
काठमाडौं महानगरपालिकाले फोहाेरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ। कामपाले अस्पतालजन्य फोहाेर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो। कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले एक स्थानको फोहाेर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताइन्।
कामपाले आर्थिक वर्ष ०७९/८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहाेर व्यवस्थापन अनुगमन गरेको जनाएको छ। कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पतालमा तीनपटकभन्दा बढी अनुगमन गरिएको छ। यस वर्ष पनि अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक, आइभिएफ सेन्टरको अनुगमन गरिएको छ।अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालू आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधि अनिवार्य समावेश हुने गरी सोमबारदेखि हानिकारक फोहाेर व्यवस्थापन र तरल फोहाेर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ।
सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहाेरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहाेरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने वेला भएको बताए।
प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहाेरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सावधानी र सचेतना भए स्रोतमै फोहाेरको मात्रा घटाउन सकिने बताए। विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रतिशय्या प्रतिदिन ०.९९ किलोदेखि १.७३ किलोसम्म फोहाेर उत्पादन हुन्छ। यसरी उत्पादन हुने संक्रामक फोहाेरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्त्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ ।