१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ असार १० मंगलबार o८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई वर्षसम्म सञ्चालनमा आउन सकेन काठमाडौं महानगरको सुलभ फार्मेसी

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o८:o२:oo

काठमाडौं महानगरपालिकाले दुई वर्षअघि नै सुलभ फार्मेसी सञ्चालनमा ल्याउने दाबीसहित नीति तथा कार्यक्रममा घोषणा गरेको थियो । तर, हालसम्म पनि फार्मेसी सञ्चालन ल्याउन सकेको छैन । अब यो योजना अर्को वर्षका लागि धकेलिएको छ ।

स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आबद्ध नभएका नागरिकका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्री ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउन सुलभ फार्मेसीको अवधारणा ल्याइएको थियो । गत आर्थिक वर्ष ०८०/८१, चालू आर्थिक वर्ष ०८१/८२ हुँदै यो योजना आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सरेको छ । तर, ०८३ मा पनि सञ्चालनमा आउने आधार देखिँदैन । महानगरपालिकाले कति प्रकारका औषधि राख्ने भनेर सूची नै तयार गरेको छैन । बबरमहलमा फार्मेसी राख्ने स्थान भेटिएको छ । तर, अन्य पाँच स्थानमा फार्मेसी सञ्चालनका लागि भाडामा लिने संरचना भेटिएको छैन । यसअघि महानगरले घर भाडामा दिन भन्दै सूचना आह्वान नै गरेको थियो । तर, महानगरको फार्मेसी सञ्चालन गर्न घरभाडा दिन कोही तयार भएनन् । 

महानगरले पहिलो चरणमा वडा नम्बर ११ कै परिसरभित्र फार्मेसी सञ्चालन गर्न संरचना तयार पार्दै छ । महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले विभिन्न प्रक्रियागत तयारी थाल्दा समयमै सुलभ फार्मेसी सञ्चालनमा ल्याउने कार्य ढिलो भएको बताए । ‘बबरमहलस्थित वडा नम्बर ११ को कार्यालय भवनमा फार्मेसी राख्न संरचना तयार हुँदै छ, तर यो आर्थिक वर्षमा सम्भव भएन,’ उनले भने, ‘औषधिको सूची तयार पार्ने, टेन्डर गर्नेलगायत काम बाँकी छ, मुख्यतः कस्ता–कस्ता प्रकारका औषधि राख्ने भन्ने विषय अझै टुंगिएको छैन ।’ 

गत आर्थिक वर्षमा महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा पनि एक करोड २५ लाख हाराहारी रकम विनियोजन गरेको थियो । उक्त रकमबाट हालसम्म बबरमहलस्थित वडा कार्यालयसँगै संरचना तयार हुँदै छ ।