१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पत्रकार दिलभूषण पाठकमाथि धरपकड नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १८:२९:oo

समाचार प्रसारण गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकमाथि धरपकड नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। पत्रकार पाठकले गृह मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञाको निवेदनमा उच्च अदालत पाटनले सोमबार ‘कानुनबमोजिमबाहेक धरपकड नगर्नू, नगराउनू’ भन्ने आदेश दिएको हो। साथै, अन्तरिम आदेशका लागि ५ असारमा दुवै पक्षलाई बोलाउने आदेश भएको छ। 

न्यायाधीश ऋषि राजभण्डारीको इजलासको आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिमबाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर लगानीको विषयलाई लिएर समाचार प्रसारण गरेका थिए। सो समाचार झुटो भएको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो। 

समाचारकै आधारमा यसरी पक्राउ पुर्जी जारी गर्नु गलत भएको भन्दै सञ्चारकर्मी तथा सञ्चारकर्मी आबद्ध संघसंस्थाले  आपत्ति जनाउँदै पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन्।