१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार १३:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चेतना फैलाउन गाउँका विद्यार्थी पढाउँदै अछाम प्रहरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १३:२४:oo

साइबर सुरक्षा, लैंगिक हिंसा र लागुऔषध दुर्व्यसनीबारे समुदायमा चेतना फैलाउन अछाम प्रहरीले यहाँका विद्यालयहरुमा कक्षा सुरु गरेको छ । विद्यार्थी र अभिभावक दुबैको उपस्थितिमा कक्षा सञ्चालन हुने गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका एकहजार चारसय बढी स्थानीयलाई सचेतिकरण गरे पश्चात विद्यार्थी र अभिभावक लक्षित कक्षा सुरु गरेको प्रहरीले साइबर अपराध नियन्त्रणसँगै लैंगिक हिंसा अन्तर्रगत बालविवाह, बहुविवाह, छाउपडी, आत्महत्या रोकथाम, यौन दुर्व्यबहार  र लागुऔषध दुर्व्यसनी विरुद्धको कानुनी व्यवस्था बारे जानकारी गराउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार समुदायमा सकारात्मक सन्देश फैलाएर अपराध नियन्त्रणगरी हिंसा घटाउने उद्देश्यले जिल्लाभरका विद्यालयहरुमा कक्षा सञ्चालन गर्ने लक्ष्य छ । उनका अनुसार अहिलेसम्म १३ वटा विद्यालयका ९३० बढी विद्यार्थी र उनीहरुका अभिभावलाई कक्षा दिइएको छ ।

कक्षामा अपराध, यसको परिचय, किसिम, लैंगिक हिंसा, बाल दुर्व्यवहार, बालश्रम, लागूऔषध, आधारभूत सुरक्षा, सडक सुरक्षा, साइबर अपराध तथा सुरक्षा, आधारभूत कानुन तथा मानवअधिकार र असल अभिभावकत्व बारे जानकारी दिने गरिएको छ ।

अछामको मेल्लेख गाउँपालिका–५ विन्धेबासीनी स्थित जनता नमुना प्राविधिक माविमा सञ्चालित कक्षामा प्रशिक्षण दिदै डीएसपी भण्डारीले विद्यार्थीलाई अपराध, कानुन र सुरक्षाबारे जानकारी गराउँन सके मात्रै समाजमा विकृति विसंगति धेरै हदसम्म हट्ने बताए । ‘विद्यार्थी आफैं सचेत हुन्छन् । अभिभावकलाई पनि सचेत गराउँछन्’ उनले भने, ‘किशोरावस्था जोखिमको समय हो । सही र गलत बाटोमा लाग्ने उमेर यही भएकाले यही बेला नै सचेत गराउन आवश्यक छ ।’ उनले सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा करिब दशवटा अन्य विद्यालयमा पनि यस्तो कक्षा सञ्चालन गरिने बताए ।

मेल्लेख–५ का वडाध्यक्ष प्रकाशबहादुर अधिकारीले टोलमै प्रहरी पुगेर दिइने यस्तो कक्षाले अपराध नियन्त्रण तथा हिंसा रोकथाम हुने विश्वास ब्यक्त गरे । ‘विद्यालयमा नियमित विषयहरु त पढाउँदै आएका छौं, बुझाउँदै आएका छौं । यस्ता विषय बारे जानकारी गराउँदा अझ बढी प्रभावकारी हुन्छ ।’ शिक्षा विकास तथा समन्वय ईकाइका प्राविधिक सहायक सुरेन्द्र बजगाइले बालबालिकालाई असल अभिभावकत्व प्रदान गर्न सके साइबर सुरक्षा, लैंगिक हिंसा र लागुऔषध दुर्व्यसनीबारे उनीहरु नै अग्रसर भएर लाग्ने बताए ।

निर्वतमान वडाध्यक्ष रमेश खड्का, जनता नमुना प्राविधिक मावि ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर साउँद लगायत स्थानीयले फेरिपनि नियमित रुपमा यस्ता कक्षा सञ्चालन गरिदिन प्रहरी समक्ष आग्रह गरेका छन् । उनीहरुले दुर्गम गाउँका विद्यालयमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरे ।

अछाममा अहिलेसम्म मेल्लेख सँगै मंगलसेन, ढकारी, कमलबजार, बान्नीगढी जयगढ लगायतका स्थानीय तहका १३ वटा विद्यालयमा यस्तो कक्षा सञ्चालन गरिएको छ । कक्षामा बालबालिका र महिलाहरुको बढी सहभागिता देखिने गरेको छ ।