१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १९:१६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १९:१६:oo

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६ करोड १३ लाखको बजेट ल्याएको छ। सोमबार नगर सभाको १७औँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले  प्रस्तुत गरेको बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहेको छ ।

बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान गरेकाे छ। बजेटले आगामी आर्थिक वर्ष ०८२/८३ मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खटाउने कार्यक्रमलाई पनि बुटवलले समावेश गरेको छ। जसका लागि ५० लाख व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।
यस्तै, बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि एक करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका एक करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि एक करोड, छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ।

यस्तै, जेष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ।

नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलालाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्ममी महिलाका लागि ७० लाख, दलित समुदायका परम्परागत पेसालाई सिप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्लानजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन्।

किसान समूहहरूलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ।

यस्तै, अव्यवस्थित बसोबास र सुकुमवासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुनः नापी गर्नका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ।
बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए। उनले जनशक्ति उत्पादन र खपतमा जोड दिँदै पढाइसँगै रोजगार कार्यक्रम र ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका थिए।