१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार १o:३७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा क्लब विश्वकप आजदेखि : देखिनेछैनन् यी पाँच स्टार खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १o:३७:oo

विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले नयाँ योजनासहित क्लब विश्वकप प्रतियोगिता शनिबारदेखि आयोजना गर्दै छ । यसपटक अमेरिकाले प्रतियोगिता गर्नेछ । पहिलोपटक ३२ क्लब सहभागी भएको क्लब विश्वकपको विजेताले एक अर्ब नेपाली रुपैयाँ पाउनेछ । अघिल्लो संस्करणमा केवल सात क्लबबिच मात्र विश्वकप हुने गथ्र्यो । फिफाले क्लब विश्वकपलाई समेत प्रतिस्पर्धात्मक र विभिन्न देशका स्टार खेलाडीलाई समेट्न ३२ टोली संख्या पुर्‍याएको हो । 

एक महिना चल्ने प्रतियोगितामा चर्चित क्लबहरू रियल म्याड्रिड, पिएसजी, म्यान्चेस्टर सिटी, चेल्सी र बायर्न म्युखिन छन् । विश्वका ३२ क्लब प्रतिस्पर्धामा हुनेछन् । यो प्रतियोगितामा अमेरिकाका ११ सहरका १२ रंगशालामा ६३ खेलमार्फत विश्वलाई रोमाञ्चित गर्नेछ । यसपटक ट्रफी निकै आकर्षक छ । टिफनी एन्ड कम्पनीद्वारा डिजाइन गरेको क्लब विश्वकपको नयाँ ट्रफी २४ क्यारेट सुनले बनेको छ, जसमा विश्वको नक्सा र दुई सय ११ फिफा सदस्य राष्ट्रको नाम अंकित छ । 

फिफाका अध्यक्ष इन्फाटिनोले यसपटक सोचेजस्तो पाउन सकेनन् । विश्वचर्चित क्लब लिभरपुल, बार्सिलोना तथा नेपोलीजस्ता क्लबले विश्वकपमा सहभागिता जनाएका छैनन् । लिभरपुल इंग्लिस प्रिमियर लिग, बार्सिलोना स्पेनिस ला लिगा र नेपोली सिरी ‘ए’ लिग विजेता हुन् । युरोपका शीर्ष डिभिजन लिग विजेताहरू सहभागी नहुँदा क्लब विश्वकपमा स्टार खेलाडीको जमघट खासै नदेखिने भएको हो । बार्सिलोनाले क्लब विश्वकप तीनपटक जितिसकेको छ । 

लिभरपुलले एकपटक उपाधि उचालेको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका युवा खेलाडी लामिन यमल, बुकायो साका र ब्राजिलका नेमार जुनियर क्लब विश्वकपमा देखिनेछैनन् । सर्वाधिक पाँचपटकको विजेता रियल म्याड्रिड र साबिक विजेता म्यानचेस्टर सिटीले सहभागिता जनाउनेछन् । उद्घाटन खेलमा लियोनल मेसी कप्तानीमा रहेको अमेरिकाको इन्टर मियामीले इजिप्ट प्रिमियर लिगको अल अहली स्पोर्टस् क्लबसँग खेल्नेछ ।

मोहम्मद सलाह (लिभरपुल)
सन् २०२४/२५ को इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जित्यो । फिफाको नियमअनुसार युरोपको शीर्ष डिभिजन लिग विजेता क्लब विश्वकपमा सहभागी हुनुपर्ने हो । तर, लिभरपुलले नयाँ फम्र्याटमा हुने प्रतियोगितामा सहभागी नहुने निर्णय लिएको छ । जसका कारण लिभरपुललाई लिग च्याम्पियन बनाउने प्रमुख खेलाडीमध्ये एक मोहमद सल्लाहको ड्रिब्लिङ क्लबले विश्वकपमा हेर्न पाउनेछैनन् । सलाह सिजनमा २९ गोल गर्नुका साथै १८ असिस्ट गरेका थिए । लिभरपुलबाट सलाह मात्र नभएर कप्तान तथा नेदरल्यान्ड्सका रक्षक भर्जिन भान डाइक पनि विश्वकपमा हुनेछैनन् ।

लामिन यमल (बार्सिलोना)
स्पेनिस ला लिगामा रियल म्याड्रिडको दबाब चिर्दै यसपटक बार्सिलोनाले उपाधि जित्यो । बार्सिलोनाले ट्रेबल उपाधि हात पारेको थियो । यसै सिजनमा बार्सिलोना फर्ममा देखिएको थियो । बार्सिलोनाले क्लब विश्वकपमा भाग लिएको छैन । २०२४–०२५ को सिजनमा सर्वाधिक नाम कमाएका १७ वर्षीय स्ट्राइकर लामिन यमल पनि क्लब विश्वकपमा देखिनेछैनन् । बार्सिलोनाका राफिन्हा, पेड्री, गाभी, अनुभवी स्ट्राइकर रोबर्टाे लेवान्डोस्की क्लब विश्वकपमा हुनेछैनन् ।

क्रिस्टियानो रोनाल्डो (अल नासर)
रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रोपटक नेसन्स लिगको उपाधि दिलाए । तर, उनले आफू आबद्ध अल नासरलाई पनि साउदी प्रो लिगको ट्रफी दिलाउन सकेका छैनन् । क्लब विश्वकपमा एकपटक रोनाल्डोले भाग लिने मनसाय देखाएका थिए । उनको यस संकेतसँगै विभिन्न क्लबहरूले उनलाई प्रस्ताव राखे । तर, रोनाल्डोले अल नासरसँगको सम्झौता बाँकी रहँदा त्यसविरुद्ध नजाने निर्णय लिए ।

बुकायो साका (आर्सनल)
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको इंग्लिस क्लब आर्सनल पनि क्लब विश्वकपमा सहभागी हुनेछैन । लगातार उत्कृष्ट प्रदर्शन गरे पनि सिजनको अन्त्यमा आर्सनलले बिर्सनलायक प्रदर्शन गर्‍यो । योसँगै इंग्ल्यान्डका युवा विंगर बुकायो साकाको क्लब विश्वकप खेल्ने सपना पूरा भएन । सन् २०२० मा आर्सनले अन्तिमपटक एफए कम्युनिटी सिल्डको उपाधि उचालेको थियो ।

नेमार जुनियर (सान्तोष)
ब्राजिलियन नेमार जुनियर पनि अमेरिकामा देखिनेछैनन् । अहिले नेमार घरेलु टोली सान्तोषमा आबद्ध छन् । सान्तोषमा जानुअघि उनी साउदी प्रो लिगमा अल हिलालमा आबद्ध थिए । अल हिलालमा रहँदा उनी घाइते भए । चोट निको बनाउन उनी ब्राजिल फर्के । त्यसपछि उनले सान्तोषसँग सम्झौता गरे । सान्तोष क्लब विश्वकपमा छनोट नै भएन । नेमारलाई पनि विभिन्न क्लबबाट प्रस्ताव आएको थियो । तर, उनले त्यसलाई स्वीकार गरेनन् । यसैकारण नेमार पनि क्लब विश्वकपमा सहभागी नहुने भएका हुन् ।