
बागलुङलाई पूर्ण खोप सुनिश्चता दिगोपना घोषणा गरिएको छ । शुक्रबार गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् । हरेक वर्ष वडा तह हुँदै पालिका तहलाई पूर्णखोप घोषणा पश्चात जिल्लालाई नै घोषणा गर्ने गरिन्छ ।
घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले कुनै पानि बालबालिकालाई खोप पाउने अधिकारबाट बञ्चित गराउनु नहुने बताए। उनले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपांगताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताए। पाठकले गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको र लगानी अनुसारको प्रतिफल पनि हासिल गर्दै जाने बताए।
जिल्लामा जन्मेदेखि १५ महिनासम्मका र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चिततासहित दस वटै पालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको छ। बालबालिकाहरूले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोप पाएका छन् ।’राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरू पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन्।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जना बालबालिका, गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ जना बालबालिका, ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिका रहेका छन् । त्यसैगरी जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।
यस्तै ताराखोला गाउँपालिकामा कुल एक सय ९३ जना बालबालिका, बरेङ गाउँपालिकामा छ सय ४५ जना बालबालिका, तमानखोला गाउँपालिकामा दुई सय ७७ जना बालबालिका, काठेखोला गाउँपालिकामा चार सय ३४ जना बालबालिका, निसीखोला गाउँपालिकामा ८ सय २८ जना बालिबालिका र बडिगाड गाउँपालिकामा सात सय ९५ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाहरु घोषणा गर्नुअघि सबै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अगाडि गत माघ १ गतेदेखि वडा तहमा खोजपड्ताल कार्यक्रम सुरु गरिएको थियो । बागलुङ यस वर्षको पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको तेस्रो जिल्ला रहेको छ ।यस अगाडी जिल्लाको दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यलय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।