१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
इरानको राजधानी तेहरानस्थित इजरायली आक्रमणमा क्षतिग्रस्त आवासीय भवन
२o८२ जेठ ३१ शनिबार o६:o२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानमाथि इजरायली हमला, इरानको बदला 

नेपाल चिन्तित : तनाव नबढाउन परराष्ट्र मन्त्रालयको आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o६:o२:oo
  • बिहीबार राति इजरायली हवाई आक्रमणमा इरानी इस्लामिक रिभोलुसनरी गार्डस् (आइआरजिसी)का प्रमुख कमान्डर हुसेन सलामीसहित कम्तीमा पाँच उच्च सैन्य अधिकारी र दुई वरिष्ठ परमाणु वैज्ञानिकको मृत्यु
  • जवाफमा शुक्रबार राति इरानले इजरायलको राजधानी तेलअभिभसहित मुख्य सहरमा भीषण मिसाइल हमला गरेको छ
  • इरानको मुख्य युरेनियम संवर्द्धन केन्द्रमा मिसाइल हमला, प्रतिक्रियात्मक हमला हुन सक्ने आशंकाबिच इजरायलमा देशभर आपत्काल घोषणा गरिएको थियो

इजरायल र इरान पूर्ण युद्धतर्फ उन्मुख भएका छन् । इजरायलले बिहीबार राति परमाणु कार्यक्रम र महत्वपूर्ण सैन्य संरचनामा हमला गरेर गम्भीर क्षति पुर्‍याएपछि इरानले पनि शुक्रबार रातिदेखि जवाफी कारबाही थालेको छ । मध्यपूर्वमा तनाव सिर्जना हुन सक्ने भन्दै शक्तिराष्ट्रको ध्यान केन्द्रित भएको छ ।

इजरायलले इरानका विभिन्न स्थानमा हवाई आक्रमण गर्दै इरानको परमाणु कार्यक्रमकेन्द्रित संरचनालाई लक्षित गरेको दाबी गरेको छ । र, इरानबाट तुरुन्तै प्रतिक्रियात्मक हमला हुन सक्ने आशंकाबिच इजरायलले देशभर आपत्कालीन स्थिति घोषणा गरेको थियो । 

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा इरानको सैन्य नेतृत्वमा ठुलो क्षति पुगेको छ । शक्तिशाली सैन्य संरचना इस्लामिक रिभोलुसनरी गार्डस् (आइआरजिसी)का प्रमुख कमान्डर हुसेन सलामीसहित कम्तीमा पाँच उच्च अधिकारी र दुई वरिष्ठ परमाणु वैज्ञानिकको मृत्यु पुष्टि गरेका छन् । इरान सरकारले सार्वजनिक गरेअनुसार इस्लामिक रिभोलुसनरी गार्डस्का कमान्डर इन चिफ होसेन सलामी, खतम अल अन्बिया, केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रसिद तथा परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फेरेडुन अब्बासी, इरानको सशस्त्र सेनाका चिफ अफ स्टाफ रहेका मोहम्मद बघेरी तथा परमाणु वैज्ञानिक मोहम्मद हमदी तेहरान्चीको मृत्यु भएको छ । इजरायली हमलामा इरानका सर्वोच्च नेता खमेनीका सल्लाहकार सैन्य अली सामखानी घाइते भएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले तेहरानका आवासीय क्षेत्रहरूमा हमला गरेको छ । इरानको फार्स न्युजका अनुसार इजरायली हमलामा कम्तीमा ७० जना मारिएका छन् भने तीन सयभन्दा बढी घाइते छन् । समाचार संस्था रोयटर्सले इरानको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार मारिएका व्यक्तिमा बालबालिका पनि छन् । 
इजरायली आक्रमणमा इरानको मुख्य युरेनियम संवद्र्धन केन्द्र नातांज पनि लक्षित गरिएको बताइएको छ । प्रारम्भिक हवाई हमलाको केही घण्टापछि नातांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको खबर आएको थियो । यो केन्द्र तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा छ । 

स्थानीय समयअनुसार बिहान ३:३० बजे राजधानी तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको थियो । ठ्याक्कै यही समयमा इजरायलमा आपत्कालीन साइरन बज्न थालेपछि जनताले फोनमार्फत सतर्कता सूचना प्राप्त गरेका थिए । सरकारी सञ्चारमाध्यमका अनुसार केही आवासीय क्षेत्रमा पनि क्षति पुगेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले ‘अपरेसन राइजिङ लायन’ नाम दिइएको यो कारबाही इजरायलको अस्तित्वमा आएको इरानी खतरा हटाउने सैन्य अभियान भएको बताएका छन् । ‘यो अभियान तबसम्म जारी रहन्छ, जबसम्म इरानबाट आउने खतरा पूर्ण रूपमा समाप्त हुँदैन,’ उनले भने । 

इरानका सर्वोच्च नेता खमेनीले इजरायली हमलामा उच्च सैन्य कमान्डर र ६ जना आणविक वैज्ञानिकको हत्या भएको भन्दै यसको बदला लिने चेतावनी दिएका छन् । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले भने, ‘यो हमला इजरायलको दुष्ट प्रवृत्तिको प्रमाण हो । इजरायलले यसको कहिल्यै नभुल्ने सजाय भोग्नेछ ।’ त्यसलगत्तै इरानले जवाफी कारबाही गर्दै ३०० भन्दा बढी मिसाइल प्रहार गरेको छ ।

नेपाल चिन्तित : तनाव नबढाउन परराष्ट्रको आग्रह
इजरायलले इरानमाथि गरेको हमलापछि उत्पन्न क्षेत्रीय अशान्ति र अन्योलपूर्ण अवस्थाप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । शुक्रबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन दुवै पक्षलाई अनुरोध गरेको छ । ‘नेपाल हालैका दिनहरूमा इरान र इजरायलबिच विकसित घटनाक्रमप्रति गहिरो रूपमा चिन्तित छ । हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल दुवै पक्षलाई तनाव बढ्नबाट जोगिन, उक्त क्षेत्र र बाहिर शान्ति र स्थिरताका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्दछ । वार्ताका लागि कूटनीतिक च्यानलहरूको प्रयोगले स्थितिलाई तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ 

कतारको दोहास्थित नेपाली राजदूतावासले इरानमा तथा तेलअभिभमा रहेको नेपाली दूतावासले इजरायलमा नेपाली समुदायसँग सम्पर्क गरेको र नेपालीसँग सम्पर्कमा रहेको पनि परराष्ट्रले जनाएको छ । ‘दुवै देशका सबै नेपाली नागरिकलाई परिस्थितिप्रति सतर्क रहन, पर्याप्त सावधानी अपनाउन र स्थानीय सल्लाहको पालना गर्न आग्रह गर्दछौँ,’ परराष्ट्रले भनेको छ । इजरायलमा करिब पाँच हजार नेपाली छन् भने इरानमा सयआसपास रहेको परराष्ट्रका अधिकारीहरूको आकलन छ । उनीहरू सबै सुरक्षित छन् ।