१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार २२:११:oo
Read Time : > 1 मिनेट
समाचार

दलित भन्दै दुई महिनादेखि घर बनाउन अवरोध : अब घर निर्माणमा पालिकाले पहल गर्ने

प्रजिअसहितको टोलीको स्थलगत अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार २२:११:oo

 आफ्नो खेतसम्म जाने बाटो छेकिएको भन्दै सिराहाको नरहा गाउँपालिका–१ गौरहा गाउँमा पुरानो घर भत्काएर नयाँ घर बनाउन खोज्दा करिब दुई महिनादेखि निरन्तर अवरोध हुँदै आएको सार्वजनिक भएपछि सोमबार जिल्लाका प्रशासकहरूले स्थलगत अनुगमन गरेका छन् 

‘दलित परिवारलाई घर बनाउन दुई महिनादेखि अवरोध’सम्बन्धी समाचार आइतबार नयाँ पत्रिकामार्फत सार्वजनिक भएपछि सोमबार सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मासहितको टोलीले गौरहा गाउँ पुगेर स्थलगत अनुगमन गरेको हो।

घटनाबारे थाहा पाएपछि गाउँपालिका अध्यक्ष रामप्रमोद यादवसहितलाई बोलाएर घर निर्माणका लागि निकास दिन आग्रह गरिएको प्रजिअ अर्यालले बताए। ‘बर्खाको वेला करिब दुई महिनादेखि अर्काको घरमा चार-चार जना छोराछोरीसहित शरण लिएर बस्नु पर्दा साह्रै कष्ट पुगेको देख्यौँ,’ उनले भने, ‘पालिका अध्यक्षले मंगलबार छलफल राखेर निकास दिन्छु भन्नुभएको छ।’ 

बस्तीको वरिपरि जग्गा भएका र घर निर्माण गर्न अवरोध गरेका भनिएका व्यक्तिलाई समेत समयअनुसार चल्न सुझाव दिएको प्रहरी उपरीक्षक शर्माले बताए। ‘गाउँपालिका अध्यक्षले सहमति गराउने कबोल गर्नुभएको छ,’ उनले भने, ‘दुवै पक्षलाई मर्का नपर्ने गरी सहमति गरी घर निर्माण हुन्छ भन्नेमा विश्वस्त छौँ।’  

राष्ट्रिय सभामा उठ्यो प्रश्न
स्थानीय करिब ३३ वर्षीय जीवछ सदाले बाजेकै पालादेखि बस्दै आएको जग्गामा ३ वैशाखदेखि घर बनाउन प्रयास गरे पनि घरपछाडिको जग्गामा जाने बाटो छेकिएको भन्दै नरहा–२ पानबारी गाउँका रामचलितर यादवले घर बनाउन रोकिरहेको विषयमा सोमबार राष्ट्रिय सभामा सांसद भुवनबहादुर सुनारले प्रश्न उठाएका छन्। 

सांसद सुनारले शून्य समयमा बोल्दै पुरानो घर भत्काएर नयाँ बनाउन खोज्दा दुई महिनादेखि अवरोध गरिएको विषयमा स्थानीय प्रशासनमार्फत हस्तक्षेप गरी समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

बाजेकै पालादेखि बस्दै आएको फुसको छाना भएको घर भत्काएर ऋणकर्जा गरेर नयाँ घर बनाउन खोज्दा रामचलितरसहित उनका छोराहरू महेश यादव, श्रवण यादवले गत ३ वैशाखदेखि रोक्दै आएका छन्। नयाँ बनाउन पुरानो घर भत्काएका सदा घर बनाउनै नदिएपछि श्रीमती सविता, दुई छोरी र दुई छोरासहित ६ जना छिमेकी महेन्द्र सदाको घरमा दुई महिनादेखि शरण लिएर बस्दै आएका छन् । घर बनाउन अवरोध गर्दै आएका रामचलितर तिनै व्यक्ति हुन्, जसले गत असोजमा आफ्नो खेतको धान गोडमेल नगरिदिएको भन्दै मुसहर बस्तीका मानिस हिँड्ने बाटोमा काँडेबार लगाएर करिब एक सातासम्म आवतजावत बन्द गराएका थिए। 

बस्दै आएको जग्गामा घर बनाउन खोज्दा तीन बाबुछोरा आएर गालीगलौज गर्दै अवरोध गरेपछि गत ९ वैसाखमा जिल्ला प्रशासन कार्यालय सिरहामा पीडित सदाले शान्तिसुरक्षाको माग गर्दै निवेदन दिएका थिए।

जिल्ला प्रशासनले पीडितको निवेदनसहित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेपछि ११ वैशाखमा उजुरी तथा छानबिन शाखाले नरहा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयलाई १४ वैशाख बिहान १० बजे तीन बाबु-छोरालाई जिल्ला प्रहरीमा पठाइदिन पत्राचार गरे पनि उनीहरू समयमा नपुगेको उनले बताए। त्यसयता छलफलका लागि २२ वैशाख, ८ असारको समय तोकिए पनि अवरोध गर्ने यादव पक्ष छलफलमै उपस्थित नहुँदा सदाले सास्ती झेल्दै आएका छन्।