
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारीआवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो।
नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नुपरेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए।
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन्। यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन्। रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने उनले जानकारी दिए।