
निमित्त उपकुलपति प्राडा खड्ग केसीको कार्यालय तोडफोडमा संलग्न मुख्य आरोपीलाई पक्राउ गर्नुको सट्टा उल्टै पक्राउ परेका दुई आरोपी विद्यार्थीलाई पनि प्रहरीले छाडेपछि त्रिवि पदाधिकारी थप आतंकित बनेका छन् । नेविसंघका दुई नेता पक्राउ परेको दुई दिनमै गृह मन्त्रालयको निर्देशनमा छुटेपछि निमित्त उपकुलपति केसीसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर सुरक्षा मागेको हो ।
अपराह्न ४ बजेतिर बालुवाटार पुगेका उनीहरूले एक घण्टा कुरेपछि प्रधानमन्त्रीसँग भेट पाएका थिए । भेटमा आफूहरूले दोषीलाई कारबाही गर्न बारम्बार आग्रह गर्दा पनि प्रहरीले नमानेको जानकारी गराएको र प्रधानमन्त्रीले गृहमन्त्रीलाई सुरक्षाको बन्दोबस्त मिलाउन निर्देशन दिएको केसीले बताए ।
‘असुरक्षित छौँ, यो अवस्थामा चिन्तन, मनन, मन्थन र प्राज्ञिक काम गर्न सकिँदैन, सरकारले सुरक्षा दिओस् भनेर माग गरेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि सोहीअनुसार गृहमन्त्रीज्यूलाई निर्देशन दिनुभएको छ ।’
प्राडा केसीले प्रधानमन्त्रीलाई विश्वविद्यालयको सुरक्षा प्रबन्धबारे लिखित निवेदनसमेत बुझाइएको बताए । उक्त निवेदनमा त्रिवि तोडफोड गर्नेलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्तिसमेत भराउनुपर्ने व्यहोरा उल्लेख गरिएको छ । ‘हामीले सुरक्षा प्रबन्ध नभएसम्म काम गर्न नसकिने स्पष्टसमेत पारेका छौँ, पक्राउ गरिएका व्यक्तिलाई छाडिएको विषय पनि उठायौँ, क्षतिपूर्ति तिराउनेबारे पनि सम्झायौँ,’ उनले भने ।
पक्राउ परेकालाई छाडेपछि थप आतंक
१४ जेठमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड भएपछि त्रिवि आतंकित छ । तर, तोडफोडका मुख्य आरोपीलाई सत्ताको दबाबमा प्रहरीले संरक्षण गर्दै आइरहेको छ ।
त्रिवि प्रशासनले तोडफोडमा कांग्रेसनिकट नेविसंघका नेताहरू शंकरदेव क्याम्पसका मदन उपाध्याय र भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति पुकार पराजुलीलगायतको संलग्नता किटान गरेको छ । १५ जनालाई कारबाहीको माग गर्दै १८ जेठमा प्रहरीमा निवेदन नै दिएको थियो ।
तर, प्रहरीले सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शंकरदेव क्याम्पसका विद्यार्थी नेता लोकेश कुँवरलाई मात्रै पक्राउ गरेकोमा आइतबार उनीहरूलाई छाडिसकेको छ । मुख्य आरोपी गृहमन्त्री रमेश लेखकको सचिवालयसँग निकटता भएकाले पनि पक्राउ नगर्न प्रहरीलाई दबाब छ ।
प्रधानमन्त्रीसँगको भेटपछि त्रिविका निमित्त उपकुलपति खड्ग केसीले भने–सुरक्षा प्रबन्ध नभएसम्म काम गर्न नसकिने स्पष्ट पारेका छौँ
हामी असुरक्षित छौँ । यस्तो वातावरणमा चिन्तन, मनन, मन्थन र प्राज्ञिक काम गर्न सकिँदैन । सरकारले सुरक्षा दिओस् भनेर प्रधानमन्त्रीसँग माग गरेका छौँ । उहाँले सोहीअनुसार गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । सुरक्षा प्रबन्ध नभएसम्म काम गर्न नसकिने स्पष्ट पारेका छौँ । पक्राउ गरिएका व्यक्तिलाई छाडिएको विषय पनि उठायौँ । क्षतिपूर्ति तिराउनेबारे पनि स्मरण गरायौँ । त्रिविलाई शान्ति क्षेत्र घोषणा नगरेसम्म रूपान्तरण गर्न सकिँदैन ।
प्रधानमन्त्री ओलीले नभ्याउने भनेपछि वार्षिकोत्सको दिन नीति तथा कार्यक्रम नआउने
त्रिविको परम्पराअनुसार वार्षिकोत्सवको दिन नीति तथा कार्यक्रमसम्बन्धी त्रिवि सिनेटको बैठक बस्छ । यसपटक २० असार (असार शुक्ल नवमी)मा त्रिविको वार्षिकोत्सव हो । तर, सोही दिन कुलपति तथा प्रधानमन्त्री केपी ओलीले आफू नभ्याउने बताएपछि नीति तथा कार्यक्रम नआउने भएको हो ।
‘त्रिविको वार्षिकोत्सवको दिन नीति तथा कार्यक्रम ल्याउने परम्परा छ, तर सो दिन त्रिवि कुलपति रहनुभएका प्रधानमन्त्रीज्यू बाहिर जाने भएकाले दुई दिनपछि अर्थात् २२ असारमा नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको छ,’ निमित्त उपकुलपति केसीले भने, ‘नियमअनुसार त वार्षिकोत्सवकै दिन नीति तथा कार्यक्रम ल्याउनुपर्ने हो ।’ वार्षिकोत्सवमा सहकुलपति शिक्षामन्त्री रघुजी पन्त उपस्थित हुनेछन् ।