१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ जेठ २४ शनिबार o८:५९:oo
Read Time : > 10 मिनेट
फिचर प्रिन्ट संस्करण

एउटा शरीरको अंग झिकेर अर्कोमा जोडिदिने डाक्टरको अनुभव

Read Time : > 10 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o८:५९:oo

नेपालमा अंग प्रत्यारोपणका १७ वर्ष

नेपालमा अंग प्रत्यारोपण सन् १९९८ देखि सुरु भएको मानिए पनि यसले सरकारी तवरबाट सन् २००८ देखि मात्रै लय लिन थाल्यो । सन् २००८ मा वीर र त्रिवि शिक्षण अस्पतालमा भएको अंग प्रत्यारोपणलाई पहिलो मान्दा यसले १७ वर्षे यात्रा पूरा गरेको छ । यही क्रममा सन् २०१३ मा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र्र स्थापनापछि अंग प्रत्यारोपणले अद्वितीय यात्रा गरिरहेको छ । कैयौँ मानिसले नयाँ जीवन पाइसकेका छन् भने कैयौँ नयाँ जीवन पाउने पर्खाइमा छन् । यो यात्राका मियो मानिएका डा. पुकारचन्द्र श्रेष्ठले नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरेसँग सुनाएको अनुभव यस्तो छ:

यसरी सम्भव भएको थियो नेपालमा अंग प्रत्यारोपण

नाेभेम्बर २००८ मा बेलायतबाट ६ वर्षपछि नेपाल फर्किएको थिएँ । नेपाल आएपछि वीर अस्पतालमा काम गर्न थालेँ, त्यतिवेला स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल हुनुहुन्थ्यो । मलाई नेपाल फर्कन उहाँले नै मद्दत गर्नुभयो र सरकारी प्रक्रिया सहज पारिदिनुभयो । वीर अस्पतालमा काम थालेपछि यहाँ अंग प्रत्यारोपण सफल हुन थालेको हो । केही वर्षअघि वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण प्रयास गरिए पनि सफल हुन नसकेको अवस्था थियो । नेपाल फर्किंदा नेपालमा पनि अंग प्रत्यारोपण सम्भव छ र ? यहाँ किन प्रत्यारोपण चाहियो ? सरकारी अस्पतालले प्रत्यारोपण गर्न सक्दैनन् भन्ने प्रश्न धेरै आए । म वीरमा आएपछि ट्रान्सप्लान्टका लागि बनाइएका युनिट सफा सुग्घर गर्ने, आवश्यक सामान किन्ने र थप व्यवस्थित बनाउने काममा म, सिनियर सर्जन विजयकुमार शर्मा, विश्वराज जोशी, एनेस्थेसियाका प्राडा. ब्रह्मदेव झा, नेफ्रोलोजिस्टद्वय डा. रजनी हाडा र डा. राजेन्द्र अग्रवाल लाग्यौँ । यो टिमबाट प्रत्यारोपण अघि बढेको थियो । 

डब्लुएचओको त्यो डरलाग्दो रिपोर्ट 

त्यतिवेला विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनमा लेखिएको थियो– नेपालजस्तो देशमा मिर्गाैला फेल भयो भने ९० प्रतिशतभन्दा बढी व्यक्ति केही महिनामै मर्छन् । यो रिपोर्ट निकै डरलाग्दो थियो । 

यसवेला वीरमा चार–पाँचवटा मात्रै डायलाइसिस मेसिन थिए । तर, डायलाइसिस गर्ने धेरै हुन्थे । पालो पाउन निकै कठिन थियो । डायलाइसिस सेवा भएका निजी अस्पताल निकै महँगा थिए । हुन त विदेशमा पनि अंग प्रत्यारोपण, डायलाइसिस महँगो नै हुन्थ्यो । 

यस्तो अवस्थामा नेपालमा प्रत्यारोपण कसरी थालौँ, कहाँबाट थालौँ, कसरी सम्भव होला भनेर अन्योलमा थिएँ । तर पनि सबैसँग छलफल गर्दै गएँ । यही क्रममा पहिलोपटक देशमा मिर्गाैला प्रत्यारोपण सुरु गर्दा विदेशबाट सिनियर कोही बोलाउन पाए सहज हुन्थ्यो भन्ने लाग्यो । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रोफेसर डा. सन्दीप गुलरियालाई बोलाउने निधो गर्‍यौँ । उहाँले हाम्रो आग्रह मान्नु पनि भयो । हामीले वीरमा अंग प्रत्यारोपण बनाउने योजना बनाउँदा टिचिङ अस्पतालमा पनि अस्ट्रेलियन चिकित्सकलाई बोलाएर प्रत्यारोपण अघि बढाइएको थियो । 

सुरुवातमै दुई सफल प्रत्यारोपण

वीर अस्पतालमा सुरुमा अंग प्रत्यारोपण गर्न डराउने अवस्था थियो । छुट्टै विभाग नभएकाले त्यतिवेला वीरको मुटुको अप्रेसन गर्ने थिएटरबाट प्रत्यारोपण सुरु गर्‍यौँ । डिसेम्बर २००८ मा पाटन अस्पतालमा काम गर्ने मेरो चिनजानकी एक नर्स दिदीको छोराको मिर्गाैला प्रत्यारोपण गर्‍यौँ । उहाँले डा. पुकारकै हातबाट छोराको अंग प्रत्यारोपण गराउँछु भन्नु भएकाले सहज भयो । होइन भने त्यतिवेला अंग प्रत्यारोपण गराउँछु भन्नै डराउँथे । नेपालमा अंग प्रत्यरोपण गराउनुहुँदैन भन्ने भाष्य थियो । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रा.डा. सन्दीप गुलेरियाको सहयोगमा उक्त प्रत्यारोपण सफल भयो । त्यही दिन दोस्रो प्रत्यारोपण सुनसरीदेखि आएका एकजना युवाले गराए । दोस्रो प्रत्यारोपणमा पनि डा. गुलेरियाबाटै सहयोग माग्यौँ । किनकि, हामी कुनै अप्रिय घटना नहोस् भन्ने चाहन्थ्यौँ । दोस्रो प्रत्यारोपण पनि मुटु विभागकै अप्रेसन थिएटरमा भयो । डा. गुलरियालाई मैले नजिकबाट सहयोग गरेँ । अन्य चिकित्सकले पनि सघाउनुभयो । यसरी एकपछि अर्को गरेर दुईवटा अप्रेसन एकैदिन सकियो ।

डा. गुलरिया अप्रेसन सकिएको भोलिपल्ट बिहानै फर्किएपछि सबै जिम्मेवारी मेरै काँधमा आयो । मैले दुवै प्रत्यारोपितको ड्युटी गरेँ । बेलायतमा ६ वर्ष प्रत्यारोपणसम्बन्धी अध्ययन र तालिम लिएको र कामको अनुभव हासिल गरेकाले म ढुक्क थिएँ । दुवै बिरामी पाँच दिनमै डिस्चार्ज भए । त्यतिवेला अंग प्रत्यारोपण गर्दा सुरुदेखि अन्तिमसम्मको सबै जिम्मेवारी आफैँ लिनुपर्ने बाध्यता थियो, अहिले धेरै सुधार भइसकेको छ । ती दुवै बिरामी डिस्चार्ज भएपछि वीरमा पत्रकार सम्मेलन गरियो । पत्रकारले बिरामीको नाम सोधे । तर, बेलायतमा काम गर्दा बिरामीको गोपनीयता राख्नुपर्छ भन्ने बुझेकाले नाम खुलाइएन । पत्रकार साथीहरूले चित्त बुझाउनुभएन र विवाद पनि भयो ।

एकै व्यक्तिको दोस्रो प्रत्यारोपण

सन् २०१२ मा एकजना यस्ता व्यक्ति आए, जसले भारत पुगेर मिर्गाैला प्रत्यारोपण गराएका रहेछन् । धादिङका ती व्यक्तिको प्रत्यारोपण गरेको दुई वर्षमै मिर्गाैलाले काम गर्न छाडेछ । उनी बैंकमा काम गर्थे । दुई वर्षमै मिर्गौला बिग्रिएपछि छटपटीमा थिए । पहिलोपटकको प्रत्यारोपणमै भएभरको पैसा सकाएका रहेछन् । दोस्रोपटक प्रत्यारोपण गराउन फेरि भारत जान सक्ने अवस्थामा थिएनन् । यही कारण उनी वीर अस्पताल आइपुगेका रहेछन् । यतिवेलासम्म पनि वीरमा अंग प्रत्यारोपणका निकै कम केस आउँथे । हामी फुर्सदमै हुन्थ्यौँ । महिनाको एक–दुईवटा मात्रै प्रत्यारोपण हुन्थे । मैले बेलायतका काम गर्दा एकै व्यक्तिलाई तीन–चारपटकसम्म मिर्गौला फेरेको छु । वीरमा आएका ती बिरामीको दोस्रोपटकको प्रत्यारोपण मेरो लागि नौलो थिएन । उनको प्रत्यारोपण सफल भयो र १३ वर्षसम्म काम गर्‍यो ।

प्रत्यारोपित मिर्गाैला शरीरले अस्वीकार गर्दा...

म वीरमै छँदा एकजना खोटाङका शिक्षक मिर्गाैला बिग्रिएर तड्पिँदै आइपुगे । त्यो सन् २००९ तिरकै कुरा हो । त्यो वेला प्रत्यारोपण गरेपछि जाँच्ने विधि, औषधि सेवन, त्यसको मात्रालगायतबारे पनि जाँच गर्न निकै कठिन थियो । बायप्सी जाँचका लागि भारत पठाउनुपर्ने अवस्था थियो । त्यसको रिपोर्ट आउन पनि सात–आठ दिन लाग्थ्यो । मिर्गाैला बिग्रिएर आएका ती शिक्षक २३ वर्षका मात्रै थिए । उनको मिर्गाैला प्रत्यारोपण त भयो तर काम गरेन । शरीरले अस्वीकार गर्‍यो । त्यसको कन्फर्म गर्न फेरि बायप्सी गर्नुपर्ने भयो । विकल्पमा औषधि त थियो, तर विष निकाल्ने प्रविधि (प्लाज्मा एक्सचेन्ज) हामीसँग थिएन । सुरुमा साधारण औषधि चलायौँ । तर काम गरेन । अनि बायप्सीका लागि भारतमा स्याम्पल पठायौँ । १० दिनपछि रिपोर्ट आयो, जसबाट कडा किसिमको रिजेक्सन भएको थाहा भयो । कडा किसिमको औषधि (एटिजी) चलाएपछि काम गर्‍यो । बिरामी निको भएर डिस्चार्ज भए ।

चारवटा नसा भएको प्रत्यारोपणको कठिनाइ

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा एक वर्षअघि एकजना बिरामीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । ती बिरामीको सिटी स्क्यान बाहिर गरेको रहेछ । निजी अस्पतालमा प्रत्यारोपण नगर्ने भन्दै हामीकहाँ आएका थिए । सिटी स्क्यानको रिपोर्टमा एउटा मात्रै नसा छ भन्ने उल्लेख थियो । तर, अप्रेसन गर्दा चारवटा नसा फेला पर्‍यो । मसिना चारवटा नसा जोड्न दुई घण्टा लाग्यो । यस्तो केसमा उच्च जोखिम हुने भएकाले निकै तनाव भएको थियो । तर, ती बिरामी ठिक भए र डिस्चार्ज भए । दुई वर्षअघि उपत्यकाकै अन्य कुनै अस्पतालमा यस्तै कम्लिकेसन भएर चिकित्सक भागेकोसमेत घटना सार्वजनिक भएको थियो ।

ब्रेनडेथ भएकाबाट पहिलोपटक मिर्गौला प्रत्यारोपण

वैशाख ०७४ मा चुनाव प्रचारप्रसारमा हिँडेका एक युवाको ब्रेनडेथपछि अंग प्रत्यारोपण गरेका थियौँ । तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट ब्रेनडेथका व्यक्तिका आफन्तलाई निरन्तर काउन्सिलिङ गर्दा परिवार मञ्जुर भएको थियो । दुईवटा मिर्गाैला दुईजनामा प्रत्यारोपण भयो । यो नै ब्रेनडेथबाट प्राप्त मिर्गाैला प्रत्यारोपणको पहिलो उदाहरण हो । ब्रेनडेथबाट मिर्गाैला प्रत्यारोपण गरिएका १५ वर्षे युवा स्नातक तह पढाइ सकेर स्नातकोत्तर गर्न विदेश जाने तयारीमा छन् भने ३२ वर्षीय वयस्क अहिले पनि स्वस्थ जीवन बिताइरहेका छन् ।

बिरामीले पैसा नतिरेको त्यो घटना...

सन् २०१० तिरकै कुरा हो । चितवनका एक युवाको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भयो । शिवरात्रिका दिन थियो । सबै कार्यालय बन्द थिए । ती बिरामीको प्रत्यारोपणका लागि पाँच लाखबराबरको औषधि किन्नुपर्ने भयो । बैंक बन्द भएका कारण पैसा निकाल्न सकिएन भन्दै बिरामीका आफन्तले अर्को दिन पैसा दिने भनी उधारोमा फार्मेसीमा औषधि दिलाइदिन भने । मैँ जमानी बसेर फार्मेसीमा भनिदिएँ । ती बिरामीको प्रत्यारोपण भयो । पाँच दिनसम्म पनि उनले त्यो पैसा तिरेनन् । त्यसका लागि अस्पताललाई डिस्जार्च नगर भन्न पनि मिलेन । ती व्यक्ति डिस्चार्ज भएपछि पैसा तिर्न कहिल्यै आएनन् । पछि मैले नै त्यो हिसाब मिलाएँ । कहिलेकाहीँ विश्वास गर्दा पनि झन्झटमा फसेको छु । 

प्रत्यारोपण गरेका पहिलो युवालाई जागिर लगाइदिएँ 

सन् २००८ मै नुवाकोटका १८ वर्षीय एक युवा र उनकी आमा अंग प्रत्यारोपणका लागि वीर अस्पताल आइपुगे । उनीहरू हेर्दै मायालाग्दा देखिन्थे । आमाले मिर्गाैला दिएर युवामा प्रत्यारोपण गरियो । यो अप्रेसनको मैले नै नेतृत्व गरेको थिएँ । तर, प्रत्यारोपणको तीन दिनपछि युवाको खुट्टामा रगत जम्यो । जमेको रगत मिर्गाैलासम्म पुग्यो भने मिर्गाैला नै ड्यामेज होला भनेर निकै डर लागेको थियो । अलि कडा किसिमको औषधि चलाएपछि ठिक भयो । मिर्गौला प्रत्यारोपण गरेका युवालाई पछि एउटा संस्थामा लगेर मैले नै काममा लगाइदिएँ । नियमित औषधि खानुपर्ने भएकाले सहज होस् भनेर काममा लगाइदिएको हुँ ।

प्रत्यारोपणपश्चात् निरन्तर रक्तस्राव भएपछि...

सुरुवाती चरणमा केन्द्रमा गरिएका केही प्रत्यारोपणपछि पनि पाँच–६ घण्टासम्म रक्तस्राव हुने गर्थ्यो । एक रात कहाँनेर गडबड भयो होला भनेर मैले रातभरि सोेचेँ । सोचेकोजस्तै रगत पातलो गर्ने औषधिमा समस्या भएको रहेछ । थोरै मात्रामा दिनुपर्ने औषधि अत्यधिक मात्रामा दिएपछि समस्या भएको रहेछ । औषधिको मात्रा मिलाउनेबित्तिकै समस्याको सामाधान भयो । बिरामी डिस्चार्ज भएर गए । यो अनुभवबाट हरेक तहको व्यवस्थापन त्यत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सिद्ध भयो । 

ब्रेनडेथको मिर्गाैला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण 

हालै हामीले एउटा नयाँ रेकर्ड बनाएका छौँ । सडक दुर्घटनामा परी ब्रेनडेथ भएका १८ वर्षीय युवाको परिवारसँग अंगदानका लागि मञ्जुरी गराउन निकैबेरको अनुरोधपछि सम्भव भयो । देशमै पहिलोपटक मस्तिष्क मृत (ब्रेनडेथ) व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गर्न करिब २० घण्टा लागेको थियो । यस्तो उदाहरण संसारमै बिरलै पाइन्छ । हेटौँडाका ५० वर्षीय शिव महर्जनले कलेजो र मिर्गौला पाए भने अर्की एक ४२ वर्षीया महिलाले मिर्गौला पाइन् । जटिल प्रक्रिया, अनगिन्ती परीक्षण र निरन्तर चिकित्सकीय निगरानीपछि मात्र प्रत्यारोपण सफल भएको हो । देशकै पहिलो मस्तिस्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मिर्गाैला प्रत्यारोपण २८ वैशाख ०७४ र मस्तिस्क मृत्यु भएको व्यक्तिबाट प्राप्त कलेजो कात्तिक ०७५ मा प्रत्यारोपण गरिएको थियो । 

गैरनातेदारबिच आपसी अंग साटासाटबाट प्रत्यारोपण 

प्रत्यारोपण ऐन संशोधन ०७२ मा कुनै नातेदारबाट अंग लिन–दिन खोज्दा ‘म्याचिङ’ भएन भने त्यस्तै समस्या भएको अर्को परिवारसँग लिन–दिन सकिने भयो । नाता नपर्ने गैरनातेदारबिच पनि साटासाट गरेर अंगदान र प्रत्यारोपण गर्ने व्यवस्था भएपश्चात् देशकै पहिलो पियर एक्सचेन्ज मिर्गाैला प्रत्यारोपण १२ साउन ०७३ मा गरियो । हालसम्म ५२ जोडी गैरनातेदारले अंग साटासाट गरी मिर्गौला प्रत्यारोपण गराइसकेका छन् ।

कानुनमा झमेलै झमेला 

सुरुवातदेखि नै अंग प्रत्यारोपणमा कानुनी समस्या र झमेला थियो । कानुन संशोधन गर्न सबैसँग हारगुहार गर्दागर्दा आठ वर्ष लाग्यो । सबै सांसद तथा नीति निर्माण तहका व्यक्तिलाई एक–एक गरी भेटेर विभिन्न अंग प्रत्यारोपण तथा ब्रेन डेथबाट अंग प्रत्यारोपणबारे जानकारी गराएँ । कानुन निर्माणमा सहयोग गरिदिन अनुरोध गरेँ ।

सरकारीमा प्रत्यारोपण भएको देख्न नसक्नेहरू 

नेपाल फर्किंदा यहाँको राजनीतिक अवस्था निकै अस्तव्यस्त थियो । देश द्वन्द्वको चपेटामा थियो । १८ घण्टा लोडसेडिङ र बन्द हडतालको हैरानी थियो । खानेपानी र बाटोघाटोको उस्तै दुरवस्था थियो । त्यस्तो अवस्थामा पनि नेपालमै काम गर्नुपर्छ, मैले सिकेको र पढेको विज्ञतालाई यहीँ प्रयोग गर्नुपर्छ, नेपालीको ज्यान बचाउनुपर्छ भन्ने निधोसहित नेपाल फर्किएँ । तर, कतिपयले नेपाल फर्केपछि बेलायतमा काम नपाएर आएछ, सिक्न त आएको होला भन्ने जस्तो प्रश्न गर्थे । यहाँ फर्किएकोमा मलाई कहिल्यै कुनै पछुतो लागेन । त्यतिवेला नेपालमा अंग प्रत्यारोपण भएको देख्न नचाहने, त्यसमा पनि सरकारी अस्पतालमा सुरु हुन दिनैहुँदैन भन्ने स्वार्थी समूह पनि थिए । तर, मलाई लाग्यो, अंग प्रत्यारोपण सेवा त सरकारीमा पो हुनुपर्छ, यहाँ भयो भने सर्वसाधारणको बलबुताले भ्याउँछ । 

प्रत्यारोपण ९९ प्रतिशत सफल 

संसारका मै हुँ भन्ने देशमा जस्तै हाम्रोमा पनि अंग प्रत्यारोपण सफल छ । हामीकहाँ प्रत्यारोपण इतिहास ९९ प्रतिशत सफल छ । केन्द्रमा सन् २०१३ देखि अंग प्रत्यारोपण सुरु भयो । सुरुवाती केसमा वीरकै टिम ल्याएर काम गरेँ । त्यसपछि यहीँको टिम पोख्त हुँदै गयो । यही क्षेत्रमा अहोरात्र खटिँदा म बिरामीसँग नजिक भएँ । चिनजान बढ्यो । मेरो अंग प्रत्यारोपण गर्ने यही रहेछ भन्ने धेरैलाई भयो । त्यसले मलाई स्थापित हुन मद्दत पुग्यो । अंग प्रत्यारोपणसम्बन्धी हाम्रा धेरै पूर्वाधार विकास र विस्तार गर्न बाँकी छ । 

यसरी सफल भएको थियो कलेजो प्रत्यारोपण 

कलेजो प्रत्यारोपणबाटै मैले बेलायतमा तालिम सुरु गरेको थिएँ । त्यहाँ बे्रनडेथसम्बन्धी धेरै काम हुन्थ्यो । नेपालमा पनि ब्रेन डेथबाट कसरी अंग प्रत्यारोपण गर्ने भन्ने भइरहेको थियो । तर, गर्दै जाँदा सम्भव पनि हुने रहेछ भन्ने लाग्यो । नेपाल फर्किएपछि मिर्गौला प्रत्यारोपण बढी गरियो । तर, कलेजो प्रत्यारोपण पनि गर्न पाए हुन्थ्यो भन्ने लागिराखेको थियो । मिर्गाैला प्रत्यारोपण स्थापित भएपछि कलेजोमा पनि अब अब्बल हुनुपर्छ भन्ने लागेर काम थालेँ ।

सन् २०१६ मा मैले कलेजो प्रत्यारोपण गर्ने भनेर सबैजसो उपकरण किनेँ । सन् २०१६ मै कलेजो प्रत्यारोपणसम्बन्धी सिंगापुरमा एउटा कन्फेरेन्स थियो । त्यहाँ पनि गएँ । यही क्रममा दक्षिण कोरियाका सर्जन डा. डेबिट क्वानसँग भेट भयो । उनले नेपालमा कलेजो प्रत्यारोपणबारे मलाई सोधे । नेपालमा अझै सुरु हुन सकेको छैन, तपाईंले सहयोग गर्ने भए थाल्छौँ भनेँ । उनले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यतिवेला स्वास्थ्यमन्त्री गगन थापा हुनुहुन्थ्यो । कलेजो प्रत्यारोपणबारे कानुन बनाउनेबारे पहल भइरहेको थियो । सर्जन क्वानको टिम कलेजो प्रत्यारोपणका लागि सहयोग गर्न आउँदै थियो । तर, यता मन्त्रिपरिषद्बाट नियामावली, कार्यविधि र मापदण्डसम्बन्धी कुनै निर्णय हुन सकेको थिएन । पटक–पटक पहल गर्दागर्दा क्वानको टिम आउनुभन्दा दुई दिनअघि मात्रै कानुन बन्यो । त्यसपछि कलेजो प्रत्यारोपणको बाटो खुल्यो । कलेजो प्रत्यारोपणको पहिलो सर्जनको रूपमा मैले लाइसेन्स लिएँ । क्वानको टिम आएपछि भक्तपुर सूर्यविनायकका एक युवामा कलेजो प्रत्यारोपण भयो । उक्त प्रत्यारोपण सफल भयो । प्रत्यारोपणको दोस्रो दिन सर्जन डा. क्वानको टिम स्वदेश फर्कियो । त्यो टिम गएपछि कलेजो प्रत्यारोपण गरेका बिरामीको रगतको प्रवाहमा समस्या देखियो । विदेशी सहयोगमा भएको पहिलो कलेजो प्रत्यारोपण असफल होला भन्ने निकै डर भयो । त्यतिवेला हामीसँग सिटी स्क्यान थिएन । नजिकैको क्यान्सर अस्पतालमा लगेर सिटी स्क्यान गरायौँ । रगतको नसा (आर्टरी) मा रगत जमेको देखियो । कलेजो प्रत्यारोपणमा यो सबैभन्दा गम्भीर जटिलता हो । सर्जन क्वानलाई यसबारे जानकारी गराएँ । उनले आउँछु समेत भने, तर नआउनुस् हामीलाई गाइड गर्नुस् भन्यौँ । मुटुको शल्यचिकित्सक डा. मोहनदेव भण्डारी र मेरो प्रयासमा रगतको नसा सफा गरेपछि बिरामी ठिक भएर डिस्चार्ज भए ।

सन् २०१७ मा ब्रेन डेथबाट आएको कलेजो प्रत्यारोपण आफैँले लिड गरे । बेलायतमा सिकेको एउटा मुख्य विषय ब्रेन डेथबाट प्रत्यारोपण पनि हो । एउटा ब्रेन डेथबाट आठवटा अंग प्राप्त हुन्छ । त्यसका लागि नेपालमा अंग लिने–दिनेमा जनचेतना फैलाउन आवश्यक छ । जनशक्ति र पूर्वाधार बलियो बनाउनुपर्छ । अंग निकाल्ने, राख्ने, औषधि चलाउने, काउन्सिलिङ गर्ने, सर्जरी गर्ने, केयर गर्ने, हरेक विभाग फरक–फरक हुन्छ । तर विडम्बना, अंगदाताको परिवारलाई बुझाउनेदेखि, कानुन बनाउने र प्रत्यारोपण गर्नेसम्ममा डाक्टरले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।  

कानुन संशोधनको कसरत 

मानव अंग प्रत्यारोपणसम्बन्धी ऐन ०५५ सालमै बनेको थियो । तर, त्यसमा धेरै सीमितता थिए । प्रत्यारोपण सेवा सञ्चालन गर्दै जाँदा कानुनी प्रावधान संशोधनको खाँचो झन् बढेको महसुस गर्दै गयौँ । मुख्यतः मिर्गौला प्रत्यारोपणमा अंगदाताको दायरा अत्यन्तै साँघुरो थियो । जम्मा १०–१२ जना नातेदारले मात्रै अंगदान गर्न पाउँथे । कानुनबमोजिमको नाताबाट मिर्गौला पाउन सकिएन भन्ने गुनासो बिरामीबाट धेरै आइरहेको थियो । अरू मुलुकले अभ्यास गरिरहेको ‘पेयर्ड एक्सचेन्ज’को व्यवस्था नेपालमा थिएन । त्यो भनेको कुनै परिवारमा एक सदस्यले अर्को सदस्यलाई मिर्गौला दिन खोज्दा ‘म्याचिङ’ भएन भने त्यस्तै समस्या भएको अर्को परिवारसँग लिन–दिन सकिने प्रावधान हो । यसले दाता नपाउने समस्यालाई केही हदसम्म टार्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा मस्तिष्क मत्यु (ब्रेन डेथ) भएको व्यक्तिबाट अंग निकालेर प्रत्यारोपण गर्नु हो । नेपालमा सडक दुर्घटनाबाट धेरैको मस्तिष्क मृत्यु हुने गर्छ । म बेलायतबाट फर्केदेखि नै ब्रेन डेथ व्यक्तिको अंगदानका विषयमा निरन्तर वकालत गरिरहेको थिएँ । विदेशबाट विज्ञ बोलाएर पनि कार्यशाला गोष्ठी गर्दै आएको थिएँ । त्यत्तिकै खेर जाने अंग अर्को कुनै व्यक्तिको ज्यान बचाउन उपयोग होस् भन्नेमा मेरो जोड हुन्थ्यो । तर, त्यस्तो अंग दान र प्रत्यारोपणका लागि कानुनी व्यवस्था थिएन ।

मैले कानुन संशोधनको आवश्यकताका विषयमा स्वास्थ्यमन्त्री र सचिवसँग कुरा राखेँ । उहाँहरूकै पहलकदमीमा प्रस्ताव मन्त्रिपरिषद् पुग्यो र ऐन संशोधन विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति मिल्यो । त्यसपछि स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले मस्यौदा समिति बनाएर काम अघि बढाउने जानकारी दिँदै त्यसमा मुख्य भूमिका निर्वाह गर्न मलाई भन्नुभयो । यो सन् २०१३ तिरको कुरा हो । समितिले छलफलमा स्वास्थ्य मन्त्रालयलाई बोलाएको वेला म पनि गएँ । बैठकमा एक सांसदले ‘डाक्टर साब, कार्यकर्ताले पनि अंगदान गर्ने प्रावधान राख्नुपर्‍यो, यहाँ भएका नाताभन्दा त हाम्रा कार्यकर्ता नजिक हुन्छन् भन्नुभयो । उहाँले व्यंग्य गरेको हो कि साँच्चै भन्नुभएको हो, मैले ठम्याउन सकिनँ । मैले माननीयज्यू, त्यसो नभनौँ । कार्यकर्ताबाट अंग दिने व्यवस्था गर्‍यो भने कुनै बन्धन रहँदैन । सबै नेपालीको कोही न कोहीको कार्यकर्ता हुन्छन् । यसले अंग बेचबिखन हुन्छ र देशकै शिर निहुरिने उत्तर दिएँ ।

विधेयक संसद्मा करिब दुई वर्ष रुमल्लियो । यसबिच म विभिन्न छलफल, अन्तरक्रिया र प्रशासनिक कामका लागि करिब ५० पटकजति संसद् भवन धाएँ होला । कतिपय सांसदलाई त घरमै गएर पनि भेटेँ । प्रशासनिक काममा तत्कालीन लेखा समिति सचिव सोमबहादुर थापाले निकै सहयोग गर्नुभयो । उहाँ आफैँ मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हुनुहुन्छ । ‘तपाईंसँगै प्रत्यारोपण गर्न भक्तपुर गएको थिएँ, भेट नभएपछि मैले कोलकाता गएर प्रत्यारोपण गराएँ,’ उहाँ भन्नुहुन्थ्यो । व्यवस्थापिका संसद्भित्रका प्रक्रियागत चरण पार गरेर विधेयकले बल्ल सन् २०१५ मा ऐनको रूप लियो । यसले ५२ नाताभित्रबाट अंगदान गर्ने बाटो खुलायो ।

नि:शुल्क प्रत्यारोपण र डायलाइसिस 

मिर्गौला उपचार अत्यन्तै महँगो सेवा हो । अधिकांश नेपालीको पहुँचभन्दा बाहिर रहेकाले नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने तथा बिरामीलाई हडताल गर्नसम्म साथ नदिएको पनि होइन । फलस्वरूप विभिन्न कालखण्डका सरकारबाट पहिला डाइलाइसिस आंशिक नि:शुल्क, पछि पूर्ण नि:शुल्क तथा मिर्गौला प्रत्यारोपणसमेत पूर्ण रूपमा नि:शुल्क भएको अवस्था छ । अब यी सेवा देशभर विस्तार गरी सबैको पहुँचभित्र ल्याउन प्रयास भइरहेको छ । 

र आजसम्म आइपुग्दा... 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट प्रशिक्षित जनशक्तिबाट देशभरका कुनाकाप्चामा समेत डायलाइसिस सेवा विस्तार भई १०० भन्दा बढी केन्द्रबाट सेवा प्रवाह भइरहेको छ । मिर्गाैला प्रत्यारोपण सेवा सात प्रदेशमध्ये चारवटामा उपलब्ध छ । बाँकी तीन प्रदेशमा पनि प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी छ । स्थापनाको १३ वर्ष पुग्दानपुग्दै यस केन्द्रले देशकै दुईतिहाइ अर्थात् एक हजार ४३४ जनाको मिर्गाैला र ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा उपचाररत मिर्गाैला फेल भएका रोगीहरू डायलाइसिसबाट ९३ प्रतिशत तथा प्रत्यारोपणबाट ९८ प्रतिशत बाँचिरहेका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरू तथा पुष्पकमल दाहाल प्रचण्डलगायत दुई हजार ६ सयभन्दा बढीले मृत्युपश्चात् अंगदानको घोषणा गरिसक्नुभएको छ । अंगदान तथा प्रत्यारोपण अभियानमा यस केन्द्र तथा केन्द्रका कर्मचारीको योगदान अतुलनीय छ ।