
सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डिपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
सभामुख घिमिरेले आइतबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सदनलाई मर्यादित बनाउन आग्रह गरे ।
उनले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल छिटोभन्दा छिटो सुरु गर्नुपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरूप बदल्न भनेका थिए । अर्यालले भने आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे आइतबार बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई टेलिफोन संवादमार्फत संसद्को अवरोध हटाउन आग्रह गरेका थिए ।
सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन नियमित गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।