१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार o८:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भन्सार पास भएको कन्टेनर नियन्त्रणले प्रहरी र भन्सार कार्यालयबिच द्वन्द्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार o८:५o:oo

भन्सार पास भएर आएका कन्टेनरलाई नियन्त्रणमा लिएपछि मेची भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाबिच विवाद सुरु भएको छ । प्रहरीले अवैध भनेको कन्टेनरसहितको मालसामान मेची भन्सारले सबै प्रक्रिया पूरा गरेर नेपाल भित्र्याएको जनाएपछि विवाद उत्पन्न भएको हो । मेची भन्सार कार्यालय र प्रहरीबिच वेलावेला यसैगरी विवाद उत्पन्न हुँदै आएको छ । 

भन्सार पास भएर आएका तीनवटा कन्टेनरलाई जिल्ला प्रहरी कार्यालय झापाले आइतबार राति बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले भारतबाट अवैध रूपमा भित्रिएको तीन करोड ६१ लाख रुपैयाँबराबरको मालसामानसहित तीनवटा भारतीय नम्बरका कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले तीनवटा कन्टेनर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बताए ।

एनएल ०१ एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा विशेष सूचनाका आधारमा कृषि सामग्री ट्र्याक कम्बाइन हार्भेस्टर फेला परेको उनको भनाइ छ । श्रेष्ठका अनुसार तत्कालको सूचनाका आधारमा उक्त सामग्री अवैध भएकाले पक्राउ गरिएको हो । बरामद कृषि सामग्रीको मूल्य करिब तीन करोड ६१ लाख रुपैयाँबराबर रहेको प्रारम्भिक अनुमान गरिएको उनले बताए । प्रहरीले उक्त सामग्री भारतबाट मेची भन्सार हुँदै नेपाल भित्र्याइएको दाबी गरेको छ। 

यद्यपि, मेची भन्सार कार्यालयले भने कन्टेनरसहितको सामग्री अवैध नभएको दाबी गरेको छ । प्रहरीले भन्सारलाई बदनाम गर्न ज्यादती गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख रामचन्द्र ढुंगानाको आरोप छ । प्रहरीले भारतबाट आएको भने पनि उक्त सामग्री चीनबाट आएको उनको दाबी छ । ‘प्रहरीले भन्सारको बदनाम गराउन ज्यादती गर्‍यो । यी सबै सामग्री भन्सारबाट प्रक्रिया पूरा गरेर नेपाल भित्र्याइएको हो । प्रहरीले भारतबाट आएको अवैध सामग्री भनेको छ । तर, यो झापाको कन्काई नगरपालिकास्थित सुरुंगाको एउटा कृषि फर्मले एलसी खोलेर चीनबाट ल्याएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘धान, पराल काट्ने मेसिनसहितको कृषि सामग्री थियो । चीनबाट आएको यो कृषि सामग्रीमा १ प्रतिशत मात्र भन्सार लाग्छ । यही प्रक्रिया पूरा गरेर ल्याएको हो ।’

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठ पनि कन्टेनर विवादित भएको स्वीकार गर्छन् । तर, प्रहरीलाई आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको उनको भनाइ छ । ‘विवादितचाहिँ छ । तर, हामीले गोप्य सूचनाका आधारमा तत्काल शंकास्पद देखेर नियन्त्रणमा लिएको हो । हामीले राजस्व अनुसन्धानलाई बुझाएका छौँ । अब राजस्वले खोज्छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘प्रहरीले आफ्नो काम गरेको हो । अरू हेर्ने काम राजस्वले गर्छ ।’

प्रहरीले कन्टेनर सोमबार मात्र राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तमकुमार घिमिरेले जानकारी दिए । यद्यपि, प्रारम्भिक चरणमा हेर्दा भन्सारबाट प्रक्रिया पूरा भएर नेपाल भित्रिएको पाइएको उनले बताए । उक्त कन्टेनरको सामग्री चीनबाट आएको भेटिएको उनले बताए । ‘भन्सारबाटै पास भएको देखिन्छ । कागजात सबै भएको पनि देखिन्छ,’ उनले भने, ‘सामान ल्याउनेले हामीलाई निवेदन पनि दिएका छन् । अब मंगलबार थप जाँच गर्छौँ ।’