय मुख्य रहने बताए । ‘पासको अंक बढ्यो भनेर यसैमा फुर्ती गर्ने कि त्यसभित्रको व्यावहारिक र कृपा गरेर पास भएको पनि हेर्ने ?’ उनले भने, ‘अर्को कुरा, विद्यार्थीको सिप परीक्षण भएन, नतिजामा उनीहरूको सिपको विषय जोडिएन । अब उत्तीर्ण भएकाहरूले विदेश जान खोज्छन्, उनीहरूलाई कसरी रोक्ने ? हामीले जुन तरिकाले परीक्षा लिन्छौँ र नतिजा निकाल्छौँ त्यसमा विद्यार्थीलाई फेल हुने अधिकार हुँदैन, अर्थात् ग्रेडिङ सिस्टममा फेल गर्न मिल्दैन ।’