
प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–२, सेलिलिङबाट ठुलो परिणाममा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा धनकुटा र मोरङको सीमा क्षेत्रबाट शुक्रबार राति ८९० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए। धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङबाट प्र. १–०२–००२ च ५२३८ नम्बरको पिकअप भ्यानभित्र २९ वटा बोरामा प्याक गरेर मोरङ केराबारीतर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित १९ वर्षीय उल्लास लिम्बूलाई पक्राउ गरिएको डिएसपी खनालले बताए।
लागुऔषध गाँजा लैजाँदै गरेको सूचनाको आधारमा ओख्रे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको संयुक्त टोलीले गाँँजासहित लिम्बूलाई नियन्त्रणमा लिएको थियो। गाडीचालक भने फरार रहेका छन्। घटनास्थलबाट प्रहरीले को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।