
उहाँको त्यो प्रश्न सुनेपछि म एकछिन छक्क परेँ । उहाँको उमेर सम्भवत: मेरो बुबाभन्दा पनि बढी थियो, तर उहाँले सोध्नुभएको प्रश्न सामान्य थिएन । त्यो प्रश्न, मेरो लागि, एउटा सोचको प्रतिनिधित्व थियो– एक यस्तो सोच, जसले महिनावारी भएकी महिलालाई अछुत ठान्छ, छुट्टै बस्न बाध्य बनाउँछ र महिनावारीलाई फोहोर तथा अपवित्र मानेर व्यवहार गर्छ ।
त्यो क्षण म मौन रहेँ । जवाफ दिन आवश्यक ठानिनँ, तर भित्रभित्रै गहिरो सोचमा डुबें । आज पनि हाम्रो समाजमा महिनावारी ‘छुई-नछुई’ को विषयकै रूपमा बुझिन्छ । त्यो दिन मैले महसुस गरेँ– औपचारिक शिक्षा प्राप्त गरेका र शिक्षाबाट वञ्चितहरूबीच महिनावारीप्रतिको सोचमा खासै अन्तर छैन ।
त्यस घटनाको केही दिनपछि मात्रै मलाई थाहा भयो कि राधा फाउन्डेसनले मर्यादित महिनावारीसम्बन्धी तालिम सञ्चालन गर्दैछ। मैले आवेदन दिएँ र चितवनमा आयोजित चार दिने प्रशिक्षणमा सहभागी हुन पाएँ । तालिमले मलाई महिनावारी विषयमा गहिरो समझ दियो—एक यस्तो विषय, जुन मैले पहिले गम्भीर रूपमा सोचेकै थिइनँ, तर जुन हरेक किशोरी, महिला र आमाको जीवनसँग गहिरो रूपमा गाँसिएको छ।
तालिमपछि मैले आफ्ना अनुभवहरूलाई पुनः सम्झिएँ। ती भोगाइलाई आधार बनाएर यो लेख तयार पारेकी हुँ– महिनावारीबारेको सामाजिक सोच, व्यवहार र आवश्यक परिवर्तनको आवश्यकतालाई उजागर गर्न ।
महिनावारीको पहिलो सम्झना
महिनावारी शब्द पहिलो पटक ८ वर्षको उमेरमा सुनेँ, जब आमा महिनावारीमा हुनुहुन्थ्यो । त्यस दिन उहाँले थोत्रो ओछ्यान भुइँमा बिछ्याउनुभयो, पुराना लुगा लगाउनुभयो, खाना पनि छुट्टै खाउनुभयो– अरूले थालमा परोसीदिएपछि मात्र ।
चार दिनसम्म उहाँ सबैभन्दा टाढा, एक्लै बस्नुभयो। पाँचौं दिन स्नान गरेपछि 'चोखिनुभयो रे' भन्ने भनाइ सुनिन्थ्यो । मेरा लागि त्यो प्रक्रिया असामान्य थिएन– किनभने त्यो महिनैपिच्छे दोहोरिन्थ्यो । पछि बुबाकी दिदीको महिनावारी र मेरो महिनावारी एउटै चक्रमा जुर्न थाल्यो । तर आमाको चक्र २५ दिनमा फर्किन्थ्यो।
सेतो पोशाक र महिनावारीको डर
विद्यालयमा मंगलबार र शुक्रबार सेतो पोशाक अनिवार्य थियो। त्यो पोशाक महिनावारी हुने बेला मेरो लागि डरको प्रतीक बन्यो। "कहीं रगत देखियो भने ?" भन्ने चिन्ताले सास अड्किन्थ्यो ।
एक दिन चौँथोँ घण्टीको समयमा म पानी खान उठ्दा मेरी साथीले फुसफुसाउँदै भनिन्, “तिमीलाई पिरियड्स भएछ, पछाडि रगत लागेको छ।” १४ वर्षको उमेरमा यो सुनिदा, मलाई ठूलो अपराध गरेजस्तो लाग्यो। लाज, डर र आत्मग्लानीले म चुपचाप घर फर्किएँ त्यो दिन मेरो कक्षा अधूरै रह्यो।
महिनावारीका यस्ता अनुभवले मेरो आत्मविश्वासलाई बारम्बार चोट पु¥यायो। महिनावारीको रगत न अपराध हो, न त लाजको विषय। तर त्यतिबेला मलाई लाग्थ्यो, सानो रगतको दागले मेरो सम्पूर्ण अस्तित्वलाई कलंकित बनायो ।
छाउँगोठ सहरमा पनि
महिनावारी विभेद भनिँदा हामी सुदूरपश्चिमका छाउँगोठ सम्झन्छौं—काठको झुपडी, अँध्यारो कोठा । तर सहरमा पनि छाउँगोठ छन्, तर ती देखिँदैनन् । ती सोच र व्यवहारमा बनेका छाउँगोठ हुन् ।
आज पनि सहरमा महिलालाई महिनावारी हुँदा पूजामा निषेध गरिन्छ, भान्सामा जान दिइँदैन । कतिपय पसलहरूमा ‘महिनावारी भएकी महिलाले प्रवेश नगर्नुहोस्’ भन्ने चेतावनी दिइन्छ । छाउँगोठ अब काठको होइन, मानसिक जेल बनिसकेको छ ।
पूर्वाधारको अभाव
ठूला भवन, अस्पताल, विद्यालय, होटल जहाँ चाह्यो त्यहाँ सिगरेट कक्ष, बार हुन्छन् । तर महिनावारी भएका व्यक्तिका लागि न त प्याड कक्ष छ, न आराम कक्ष। महिनावारी प्याड आज पनि कालो प्लास्टिकमा बेरेर दिनुपर्ने किन ?
महिनावारी कुनै लाजको विषय होइन । म आज देवी मन्दिर जान्छु, भान्सामा पसी काम गर्छु, उत्सव मनाउँछु। किनभने म बुझ्न थालेकी छु– महिनावारी हुने शरीर अशुद्ध होइन । यदि हो भने, कामाख्या, दुर्गा, कालीजस्ता देवीहरू महिनावारीकै प्रतीक हुन्, र पूजनीय पनि ।
कार्यस्थलमा महिनावारीमैत्रीता छैन
पत्रकारिता बौद्धिक र विवेकशील भनिए पनि कार्यस्थल अझै महिनावारीमैत्री छैन । महिलाका लागि न त प्याड कक्ष छ, न विश्रामको व्यवस्था । हामी सधैं पीडा लुकाएर काम गरिरहेका छौँ ।
महिनावारी फरक–फरक व्यक्तिमा फरक प्रकारले देखिन्छ। कोही सहजै बिताउँछन्, कोही प्रसवपीडाजस्तै दुखाइ झेल्छन् । तर कामको दबाब, विभेदपूर्ण व्यवहार र मौनता अझै हाम्रो नियति बनेको छ।
अब समय आएको छ– जहाँ कार्यालयहरू महिनावारीमैत्री बनून्, विश्रामकक्ष, पोषणयुक्त खाना, लचिलो समय र खुला संवादको व्यवस्था होस् । मर्यादित महिनावारी अब सामाजिक माग मात्र होइन, कार्यस्थलको दायित्व हो।
मर्यादित महिनावारी
महिनावारी एक प्राकृतिक जैविक प्रक्रिया हो । यो स्वास्थ्यको सूचक हो, न कि अपवित्रताको । तर हाम्रो समाजमा अझै पनि महिलालाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अलग गरिन्छ ।
‘मर्यादित महिनावारी’ भन्नाले महिनावारी भएका व्यक्तिलाई सामान्य समयझैँ व्यवहार गर्नुपर्ने, धार्मिक, सामाजिक गतिविधिबाट रोक लगाउनु नपर्ने अवस्थालाई जनाइन्छ। यसले महिला अधिकार, सम्मान र गरिमाको रक्षा गर्छ।
महिनावारी सबैको सरोकार
मानिन्छ, महिनावारीको विषय महिलासँग मात्र सम्बन्धित छ । तर यो सोच गलत हो । महिनावारी नहुने पुरुष पनि दिदी, बहिनी, श्रीमतीको महिनावारी अनुभवसँग प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावित छन्।
राधा फाउन्डेसनको तालिममा सहभागी पुरुष पत्रकारहरूले पनि आफ्ना अनुभव बाँडे—कसरी उनीहरू धार्मिक कार्यमा सहभागिता जनाउनबाट रोकिए, वा कसरी दिदीबहिनीको महिनावारीमा मानसिक तनाव अनुभव गरे ।
महिनावारी सबैको सरोकार हो। किनभने यही महिनावारीकै कारण हामी सबै संसारमा आएका हौं।
थाहै नपाई थिचिएको संवैधानिक अधिकार
नेपालको संविधान २०७२ अनुसार महिनावारी विभेदले कम्तीमा ११ वटा मौलिक अधिकार हनन गर्छ—जसमा सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रता, समानताको हक, छुवाछुत विरुद्धको हक, स्वास्थ्य, शिक्षा, खाद्य र आवास सम्बन्धी हक, महिला तथा बालबालिकाको हक समावेश छन् । महिनावारी विभेदले न केवल व्यक्तिको गरिमा घटाउँछ, यो संवैधानिक अधिकारको समेत उल्लंघन हो ।
निष्कर्ष
महिनावारी अब पनि लाज, अपवित्रता र मौनताको विषय बनिरहेको छ। समाज, शिक्षा, पूर्वाधार र कार्यस्थलहरू अझै महिनावारीमैत्री छैनन् । अब हामीले प्रश्न उठाउनुपर्छ:महिनावारी किन लाज हो ?, किन महिलालाई त्यो समयमा छुट्याइन्छ ? र सबैभन्दा महत्वपूर्ण–अब कहिले हामी महिनावारीलाई सामान्य मान्नेछौं ? मर्यादित महिनावारी कुनै 'बृहत आन्दोलन' मात्र होइन– यो हाम्रै जीवनको, आत्मसम्मानको र अस्तित्वको कुरा हो।