
सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सातौं संस्करण २७ जेठदेखि २ असारसम्म हुने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीको सहभागिता रहनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै, उत्कृष्ट बलर र ब्याटरले तीन महिना निःशुल्क प्रशिक्षण पाउने छन् ।
यसैगरी, आयोजकले छनोट गरेका उत्कृष्ट तीन खेलाडीलाई एन्जल्स स्पोर्टस एकेडेमीले तीन महिना प्रशिक्षण दिने भएको छ ।
विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहे पनि यस संस्करणबाट भने बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेका वा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका दुई खेलाडीलाई टोलीमा समावेश गर्न पाइनेछ ।
प्रतियोगिताको सुरुवाती तीन संस्करण पाँचपोखरी थाङपाल गाउँपालिका तथा पछिल्ला तीन संस्करण मुलपानी क्रिकेट मैदानमा भएको थियो ।