
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव माग गरेको हो ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, ‘यसै क्रममा आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव भए यस बैंकको आर्थिक अनुसन्धान विभागमा र इमेलमा १० असार ०८२ भित्र उपलब्ध गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग आगामी मौद्रिक नीतिको तयारीमा जुटेको छ । संघीय सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । अब प्रदेश सरकारहरूले १ असार र स्थानीय तहहरूले १० असारमा बजेट सार्वजनिक गर्नेछन् । तीनै तहका बजेटलाई समेत अध्ययन गरेर राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दछ ।