१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
२o८२ जेठ ३१ शनिबार २३:५o:oo
Read Time : > 1 मिनेट
समाचार

उपेन्द्र यादव भन्छन्- खसीबोका बिक्न समय लाग्छ, सांसद बिक्न लाग्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार २३:५o:oo

जनता समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा फेरबदल आवश्यक रहेको र खर्चिलो प्रणाली फेरिनुपर्ने बताएका छन् । सांसद खरिदविक्रीले अस्थिरता आएकाले यसमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘ नेपालमा निर्वाचन प्रणाली’पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टि वा उम्मेदवारले निर्वाचनमा खर्च गर्नुपर्ने अवस्था आउन दिन नहुने धारणा राखे । ‘बरु खसीबोकाको वेट लिन्छ, बिक्न समय लाग्छ । तर सांसदको त्यो पनि नहुने,’ उनले भने, ‘भारतीय नेताको घरमा त कसैलाई रिसोर्टमा र थाइल्यान्डमा राखेको पनि छ ।’ 

अस्थिरता नेपाली राजनीतिज्ञको मनमा रहेको भन्दै यादवले विषय विज्ञहरुलाई मन्त्री बनाउनुपर्ने बताए । सांसदहरुलाई मन्त्री बनाउने प्रवृत्तिले गर्दा सरकार टिक्न नसकेको उनको भनाइ थियो । राजा महेन्द्रको पालामा विकास हुनुको कारण विज्ञ मन्त्रीमण्डल रहेको भन्दै उनले सरकार परिवर्तनको लागि शासकीय स्वरुप पनि फेर्नुपर्ने उनको भनाइ थियो । अहिले व्यक्तिहरुको योग्यता र क्षमता बोझ हुन थालेको र चाकडी गर्नेले पद पाउने भएकाले यसमा परिवर्तन अपरिहार्य रहेको उनले बताए । 

‘सांसदलाई मन्त्री बनाउन छाडिदिनुस् । जति अस्थिरता भएको छ सबै मन्त्री बन्न भएको छ,’ उनले भने, ‘मैले भोगेको छु । आइज तँलाई मन्त्री बनाइदिन्छु भनेर न दल फुटेको हो । यहाँ प्रधानमन्त्रीले गर्वका साथ मैले सरकार जोगाउन पार्टि फुटाएको हो भनेर भाषण गर्छन् ।’ 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक राखिनुपर्ने यादवको भनाइ थियो । संविधानमै राखेको कुरा पनि कार्यान्वयन नहुने देशमा मानसिकता नै फेर्नुपर्ने उनको भनाइ थियो । ‘फलानोलाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्ने देश हो यो । यस्तो कहिँ भएको छ?’ उनले भने । 

स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने विषयमा नेपाली काँग्रेसले ०४७ सालमा प्रस्ताव राखेको तर कम्युनिस्ट दलले समर्थन नगरेको स्मरण गर्दै यादवले स्थानीय तहलाई विकासको एजेन्सीका रुपमा लानुपर्ने धारणा राखे । 

‘हाम्रोमा बहुमत त के भन्नु दुई तिहाइको सरकार त टिकेन । आफै फुट्यो । २००७ सालदेखि कुनै सरकारले कार्यकाल पूरा गरेको छैन,’ उनले भने, ‘यो राजनीतिक प्रणाली र नेतृत्वको मानसिकतमा भर पर्ने कुरा हो ।’ थाइल्यान्डमा सरकार परिवर्तन भइरहने भए पनि विकास भइरहेको उदाहरण दिँदै उनले नेपालमा दल र नेताको मानसिकता परिवर्तन हुनुपर्ने बताए । 

नेपालमा प्रधानमन्त्री र मन्त्री देशको नभइ निश्चित निर्वाचन क्षेत्रको मात्र हुने गरेको उनको भनाइ थियो । अहिले राजनीति लगानी र प्रतिफलजस्तो भइसकेको भन्दै उनले यसलाई पेसा वा व्यवसाय नभइ सेवा बनाउनुपर्ने बताए । यसका लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्ने उनको भनाइ थियो । 

‘बल्ल बल्ल ६०–४० को रेसियोमा समानुपातिक ल्यायौँ । तर त्यसमा पनि उद्योगपति, व्यापारी कुन्नी के के पति भेट्न थाल्यौँ, यसले विकृति ल्यायो,’ यादवले भने । विश्वका ७१ देशमा पूर्ण समानुपातिक प्रणाली लागू भएको भन्दै उनले नेपालमा पनि दल र उम्मेदवारले खर्च गर्नु नपर्नेगरी निर्वाचन प्रणाली ल्याउनुपर्ने बताए ।