१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ असार ७ शनिबार १o:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षा गर्ने नेपालको विश्वास

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १o:o७:oo

उपाधि रक्षा गर्ने योजनासहित नेपालको युवा टोली एसिसी यू–१६ इस्ट जोन कपमा सहभागिता जनाउन शुक्रबार मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिता २२ जुनदेखि ५ जुलाईसम्म हुँदै छ । युवा टोलीको कप्तानी विपिन शर्माले गरेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)मा विपिन उदीयमान खेलाडी घोषित भएका थिए ।

कर्णाली याक्सबाट चर्चित बनेको स्पिनर विपिनले १० टोली सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन हुने दाबी गरे । ‘प्रतियोगितामा १० टिम सहभागी छन् । उत्कृष्ट प्रदर्शन गर्ने टिम च्याम्पियन हुने हो । हामी त्यसको हकदार हौँ,’ विपिनले नयाँ पत्रिकासँग भने, ‘हाम्रो तयारी राम्रो भएन, हामी साबिक विजेता हौँ ।’ सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतियोगिताअघि नेपालले तयारी भने राम्रो गर्न पाएन । लगातारको वर्षाबिच युवा क्रिकेटरले इन्डोर तयारी मात्रै गरेका थिए । एक खेलाडी जुटाउन सकस भएको थियो । ‘जस्तो सोचेका थियौँ, त्यसअनुसार तयार भएन । जिल्ला हुँदै प्रदेशका प्रतियोगिता खेलेकाले सबै खेलाडी तयार छन्,’ कप्तान विपिनले भने । 

प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले पनि खेलाडीमा आत्मविश्वासले नै उपाधि रक्षा गर्न सफल हुने बताए । उनले ब्याटिङ र बलिङ खेलाडी निकै सफल रहेको पनि सुनाए । ‘हाम्रा खेलाडीको ब्याटिङ र बलिङ निकै राम्रो छ । फिल्डिङमा केही सुधार गर्नुपर्नेछ । उपाधि भिœयाउनेमा विश्वस्त छु,’ चन्दले भने । नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का र प्रवक्ता छुम्बी लामालगायतले बिदाइ गरेका थिए । 

पहिलो खेल सिंगापुरसँग
नेपालले सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपाल र सिंगापुरसँगै भुटान, इन्डोनेसिया, जापान, हङकङ, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाएका छन् । समूह ‘ए’मा रहेको नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया, जुलाई १ मा भुटानको सामना गर्नेछ । प्रतियोगिताका खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी–युकेएम ओभलमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सीधै सेमिफाइनलमा स्थान बनाउने एसिसीले जनाएको छ । 

यस्तो छ नेपाली टिम
नेपाली टिमको कप्तानमा विपिन रहँदा उपकप्तानमा सूर्यांशु कोइराला छन् । यस्तै, टोलीमा शिवांश बजगाईं (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन् । रौनक श्रीवास्तवले कर्णालीमा भएको यू–१६ राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाएका थिए ।

नतिजा ल्याउनेमा विश्वस्त छु : दीपेन्द्रबहादुर चन्द, प्रशिक्षक, नेपाल
सोचेको जस्तो तयारी नभए पनि हाम्रा खेलाडीले जिल्लादेखि प्रदेश हुँदै राम्रो प्रतियोगिता खेल्न पाएका छन् । हाम्रा खेलाडीले केही दिन मात्रै संयुक्त अभ्यास गर्न पाएका छन् । सबै खेलाडी ब्याटिङ र बलिङमा राम्रा छन् । अझ बलिङ राम्रो छ । हामीले फिल्डिङमा सुधार गर्नुपर्नेछ । समूह चरण हाम्रा लागि गाह्रो छैन । सेमिफाइनलबाट गाह्रो हो । तर, हामी सबै खेलमा विपक्षीलाई सम्मान गर्छाैँ । स्तरअनुसार विपिनलाई कप्तान सुहाएको छ । उसले टिम ह्यान्डलिङ गर्न सक्छ । हामी उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेछौँ ।

जितका लागि तयार छौँ : विपिन शर्मा, कप्तान, नेपाल
खेलाडी सबैलाई मौका रहेको छ । हाम्रो टिम औसतमा राम्रो छ । ब्यालेन्स देखिन्छ । ब्याटिङ र बलिङमा राम्रो छ । हामी सबै जित्नका लागि तयार पनि छौँ । सहभागी १० टिम सबै बलिया छन्, जसले राम्रो खेल्छ, त्यही टिम च्याम्पियन हुने हो । विपक्षीमध्ये हङकङ र मलेसिया बलिया हुन् । सबै खेलाडीको मानसिकता नै जित्ने रहेको छ । दबाब लिएको छैन । तयारी कम भए पनि प्रतियोगिता राम्रै भएको थियो । वर्षाका कारण सोचेको जस्तो अभ्यास गर्न पाएनौँ ।