
पोर्चुगल र स्पेनबिच नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । पोर्चुगलले सेमिफाइनलमा जर्मनीलाई २–१ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो । फ्रान्समाथिको जितले स्पेन र पोर्चुगलबिच फाइनलको समीकरण तयार भएको हो । रोनाल्डोले ६ वर्षको अन्तरमा पोर्चुगललाई दोस्रोपटक ट्रफीनजिक पुर्याएका छन् । सन् २०१९ को पहिलो संस्करणमा उनकै कप्तानीमा पोर्चुगल च्याम्पियन बनेको थियो ।
जर्मनीको एलिएन्ज एरिनामा रोनाल्डोले १३७औँ अन्तर्राष्ट्रिय गोल पनि पूरा गरे । करिअरको उत्तराद्र्धमा रहेका रोनाल्डोले जर्मनीविरुद्धको आफ्नो सपना २५ वर्षपछि पूरा गरेका छन् । सन् २००० को युरोकपयता पोर्चुगलले जर्मनीलाई हराउन सकेको थिएन । लगातार २५ वर्ष अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय रहेका रोनाल्डोले बिहीबार जर्मनीलाई हराउँदै ती हारको जिंक तोडे । अझ यसमा उनले नै निर्णायक गोल गरेका थिए । यसलाई उनले सपना पूरा भएको मान्छन् ।
‘जर्मनीलाई एकपटक हराउने चाहना थियो, त्यो पूरा भएको छ,’ उनले भने, ‘लामो समयको प्रतीक्षा समाप्त भएको छ ।’ ४० वर्षीय रोनाल्डोले कीर्तिमानी रूपमा दुई सय २० क्यापमा एक सय ३७ गोल गर्नु आफैँमा अर्को कीर्तिमान रह्यो । साथै, उनले समग्रमा नौ सय ३७ गोल गरेका छन् । रोनाल्डोका यी सबै अन्तर्राष्ट्रिय पुरुष फुटबलकै रेकर्ड हुन् । यद्यपि, उनले आफ्नो व्यक्तिगत रेकर्डबारे मिडियालाई बताउने गर्दैनन् ।
तर, जर्मनीमाथिको जितमा उनी यति खुसी देखिए कि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दिल खुलेर प्रतिक्रिया दिए । ‘अब अन्य प्रतिद्वन्द्वीलाई पनि यसै गरी पाखा लगाउनुपर्छ ।’ उनी खुसी हुनुको अर्को कारण थियो । रोनाल्डोले चार सय ५० मिनेटसम्मको जर्मनीविरुद्धको गोल खडेरी पनि तोडेका छन् । समग्रमा उनले दुई सय ७० मिनेटपछि जर्मनीको पोस्टमा गोल छिराए । जर्मनीको राष्ट्रिय टोलीविरुद्ध पाँच खेलसम्म गोल गर्न नसकेका रोनाल्डो क्लबस्तरीयमा भने सर्वाधिक सफल देखिन्छन् । रोनाल्डोले आफ्नो करिअरमा अहिलेसम्म २६ खेलमा २८ गोल गरे ।
अधिकांश गोल युरोपियन च्याम्पियन्स लिगमै रह्यो । सन् २००० पछि रोनाल्डोले जर्मनीविरुद्ध पाँच अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका छन्, जसमा उनले सबै खेलमा हार सामना गरे । छैटौँ भेटमा भने उनी सफल भए । उनको यो सफलतामा जर्मन नेसन्स कप सेमिफाइनलबाट बाहिरियो ।
‘टार्गेट’ पाँच राष्ट्र
शारीरिक र मानसिक रूपमा रोनाल्डो कति फिट हुन्छन् ? त्यो भविष्यले बताउनेछ । तर, जर्मनीमाथिको जितले उनी हौसिएका छन् । उनले आफ्नो करिअरमा हराउन नसकेका राष्ट्रहरूलाई आगामी दिनमा परास्त गर्ने संकल्प गर्छन् । रमाइलो पक्ष के छ भने खेलाडी र कप्तानीका रूपमा उनले अहिलेसम्म इंग्ल्यान्ड, ग्रिस, युक्रेन, इटाली र स्लोभेनियालाई हराउन सकेका छैनन् । सन् २००६ पछि इंग्ल्यान्डसँग अहिलेसम्म तीन भेटमा रोनाल्डोले बराबरी खेलेका छन् ।
सन् २००४ को युरोकप र २००६ को विश्वकप क्वार्टरफाइनलमा पोर्चुगलले अन्तिमपटक इंग्ल्यान्डलाई हराएको थियो । सन् २०१६ पछि पोर्चुगलले फ्रान्सविरुद्ध चारपटक प्रतिस्पर्धा गरेको छ । यी चारै भेटमा पोर्चुगलले नतिजा आफ्नो पक्षमा राख्न सकेन । सन् २०१६ को युरोकप फाइनलमा रोनाल्डोकै कप्तानीमा पोर्चुगलले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । त्यो जित नै अहिलेसम्मकै अन्तिम भएको छ पोर्चुगललाई ।
३० वर्षपछि चम्केका रोनाल्डो
विश्व फुटबलको इतिहास हेर्दा ३० वर्ष काटेपछि खेलाडी सुस्ताउने गर्छन् । तर, यसको ठिक उल्टो रोनाल्डो देखिन्छन् । ३० वर्ष नाघेपछि रोनाल्डो उत्कृष्ट लयमा देखिए । यद्यपि, जीवनको ३० वसन्तअगाडि पनि उनी नचम्केका होइनन् । तर, उनले ख्याति भने ३० वर्ष कटेपछि कमाए । हुन पनि हो, रोनाल्डोले राष्ट्रिय तथा क्लबस्तरीयमा जति उपाधि जिते, त्यो लगभग ३० वर्षको उमेरपछि नै रह्यो ।
उनले ३०–४० वर्षको उमेरमा पोर्चुगलका लागि ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यसअघि उनले राष्ट्रिय टोलीबाट ५२ गोल गरेका थिए । करिअरको दोस्रो हाफमा उनले आफूलाई फिट मात्र राखेनन्, क्लब र राष्ट्रिय टोलीमा गोल मेसिनका रूपमा समेत उभ्याएका छन् । फेरेन्स पुस्कार, पेले, डिएगो म्याराडोना, गर्ड मुलरजस्ता प्रसिद्ध फुटबलले पनि धेरै अन्तर्राष्ट्रिय गोल गर्न सकेनन् । वर्तमान समयमा रोनाल्डोको कीर्तिमानी अन्तर्राष्ट्रिय गोलनजिक कोही छन् भने ती अर्जेन्टिनी कप्तान लियोनल मेसी । मेसीलाई पनि रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या राखेको तोड्न मुस्किल देखिन्छ ।
नेसन्स कपमा दोस्रोपटक उपाधिनजिक पुर्याएपछि रोनाल्डोबारे पोर्चुगलका प्रशिक्षक रोबर्ट मार्टिनेजले पनि प्रशंसा गरेका छन् । ‘यतिवेला उसको बारेमा केही बोलिरहनुपर्दैन, प्रत्येक दिन योगदान दिने उद्देश्यका साथ प्रशिक्षक गरेका हुन्छन्,’ मार्टिनेजले भने, ‘एक प्रशिक्षकको नाताले रोनाल्डोको खेलमाथि टिप्पणी गर्नु गलत हुनेछ, किनभने यो उमेरमा पनि भर्खर २० वर्षको ठिटोले झैँ खेल्छन् ।’
रोनाल्डोको साथी बार्नान्डो सिल्भाले भने, ‘आत्मविश्वास र उपाधिका भोकाले पनि यस्तो गर्छन्, अरूले सक्दैनन् ।’ सिल्भा र रोनाल्डोको सहयात्रा २० वर्ष पुगेको छ । ‘हामी दुवै लगातार २० वर्षदेखि पोर्चुगलबाट खेलिरहेका छौँ, अहिले पनि पोर्चुगलका प्रमुख खेलाडीकै रूपमा छौँ, जुन असामान्यजस्तो लाग्छ,’ सिल्भाले भने, ‘उसले गोल गर्दा खुसी लाग्छ ।’
एक हजार गोलनजिक रोनाल्डो
रोनाल्डोले अब ६३ गोल गरे फुटबलमा कसैले राख्न नसकेको रेकर्ड बनाउनेछन् । अहिलेसम्म फुटबलमा आधिकारिक रूपमा खेलाडीले एक हजार गोल गरेका छैनन् । तर, ब्राजिलका पेले र रोमारियोले अफिसियल र अनअफिसियल खेलमा गरी एक हजार गोल पूरा गरेका छन् । फुटबल इतिहासमा तथ्यांक राख्न थालेपछि हजार गोल कसैले गरेका छैनन् । यदि यसको कोही नजिक छन् भने रोनाल्डो मात्रै हुन् । क्लब र राष्ट्रिय टोलीबाट समग्रमा उनले नौ सय ३७ गोल गरिसकेका छन् । पछिल्लो समय रोनाल्डो साउदी प्रो लिग अल नासरबाट खेलिरहेका छन् । यस सिजनमा उनले ३५ गोल गरेका थिए । यदि अल नासरमा उनी दुई वर्ष रहे, त्यति अनुपातमा गोल गरिरहँदा आधिकारिक रूपमा उनले एक हजार गोल पूरा गर्ने अनुमान गरिएको छ । दुई साताअघि उनले साउदी प्रो लिग छाड्ने संकेत गरेका थिए । तर, क्लबसँग उनको दुई वर्षको सम्झौता बाँकी छ । अल नासरले उनलाई कम्तीमा आउँदो दुई सिजनसम्म राख्ने योजना छ । यसका लागि क्लब जति पनि रकम खर्च गर्न तयार छ ।