१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
कृष्ण रिजाल काठमाडाैं
सुभाष शर्मा काठमाडाैं
२o८२ असार १० मंगलबार o६:२१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानको हमला, करिब साढे तीन लाख नेपाली त्रासमा

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
सुभाष शर्मा काठमाडाैं
२o८२ असार १० मंगलबार o६:२१:oo

इरानले सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा (अल उदिद एयर बेस)लक्षित मिसाइल हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाविरुद्ध इरानको ‘प्रतीकात्मक’ आक्रमण भनेका छन् । त्यसैले तनाव नबढ्ने उनीहरूको आकलन छ ।

कतारमा करिब साढे तीन लाख नेपाली कार्यरत छन् । इरानको आक्रमणपछि उनीहरूमा डर र त्रास बढेको छ । कतारस्थित नेपाली दूतावासले उनीहरूलाई सतर्क रहन सूचना जारी गरेको छ ।

कतारको अल उदिद एयर बेसमा रहेको अमेरिकी सेनामाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)लाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ । अमेरिकाले इरानका परमाणु केन्द्रमा हवाई हमला गरेपछि इरानले मिसाइलमार्फत कतार र इराकमा रहेका अमेरिकी सैन्य शिविरमा जवाफी आक्रमण गरेको हो । मिसाइल प्रहारमा कुनै मानवीय क्षति भएको छैन ।

सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डामा इरानको मिसाइल आक्रमण । तस्बिर : रोयटर्स

दोहास्थित आफ्नो हवाई आधारमा इरानले आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । कतारले पनि इरानी हमला भएको र आफ्नो वायु रक्षा प्रणालीले त्यसलाई असफल पारेको जनाएको छ । आक्रमणपछि कतारले आफ्नो हवाई सेवा बन्द गरेको छ । मध्यपूर्वका अन्य देशले पनि केही समय हवाई सेवा बन्द गरेका थिए ।

सोमबार कतारको राजधानी दोहामा ज्वालाहरू देखिएका र सुरुमा यो हवाई रक्षा प्रणाली हो वा क्षेप्यास्त्र हो भनेर पत्ता लगाउन कतारलाई गाह्रो परेको अलजजिराले उल्लेख गरेको छ । मिसाइल प्रहारपछि ठुलो विस्फोट पनि सुनिएको थियो । तस्निम समाचार संस्थाका अनुसार इरानले उक्त कारबाहीलाई अमेरिकाविरुद्ध विजयको घोषणा भनेको छ ।

इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अल उदिद हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमण कतारको आवासीय क्षेत्रहरूभन्दा टाढा भएको बताएको छ । इरानको पछिल्लो कदमले कतारसँगको सम्बन्धमा कुनै परिवर्तन नआउने तेहरानले जनाएको छ । ‘मित्रवत् र भ्रातृ राष्ट्र कतार र यसका महान् जनतालाई कुनै खतरा छैन र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,’ परिषद्ले एक विज्ञप्तिमा भनेको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा भएको इरानी आक्रमणको निन्दा गरेका छन् । ‘हामी यसलाई कतारको सार्वभौमिकता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको गम्भीर उल्लंघनका रूपमा लिन्छौँ,’ उनले भनेका छन् । प्रवक्ताका अनुसार कतारको हवाई रक्षा प्रणालीले इरानी मिसाइलहरू रोक्न सफल भएको छ ।

इरानबाट इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । अमेरिकाले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको जनाइएको छ । तर, इराकको कुन आधार शिविरलाई हमला गरिएको छ भन्नेबारेमा केही खुलाइएको छैन । इरानी आक्रमण र अमेरिकाले चाल्ने कदमबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले घटनाक्रमलाई नजिकबाट निहालिरहेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । तेहरानबाट अन्य हमला हुने आशंकामा दोहाको सशस्त्र सेनाले सतर्कता र सावधानी अपनाएको छ । सोमबारको हमला खाडीमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध इरानी प्रतिशोधको सुरुवात मानिएको छ र यसले मध्यपूर्वमा थप अशान्ति चर्किने संकेत गरेको छ ।

इरानी आक्रमणको अमेरिकाले कस्तो प्रतिक्रिया दिने हो भन्ने चासो छ । इरानी हमलालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सुरक्षा अधिकारीसँग परामर्श थालेका छन् । यद्यपि, इरान यसभन्दा अगाडि नबढे जवाफी कारबाही नगर्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै कतिपय अन्तर्राष्ट्रिय समाचार संस्थाले प्रसारण गरेका छन् । अल उदिद मध्यपूर्वमा रहेको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा हो, जुन १९९६ मा स्थापित भएको थियो । यस अड्डामा लगभग १०० विमानका साथै ड्रोनहरू पनि छन् । करिब १० हजार सैनिक बस्ने यो अड्डाले अमेरिकी केन्द्रीय कमान्डका लागि अग्रणी मुख्यालयको रूपमा काम गर्दछ । हालैमा दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतार भ्रमणका क्रममा अल उदिद सैन्य अड्डा गएका थिए ।

भारतीयसँगै इरानबाट फर्किन मसाद पुगे ११ नेपाली, सबै एकसाथ आउन नपाउने
इरानको मसाद पुगेर उद्धारको पर्खाइमा रहेका ११ नेपाली एकसाथ आउन नपाउने भएका छन् । केहीको कागजी समस्याका कारण उद्धारमा ढिलाइ हुने भएको हो । भारतीय दूतावासको समन्वयमा इरानका विभिन्न ठाउँबाट उनीहरू सोमबार बिहान मसाद पुगेर उद्धारको पर्खाइमा छन् । ११ मध्ये केहीको मंगलबार उद्धार हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘मसाद सहर पुगेका ११ मध्ये केहीको मंगलबार उद्धार हुन्छ । अन्यको पनि कागजी समस्या टुंगिएपछि उद्धार हुनेछ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भारतीय दूतावासको सहयोगमा उद्धार हुने उहाँहरू भारत हुँदै स्वदेश फर्किनुहुनेछ ।’ भारतले इरानबाट आफ्ना नागरिकलाई चार्टर उडानबाट उद्धार गर्दै आएको छ जसको नाम अपरेसन सिन्धु भनिएको छ । 

इरानबाट उद्धार हुन लागेका नेपालीहरू विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, विष्णु बन्जाडे, राजु खनाल, सुमन गैरे, यज्ञ मरासिनी, हरि थापा, गायत्री कार्की र उत्सव थापा छन् । तर, उनीहरूमध्ये कागजी समस्या क–कसको छ भन्ने खुल्न सकेको छैन । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानस्थित भारतीय दूतावासको सहयोगमा त्यहाँबाट ११ नेपाली फर्काउने प्रक्रिया सुरु भएको सोमबार संसद्लाई जानकारी गराइन् । ‘इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन दोहास्थित नेपाली राजदूतावासमार्फत पहल गरिरहेका छौँ,’ उनले भनिन् । 

अध्यागमन कानुनसम्बन्धी मुद्दामा तेहरानस्थित थुनामा रहेका महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगीको रिहाइ र उद्धारका लागि पनि हरसम्भव प्रयास भइरहेको सरकारले जनाएको छ ।

इजरायलमा ९१८ नेपाली सम्पर्कमा, फर्किन चाहने ३५ मात्रै
इजरायलमा रहेका नेपालीमध्ये सोमबारसम्म नेपाली दूतावासको विद्युतीय दर्ता फारममा ९१८ जनाले नाम दर्ता गराएका छन् । ‘यो स्वदेश फर्कन चाहनेको संख्या होइन, दूतावासको सम्पर्कमा आउनुभएका नेपालीहरूको संख्या हो । स्वदेश फर्किन पाए हुन्थ्यो भन्ने संख्या हालसम्म ३५ हाराहारीमा मात्र छ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने, ‘तर, हामीले हरेक परिस्थितिको गम्भीरतापूर्वक अध्ययन गरेका छौँ र हरसम्भव कदम चाल्नुपरेमा त्यसका लागि सामथ्र्यले भ्याएसम्मको तयारी गरिरहेका छौँ ।’ इजरायलमा ५५ सयदेखि सात हजार नेपाली रहेको अनुमान छ । 

मिसाइल आक्रमणले नेपालीमा डर र त्रास सिर्जना भएको छ : राजेन्द्र कुमार (आरके) शर्मा एनआरएन अभियन्ता, कतार 
इरानी मिसाइल आक्रमणले यहाँ बस्ने नेपालीमा डर र त्रास पैदा गरेको छ । सचेत हुनुपर्ने अवस्था छ, आत्तिहाल्नुपर्नेचाहिँ देखिँदैन । कतार सरकारले सूचना जारी गर्दै नागरिकहरूलाई विकसित घटनाक्रमबारे आधिकारिक सूचना फलो गर्न र नआत्तिन आग्रह गरेको छ । नेपालीहरू कतारमा बस्न थालेको २५–३० वर्ष भयो । कतारमा पहिलोपटक मिसाइल आक्रमण भएका कारण त्रास भएको छ । कतारमा करिब साढे तीन लाख नेपाली छौँ । कतारमा धेरै देशका नागरिक छन् । त्यसैले मानिसलक्षित आक्रमण हुँदैन भन्नेमा विश्वस्त छौँ । एनआरएन अभियन्ता र दोहास्थित दूतावास नेपालीहरूको बारेमा जानकारी लिइरहेका छौँ । आवश्यक सहयोग गर्न अग्रसर छौँ । 

कतारस्थित नेपाली दूतावासले भन्यो– सतर्क रहनू

कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भनेको छ । कतारमा साढे तीन लाख नेपाली रहेको अनुमान छ । ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरासमेत अवगत गराउन चाहन्छौँ,’ सूचनामा भनिएको छ । इजरायल र इरान द्वन्द्वबिच अमेरिकाले इरानतर्फ आक्रमण तेज पारेपछि इरानले सोमबार जवाफी हमलास्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेको हो ।