१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:३१:oo
Read Time : > 2 मिनेट
समाचार

अदालतको आदेशले प्रेस स्वन्त्रतामाथि हमला भयो : समाजवादी प्रेस संगठन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:३१:oo

समाचार लेखेकै आधारमा दृष्टि अनलाइनका सञ्चालक शम्भु श्रेष्ठलगायतमाथि अदालतको अवहेलना मुद्दामा उपस्थित हुन आदेश दिइएकोमा समाजवादी प्रेस संगठन, नेपालले  प्रेस स्वतन्त्रतामाथि हमला भएको जनाएको छ । 

मंगलबार विज्ञप्ति जारी गरी संगठनले विशेष अदालतको आदेशले ‘नेपालको न्यायालयले नेपाली पत्रकारिता क्षेत्रलाई शंका र प्रतिशोधको दृष्टिकोणले हेर्छ भन्ने बुझाइलाई थप प्रस्ट पारेको’ उल्लेख गरेको छ । विशेष अदालतले मंगलबार तीन दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएको थियो । 

सो आदेश प्रेस काउन्सिल नेपालको कार्यक्षेत्रमाथि ठाडो अतिक्रमण भएको समाजवादी प्रेस संगठनको ठहर छ । 

महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा हालै अन्य सञ्चारमाध्यममाथि अदालतबाट भएका आदेशको विषयसमेत समेट्दै भनिएको छ, ‘यसरी समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयत्न हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठराघात हो ।’  अदालतको आदेश फिर्ता लिनसमेत संगठनले माग गरेको छ ।  

विशेष अदालतमा दृष्टिन्युज अनलाइनविरुद्ध अदालतको अवहेलना  मुद्दा दायर भएको  हो ।   विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले मंगलबार म्याद जारी गर्ने आदेश गरेको हो । पहिलोपटक विशेषमा रहेका सबै न्यायाधीश सम्मिलित इजलासले कुनै मुद्दामा सुनुवाइ गरेको हो । 

 

प्रेस विज्ञप्ति

२०८२ असार १० गते

समाजवादी प्रेस संगठन, नेपाल

विशेष अदालतको पछिल्लो आदेश प्रेस स्वतन्त्रतामाथिको नियोजित आक्रमण हो ।

दृष्टिन्युज अनलाइनमा प्रकाशित विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा तीन महिनामै सफाइ’ शीर्षक समाचारप्रति असन्तुष्टि जनाउँदै विशेष अदालतले उक्त अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा सम्बन्धित पत्रकारलाई अदालतमा हाजिर हुन आदेश दिएको घटनाले नेपालको न्यायालयले नेपाली पत्रकारिता क्षेत्रलाई शंका र प्रतिशोधको दृष्टिले हेर्छ भन्ने बुझाइलाई थप प्रस्ट पारेको छ ।

केही दिनअघि मात्र नेपालखबर र बिजमाण्डुमा प्रकाशित सामग्री हटाउने आदेशबाट सर्वोच्च अदालत पछि हटेको अवस्थामा, विशेष अदालतले सर्वोच्चको धारणाविपरीत सञ्चारमाध्यममा प्रकाशित सामग्री ‘जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू, सो सामग्री नहटाउन, परिवर्तन, परिमार्जन केही पनि नगर्नू, नगराउनू’ भन्ने निर्देशन दिनु प्रेस स्वतन्त्रताको मौलिक मर्ममाथिको हमला हो । समाचार सामग्री सच्याउने, परिमार्जन गर्ने वा सम्पादन गर्ने अधिकार पत्रकारिता पद्धतिको मूल आत्मा हो । अदालतले यस्ता स्वायत्त कार्यमा नियन्त्रण गर्ने शैली लोकतान्त्रिक व्यवस्थासँग मेल खान्न ।

बिचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्र देखिएको अपारदर्शी व्यवहारमाथि प्रश्न उठाउनु पत्रकारको कर्तव्य हो । यस्ता रिपोर्टिङमार्फत जनताले न्याय प्रणालीमा देखिएको यथार्थ बुझ्न पाउँछन् । यसरी समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठाराघात हो ।

समाजवादी प्रेस संगठन, नेपाल अदालतका यस्ता आदेशप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवाला निकाय र आनागरिकसँग ऐक्यबद्धता प्रकट गर्न आह्वान गर्दछ ।

विगत चार दशकदेखि नेपाली पत्रकारितामा सक्रिय, प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका समर्पित योद्धा तथा दृष्टि साप्ताहिकका सम्पादक, वरिष्ठ पत्रकार श्रेष्ठमाथि विशेष अदालतको आदेशले लोकतान्त्रिक मूल्य, स्वतन्त्र प्रेस, र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।

समाचारमा चित्त नबुझेको भन्दै सजाय दिने शैलीले तीन दिनभित्र त्यो पनि आदेश थाम्न थमाउन नपाउने ठाडो आदेश जारी गर्दा न्यायालयको मर्यादा झनै प्रश्नको घेरामा परेको छ । भ्रष्टाचार र न्यायालयमा देखिएका बेथितिमाथि प्रश्न उठाउनु पत्रकारको कर्तव्य हो, र त्यसलाई दण्डनीय मान्ने अभ्यास लोकतन्त्रविरोधी हो । विशेष अदालतको पूर्ण इजलासको यो आदेशले प्रेस काउन्सिलको कार्य क्षेत्रमाथिको ठाडो अतिक्रमण हो । यस अर्थमा विशेष अदालत आफैँले प्रेस काउन्सिलको अधिकार क्षेत्र अतिक्रमण गरेर कानुनको उल्लंघन गरेको छ ।

हाम्रा स्पष्ट मागहरू यस्ता छन्

१ वरिष्ठ पत्रकार शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा संवाददातामाथि जारी गरिएको अदालत उपस्थितिको आदेश तत्काल फिर्ता गरियोस् ।

२ समाचार सम्पादन तथा प्रकाशनको विषयमा अदालतले नियन्त्रण गर्ने प्रवृत्ति बन्द गरियोस् ।

३ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि संवैधानिक निकायहरूले आ आफ्नो भूमिका स्वतन्त्ररुपले निर्वाह गरून् ।

४ सञ्चार माध्यमहरूलाई डर, धम्की र अदालती दबाबबाट मुक्त गरियोस् ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । यसको संरक्षण सबै नागरिक र संस्थाहरूको साझा जिम्मेवारी हो ।

रोहित दाहाल

महासचिव

समाजवादी प्रेस संगठन, नेपाल