१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार १६:३५:oo
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरका आठ पालिकाले ल्याए बजेट, थाहा र बकैयाले एक हप्ताभित्र ल्याउने

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १६:३५:oo

मकवानपुरका १० मध्ये आठ पालिकाले निर्धारित समय असार १० गते नै आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। हेटौँडा उपमहानगरपालिकासहित बागमती, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, कैलाश, राक्सिराङ र मनहरीले बजेट ल्याउँदा थाहा नगरपालिका र बकैया गाउँपालिकाले एक सातापछि मात्रै ल्याउने भएका छन्।

थाहा र बकैयाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने गाउँ सभामा प्रस्तुत गरिसकेका छन्। थाहा नगरपालिकाका उपाध्यक्ष भरत गोपालीले नीति तथा कार्यक्रम ल्याइसकिएको जानकारी गराउँदै केही दिनमै कार्यपालिकाको बैठक बसेर बजेट ल्याउने मिति टुंग्याउने बताए। उनले ढिलोमा एक साताभित्र बजेट ल्याउने गरी काम भइरहेको दाबी गरे।

यस्तै, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाको बजेट १६ असारमा ल्याउने जानकारी दिए। १० गते नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरिएको उल्लेख गर्दै उनले बजेटको काम अन्तिम चरणमा पुगेको बताए।

हेटौँडा उपमहानगरपालिकाको दुई अर्ब ९० करोडको बजेट 
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट ल्याएको हेटौँडाले १९ प्रतिशत वृद्धि गर्दै आगामी आर्थिक वर्ष ०८२/८३ का लागि  दुई अर्ब ९० करोड तीन लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेका छन्। यस्तै, बजेट प्रस्तुत गर्दै उनले प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको बताए।

हेटौँडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट एक अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको उनको भनाइ छ। उपमेयर बानियाँले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ तीन करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाखको बजेट
कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८६ लाख २० हजार एक सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालूतर्फ ३२ करोड ८२ लाख तीन हजार एक सय रुपैयाँ (कुल बजेटको ६०.९ प्रतिशत) र पुँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ (कुल बजेटको ३९.१ प्रतिशत) बजेट छुट्याइएको जानकारी दिए।

जिल्लाकै विकट मानिने कैलाश गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा पाँच करोड बढाएर बजेट ल्याएको हो। चालू आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि पुँजीगत बजेट ६ करोडभन्दा धेरैले बढेको छ भने चालू खर्चतर्फ पनि एक करोडभन्दा धेरैले बढाएर बजेट ल्याएको हो।

जसमा आर्थिक विकासतर्फ दुई करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालू र पुँजीगत दुवै गरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकासतर्फ पुँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ। यस्तै, वातावरण तथा विपततर्फ ४३ लाख पुँजीगत बजेट, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ चालू र पुँजीगत दुवै गरी ९२ लाख ९२ हजार एक सय रुपैयाँ र प्रशासनिक खर्चतर्फ नाै करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

राक्सिराङको बजेट साढे ६३ करोड, पुँजीगतभन्दा चालूतर्फ तीन गुणा बढी विनियोजन
जिल्लाको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालू आर्थिक वर्ष ०८१/८२ को तुलनामा आठ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङको चालू आर्थिक वर्षमा कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बनस्तम थिङले आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको बताए।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट नाै करोड चार लाख ३० हजार रुपैयाँ अनुमान गरिएको छ। राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालू खर्चको तुलनामामा पुँजीगत खर्च निकै घटाइएको छ।

बागमतीको बजेट ८३ करोड ७२ लाखभन्दा बढी
यस्तै, बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट नाै करोड आठ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट पाँच करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख छ।

मनहरीको बजेट ८७ करोड ७२ लाख ३९ हजार
मंगलबार मनहरी गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएको छ। उपाध्यक्ष सीता पुलामी मगरले चालू आर्थिक वर्षको भन्दा करिब १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन्। चालू आर्थिक वर्षको बजेट ९७ करोड २७ लाख २८ हजार ६ सय रुपैयाँ थियो।

आगामी आर्थिक वर्षका लागि आयतर्फ आन्तरिक आयस्रोत तथा बैंक नगद आयबाट २६ करोड दुई लाख ९० हजार ४६४ रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक, ससर्त र विशेषसमेत गरी ५२ करोड ५४ लाख ५४ हजार ५३६ रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर बाँडफाँट, ससर्त, समपूरक र विशेष गरी आठ करोड ९८ लाख ७४ हजार निकासा हुने र बाँकी १५ लाख ५० हजार रुपैयाँ अन्य संस्थागत आन्तरिक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ।

मकवानपुरगढीको ७४ करोडको बजेट सार्वजनिक
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ७४ करोड पाँच लाख ८४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले बजेट प्रस्तुत गर्दै चालूतर्फ ४१ करोड ७० लाख ६६ हजार र पुँजीगततर्फ ३२ करोड २५ लाख १८ हजार रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिइन्।

बजेटको आयतर्फ संघीय सरकारबाट ६० करोड २६ लाख ८१ हजार रुपैयाँ र प्रदेश सरकारबाट नाै करोड ४० लाख तीन हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, गाउँपालिकाको आन्तरिक आयबाट एक करोड २५ लाख र गत वर्षको मौज्दातबाट तीन करोड ५० लाख रुपैयाँ गरी कुल चार करोड ७५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

भीमफेदी गाउँपालिकाको बजेट ९० करोड ६ लाख
जिल्लाको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित मंगलबार नै बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९९८ रुपैयाँ २० पैसाको बजेट प्रस्तुत गरेको गाउँपालिकाले यसपटक ९० करोड ६ लाखको बजेट ल्याएको छ।

इन्द्रसरोवरको बजेट ४१ करोड ७२ लाख रुपैयाँ
इन्द्रसरोवर गाउँपालिकाले पनि मंगलबार नै आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले आगामी आवका लागि ४१ करोड ७२ लाख रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरिन्।

उनले आगामी आवको बजेटको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट चार करोड ३८ लाख ३८ हजार ५३४ रुपैयाँ र बाँकी राजस्व बाँडफाँट तथा प्रदेश र संघको अनुदान प्राप्त हुने जानकारी दिइन्। कृषि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई प्राथमिकतामा राखेर आगामी आवको बजेट ल्याइएको बताइन्।