
दुर्घटनामा परेर चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन्
मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७, डाँसमोरंगी पुलनजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार राति पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।
विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । यस क्षेत्रमा काँकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।