
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराष्ट्र थाने कस्मिरा रोड स्थायी ठेगाना भएका ५६ वर्षीय गोपालप्रसाद खडानन्द गौली रहेका ब्युरोले जनाएको छ।
गौलीले कामको सिलसिलामा चिनजान भई फेसबुकमा साथी बनी प्रत्यक्ष भेटघाटका क्रममा खिचेका तस्बिर देखाई बदनाम गराउन भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्रहत्या गरेको बताइएको छ।
ब्युरोबाट खटिएको टोली गौलीलाई आइतबार काठमाडौं महानगरपालिका– ९, तिलगंगाबाट पक्राउ गरेको हो। उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।