१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १३:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चेतना फैलाउन गाउँका विद्यार्थी पढाउँदै अछाम प्रहरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

साइबर सुरक्षा, लैंगिक हिंसा र लागुऔषध दुर्व्यसनीबारे समुदायमा चेतना फैलाउन अछाम प्रहरीले यहाँका विद्यालयहरूमा कक्षा सुरु गरेको छ। विद्यार्थी र अभिभावक दुवैको उपस्थितिमा कक्षा सञ्चालन हुने गरेको हो।

समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाका एक हजार चार सय बढी स्थानीयलाई सचेतीकरण गरेपश्चात् विद्यार्थी र अभिभावकलक्षित कक्षा सुरु गरेको प्रहरीले साइबर अपराध नियन्त्रणसँगै लैंगिक हिंसाअन्तर्गत बालविवाह, बहुविवाह, छाउपडी, आत्महत्या रोकथाम, यौन दुर्व्यवहार  र लागुऔषध दुर्व्यसनीविरुद्धको कानुनी व्यवस्थाबारे जानकारी गराउने गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार समुदायमा सकारात्मक सन्देश फैलाएर अपराध नियन्त्रणगरी हिंसा घटाउने उद्देश्यले जिल्लाभरका विद्यालयहरूमा कक्षा सञ्चालन गर्ने लक्ष्य छ। उनका अनुसार अहिलेसम्म १३ वटा विद्यालयका ९३० बढी विद्यार्थी र उनीहरूका अभिभावकलाई कक्षा दिइएको छ।

कक्षामा अपराध, यसको परिचय, किसिम, लैंगिक हिंसा, बाल दुर्व्यवहार, बालश्रम, लागुऔषध, आधारभूत सुरक्षा, सडक सुरक्षा, साइबर अपराध तथा सुरक्षा, आधारभूत कानुन तथा मानव अधिकार र असल अभिभावकत्वबारे जानकारी दिने गरिएको छ।

अछामको मेल्लेख गाउँपालिका–५, विन्दबासिनीस्थित जनता नमुना प्राविधिक माविमा सञ्चालित कक्षामा प्रशिक्षण दिदै डिएसपी भण्डारीले विद्यार्थीलाई अपराध, कानुन र सुरक्षाबारे जानकारी गराउँन सके मात्रै समाजमा विकृति विसंगति धेरै हदसम्म हट्ने बताए । ‘विद्यार्थी आफैँ सचेत हुन्छन् । अभिभावकलाई पनि सचेत गराउँछन्,’ उनले भने, ‘किशोरावस्था जोखिमको समय हो। सही र गलत बाटोमा लाग्ने उमेर यही भएकाले यही वेला नै सचेत गराउन आवश्यक छ।’ उनले सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा करिब दशवटा अन्य विद्यालयमा पनि यस्तो कक्षा सञ्चालन गरिने बताए।

मेल्लेख–५ का वडाध्यक्ष प्रकाशबहादुर अधिकारीले टोलमै प्रहरी पुगेर दिइने यस्तो कक्षाले अपराध नियन्त्रण तथा हिंसा रोकथाम हुने विश्वास व्यक्त गरे। ‘विद्यालयमा नियमित विषयहरू त पढाउँदै आएका छौँ, बुझाउँदै आएका छौंँ। यस्ता विषयबारे जानकारी गराउँदा अझ बढी प्रभावकारी हुन्छ ।’ शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुरेन्द्र बजगाइँले बालबालिकालाई असल अभिभावकत्व प्रदान गर्न सके साइबर सुरक्षा, लैंगिक हिंसा र लागुऔषध दुर्व्यसनीबारे उनीहरू नै अग्रसर भएर लाग्ने बताए।

निर्वतमान वडाध्यक्ष रमेश खड्का, जनता नमुना प्राविधिक मावि व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर साउदलगायत स्थानीयले फेरि पनि नियमित रूपमा यस्ता कक्षा सञ्चालन गरिदिन प्रहरीसमक्ष आग्रह गरेका छन्। उनीहरूले दुर्गम गाउँका विद्यालयमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

अछाममा अहिलेसम्म मेल्लेखसँगै मंगलसेन, ढकारी, कमलबजार, बान्नीगढी जयगढलगायतका स्थानीय तहका १३ वटा विद्यालयमा यस्तो कक्षा सञ्चालन गरिएको छ। कक्षामा बालबालिका र महिलाहरूको बढी सहभागिता देखिने गरेको छ ।