
नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि मंगलबार नेपालले आइसिसी विश्वकप लिग २ मा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ । स्कटल्यान्डको डुन्डीमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३६ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालका स्पिनरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दा नेदरल्यान्ड्स ४९.२ ओभरमा दुई सय २० रनमा समेटियो । डेब्यु खेलमै फास्ट बलर नन्दनले उत्कृष्ट स्पेल गर्न सफल भए ।
उनले नौ ओभरमा एक मेडन राखी ३९ रन खर्चेर तीन विकेट हात पारे । ललितले १० ओभरमा एक मेडनमा २९ रन खर्चेर दुई विकेट लिए । लेग स्पिनर सन्दीपले १० ओभरमा ३९ रन दिँदै नेदरल्यान्ड्सका तीन खेलाडीलाई आउट गरे । जितसँगै नेपालले १६ खेलबाट १२ अंक जोडेको छ । पाँच जित र नौ हारको सामना गरेको नेपाल सातौँ स्थानमै रह्यो । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २३ खेलबाट २६ अंक जोडेको छ ।
स्कटल्यान्ड भइरहेको सिरिजमा नेपालले चार खेलमा तीन जित र एक हार सामना गर्यो । नेपालले दुवैपटक नेदरल्यान्ड्समाथि जित निकाल्यो । स्कटल्यान्डसँग नेपालले समान एक हार र जित हात पारेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा स्कटल्यान्डसँग केवल दुई रनको हार व्यहोरेको थियो ।
आरिफको नवौँ अर्धशतक
पहिलो ब्याटिङ गरेको नेपालका लागि म्यान अफ दी म्याच आरिफ सेखले नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्सको योगदान दिए । उनको यो नवौँ एकदिवसीय अर्धशतक हो । उनले ६६ बलमा चार चौका प्रहार गरी अर्धशतक पूरा गरेका हुन् । ओडिआई करिअरमा आरिफको यो नवौँ अर्धशतक हो । उनले समग्रमा ८५ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ८४ रनको योगदान दिए । नेपालको ब्याटिङमा भीम सार्कीले ३८ बलमा तीन चौकाको सहयोगमा ३५ रन तथा कप्तान रोहितले ६० बलमा ३५ रन बनाएका थिए । नेदरल्यान्ड्सको ब्याटिङमा ओपनर माइकल लेभिटले २७ बलमा २७ रन बनाए । वेस्ली बारेसीले ६० बलमा ३६ रन तथा कप्तान स्कट एडवाड्सले ४७ बलमा ३० रनको योगदान दिएका थिए ।
नन्दनको उत्कृष्ट डेब्यु
मध्यम गतिका बलर नन्दनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट डेब्यु गरेका छन् । विश्वकप लिग दुईअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध उनले डेब्यु गरेका हुन् । नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई डेब्यु क्याप दिएका थिए । नन्दन नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ४२औँ खेलाडी बनेका छन् । यसअघि अघिल्ला तीन खेलमा उनी बेन्चमा बसेका थिए ।
नन्दनले तीव्र गतिका बलर सोमपाल घाइते भएपछि मौका पाएका हुन् । यसैबिच, सिरिजमा सहभागी हुन गएका नेपालका सबै १५ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । नेदरल्यान्ड्ससँगको खेलमा अनिल शाह र बसिर अहमदले टोलीमा पुनरागमन गरे । ओपनर ब्याट्सम्यान आसिफ सेखको स्थानमा अनिलले खेलेका हुन् । गत आइतबार स्कटल्यान्डसँग दुई रनले पराजित भएको प्रतिस्पर्धामा सोमपालले नेपालका लागि अर्धशतक बनाएका थिए ।
सोमपाल र गुल्सनले गुमाए बाँकी खेल
टोलीका प्रमुख खेलाडी सोमपाल कामी र गुल्सन झाले विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज गुमाएका छन् । स्कटल्यान्डमा प्रशिक्षणको क्रममा घाइते भएपछि सोमपाल र गुल्सनले बाँकी सबै खेल गुमाएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बताएका छन् । सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको लामाले बताए । विश्वकप लिग दुईअन्तर्गत नेदरल्यान्ड्ससँगको अन्तिम खेलको तयारीको क्रममा दुवै खेलाडी चोटग्रस्त बनेका थिए । मुख्य प्रशिक्षक स्टुवार्ट लले अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई मौका दिएका थिए ।
बसिरले नियम तोडेपछि नेपाललाई १० रन पेनाल्टी
तीन वर्षपछि टोलीमा स्थान बनाएका बसिरले ब्याटिङमा गतिलो प्रदर्शन गर्न सकेनन् । पहिलो ब्याटिङ गरेको नेपालले बसिरकै कारण १० रन पेनाल्टी व्यहोर्नुपरेको थियो । नेपाललाई आफ्नो इनिङ्समा १० रन घाटा लाग्यो । मध्यक्रमका ब्याट्सम्यान बसिर नियमविपरीत पिचमा दौडिएको भन्दै अम्पायरले दुईपटक गरी समान पाँच रन सजाय गरेका हुन् । लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेल सुरु हुनुअघि नै १० रन पाएको थियो ।