
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओेवादीमय बनेको दाबी गरेका छन् । २ जेठबाट पार्टीले सुरु गरेको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको समापनका अवसरमा पोखरामा शनिबार आयोजना गरिएको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
पार्टीले जनतालाई पार्टीसँग जोड्ने, आफूलाई रुपान्तरण गर्ने र देशलाई एउटा सन्देश दिने उदेश्यका साथ अभियान सुरु गरेको र अभियान पार्टीले सोचेभन्दा धेरै सफल भएको भन्दै प्रचण्डले अभियान माओवादीको मात्र नभै आमजनताको सँगै सबैको सझा अभियान बनेको दाबी गरेका थिए ।
अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले माओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादी र प्रचण्डमय भएको अनुभव गरेको बताए ।
तराई मधेस हुलाकी मार्ग र मध्य पहाडी मार्ग अभियानका क्रममा आफूलाई भेट गरेका वृद्धवृद्धा, युवायुवती र बालबालिकाले देश एकपटक माओवादीमय बनेको हेर्न चाहेको बताएको उनले बताए । ०६४ मा जसरी देश माओवादीमय भएको थियो त्यस्तै गरि आफूले यसपटक अनुभव गरेको प्रचण्डको भनाइ थियो । ‘जनतालाई बुझाउन सक्यौं भने आउँदो एक वर्षमा देशसिंगै माओवादीमय बन्ने र ०८४ को निर्वाचनमा पार्टी पहिलो नम्बरमा आउने छ,’ उनले भने ।
फरक प्रंसगमा प्रचण्डले देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको र वर्तमान संविधानले देशमा स्थिरता नदिने र आर्थिक समृद्धीलाई अघि नबढाउने भएकाले यसलाई संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । आफूहरूको सुरुदेखिकै अडान प्रत्यक्ष निर्वाचित कार्यकारी हो । तर कांग्रेस र एमालेले नमानेका कारण त्यो पूरा हुन नसकेकोले निर्वाचन प्रणालीलाई पनि संसोधन गर्न आवश्यक रहेको बताएका थिए । देशमा नयाँ संविधान जारी भएको १० वर्ष भएको अब यस्को समीक्षा गर्ने समय आएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा प्रचण्डको जोड थियो ।
अर्को प्रसंगमा प्रचण्डले भष्टाचारी, दलाल पुँजिपतीहरू, सामन्तवादीहरूको षडयन्त्रका कारण आफू नेतृत्वको सरकार ढलेको भन्दै प्रचण्डले अब देशमा सबै एक भएर दलाल पुँजीवादका विरुद्ध, भष्टाचारका विरुद्ध, समाजिक विभेदका विरुद्ध, समाजिक न्यायका विरुद्ध काम गर्न र लड्न आवश्यक रहेकाले यसका लागि तयार हुन पार्टीका नेता कार्यकर्तासँगै अन्य सबैलाई आग्रह गरेका थिए ।
बैतडीको पाटनबाट सुरु, पोखरामा सम्पन्न
सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट २ जेठमा सुरु भइको ९ दिने मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान पोखरा आएर शनिबार सम्पन्न भएको हो । २३ पुस ०८१ मा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग र मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार तराई मधेश हुलाकी मार्ग केन्द्रित अभियान १२ फागुन ०८१ मा झापाबाट सुरु भएर १७ वैशाख ०८२ मा कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।
पहिलो अभियान सम्पन्नसँगै पार्टीले २ जेठबाट मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गरेको थियो । दोस्रो चरणको अभियान बैतडीको पाटन नगरपालिकामा निर्माण गरिएको स्मारकको उद्घाटन गरी सुरु गरिएको थियो ।
बैतडीको पाटनबाट सुरु अभियान रुकुमपूर्व, डोटी जिल्लाको दीपायल, अछाम जिल्लाको मंगलसेन, अछामको साँफेबगर, कर्णालीको राकम, दैलेखको कोत गढी, जाजरकोट खलंगा, जाजरकोटको भेरी, रुकुमपूर्व, थबाङ, चौरजाहरी, रुकुम, रोल्पा, म्याग्दीको गलकोट, बागलुङको कुश्मा, बागलुङको ताराखोला, पर्वतको नयाँपुल लगायतका स्थान हँुदै कास्की आएर शनिबार जन सम्वाद कार्यक्रम गरि सम्पन्न भएको हो ।
अभियानका क्रममा जिल्ला जिल्ला पुगेको टोलीले विभिन्न स्थानमा जनसभा, सर्वपक्षीय अन्तरसंवाद, बाग्लुङको ताराखोलास्थित डन्ठुमा सहिद बेपत्ता योद्धा स्मृति पार्क उद्घाटन एवं शालिक अनावरण, सहिद सन्ततिसँग भेटघाटलगायतका कार्यक्रम माओवादीले आयोजना गरेको थियो ।