१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format १२:४३:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

संघीय राजधानी काठमाडौंलाई पूर्वीनेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गकाे सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । 

उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि गत साल असोजमा भएको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ । 

०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दीबास १६० किलोमिटर लामो सडक बनेको हो । 

करिब २६ अर्ब जापानी रुपैयाँबराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोडेको हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।


संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो ।

राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका वेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ ।

गत सालको वर्षाले काभ्रेपलाञ्चोकको भकुन्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्‍याएको हो । विशेषगरी नेपालथोक–आँपटार, कालढुंगा, डालाबेँसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । 

त्यसवेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । हाल वर्षायाम सुरु भइसकेकाले उक्त राजमार्गले कति ठुलो क्षति व्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन । काभ्रेपलाञ्चोकतर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेँसीका सडकखण्ड पूर्ण रूपमा बगाएको छ ।

गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ । यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन । 

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो । सडक विभागले तयारी पनि गरेको छ, तर वर्षात्ले काम सुरु गर्न मुस्किल बनाइरहेको छ । 

सडक विभागको अध्ययन प्रतिवेदनअनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु. १० अर्ब लाग्नेछ । त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, जहाँ नयाँ ट्रयाक बनाउनुपर्ने देखिन्छ । भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर, व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिट्टी बालुवा लिएर निर्वाध रूपमा सञ्चालन हुने गरे पनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ । 

बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रूपमा यस सडकमा सञ्चालन हुने टिपर रहेका छन् । दैनिक यस सडकमा ६ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन् । 

वेलाबखत प्रहरीले जाँच गरे पनि नियमित रूपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन् । संगठित रूपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पारिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना–ठुला गरी दैनिक तीन हजारभदा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रो बस बढी सञ्चालन हुने गरेका छन् ।

यसैबिच, गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चारखण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । 

कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै, एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएपछि सकारात्मक देखिएको कार्यालयले जनाएको छ । 

काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ ।
 
काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८.५ किलोमिटर सडक तथा सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेले जानकारी दिए । 

उनका अनुसार बिपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट आठ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । त्यस बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको खण्डका लागि एक अर्ब रुपैयाँले सडकको स्थायी पुनर्निर्माण गरिनेछ । 

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जाइकासँग छलफल भएअनुसार जाइकाले स्थलगत अध्ययन गरिरहेकाले यस सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार करिब तयारजस्तै देखिएको इन्जिनियर योगेशले बताए । 

‘यस सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुन सक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले यस खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,’ उनले भने । 

यस सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उनको भनाइ छ । उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताए । 

यस्तै, क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुईवटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउनेछ । 

हाल बिपी राजमार्गको यस सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ ।

योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए । वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उनको भनाइ छ । 

‘वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको अस्थायी काम सक्नेछौँ,’ उनले भने । 

यसैबिच बिपी राजमार्गको डालाबेँसी–बर्खेखोला’ ५.५  किलाेमिटर सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ । सरकारले चारवटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो ।

सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुंगाे भने लागेको छैन । यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो । 

जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीन खण्डको ठेक्का आह्वान गरिसकेको हो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष ०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दीबास १६० किलाेमिटर सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्ड–खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको ०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौंंलाई मध्यपहाडी तथा पूर्वीनेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ । – रासस