
जनस्वास्थ्यमा सुर्तीजन्य पदार्थको प्रभाव कति हुन्छ ?
जनस्वास्थ्यमा सुर्तीजन्य पदार्थको प्रभाव निकै जटिल र विकराल देखिन्छ । खासगरी खैनी, सुर्ती, गुट्खा, पानपराग, चुरोट आदिलाई सुर्तीजन्य पदार्थ भन्ने गरिन्छ । खैनी सेवन गर्दा त्यसलाई लामो समयसम्म गिजामा च्यापेर राख्दा गिजाजन्य रोगका साथै गिजाको क्यान्सरसम्म हुन सक्छ । गुट्खा, पानपरागजस्ता वस्तु सेवन गर्दा त्यसको रस निलिन्छ । यसबाट पेटका रोग बढी देखिन्छन् भने पेटको क्यान्सर पनि हुन सक्छ । त्यसैगरी चुरोट सेवनले फोक्सोमा बढी असर गर्छ । यसले फोक्सोको क्यान्सरसम्म गराउन सक्छ ।
सुर्तीजन्य पदार्थमा कर बढाउँदा जनस्वास्थ्यमा कति सकारात्मक सुधार आउला ?
सुर्तीजन्य पदार्थमा कर बढाउँदा त्यस्ता वस्तुको मूल्य बढ्छ । महँगो भएपछि उपभोगमा कमी आउन सक्छ । उपभोगमा कमी आयो भने त्यसको सकारात्मक प्रभाव देखिनु स्वाभाविक हो । यसका साथै, राज्यले सुर्तीजन्य वस्तुमा कर बढाउँदा बढी राजस्व संकलन हुन्छ । त्यसरी संकलित राजस्वलाई स्वास्थ्य मन्त्रालयमै फिर्ता पठाउने हो भने यसबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । रोग लागिसकेपछि उपचारमा राज्यले सहयोग दिनुभन्दा त्यसको रोकथाममै प्रभावकारी कदम चाल्नु राम्रो हुन्छ । तर, हामीकहाँ एउटा मन्त्रालयको कुरा अर्कोले खासै नसुन्ने परिपाटी छ । त्यसले गर्दा सर्तबमोजिम करका रूपमा बढेको रकम स्वास्थ्य मन्त्रालयले पाउन सकिरहेको छैन ।
सुर्तीजन्य पदार्थको उपभोगमा कमी ल्याउन के गर्नुपर्ला ?
सबैभन्दा महत्वपूर्ण त जनचेतना बढाउने कार्यक्रम सञ्चालन गर्नु नै हो । यसका साथै, सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीयुक्त सन्देश या चित्र समावेश गर्दा पनि मानिस सचेत हुन सक्छन् । कर बढाउँदा पनि त्यसको उपभोगमा कमी आउन सक्छ । तर, कर बढाएर मात्र हुँदैन, स्वास्थ्य मन्त्रालयलाई दिएर त्यसको सही सदुपयोग गरिनुपर्छ ।