१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३ मंगलबार १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि समझदारीपत्रमा हस्ताक्षर

सात लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १९:१३:oo

‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मंगलबार नाफिज र अग्रवालबिच समझदारी भएको हो। समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन्।

गत २९ मंसिरमा सम्पन्न नाफिजको १५औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए। गत साउनमा निधन भएका श्रवणकुमार अग्रवाल आरएमसी ग्रुपका संस्थापक हुन्। मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका श्रवणकुमार अग्रवाल संविधानसभा सदस्यसमेत हुन्। 

उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। फेलोसिप दिने गरी नाफिजमा स्थापना हुन लागेको यो नै पहिलो अक्षयकोष हो।

समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन्। नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एकजना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँबराबरको फेलोसिप प्रदान गरिनेछ।

खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ। फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ।

‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न तीनजनाको छनोट समिति गठन गरिनेछ। सोही समितिले फेलोसिप प्रदानका लागि थप काम कारबाही अघि बढाउने छ। अब आवश्यक प्रक्रिया पूरा गरेर आगामी आर्थिक वर्ष ०८२-८३ देखि यसलाई कार्यान्वयनमा लैजाने नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यो कदमले आर्थिक पत्रकारहरूलाई थप प्रोत्साहन मिल्ने बताए।