
कम्युनिस्ट चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा काठमाडौंमा गीत, नृत्य, नाटक, कवितालगायत प्रस्तुत गरिएको छ । लेनिन स्मृति शतवार्षिकी र सुसेला संगीत समूहको संयुक्त आयोजनामा राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित ‘२२ अप्रिल सांस्कृतिक साँझ’मा कलाकार, संगीतकार र कविहरूले प्रस्तुति दिएका हुन् ।
सांस्कृतिक साँझको उद्घाटन, स्वागत र समापन गीतसंगीतबाटै गरिएको थियो । आसन र भाषण नराखी फरक ढंगमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । सांस्कृतिक साँझमा रामेश, रायन, जीवन शर्माका रचनाको प्रत्यक्ष प्रस्तुति गरिएको थियो ।
यस्तै, खुसीराम पाख्रिन, जेबी टुहुरे, चुनु गुरुङका संगीत रचना पनि प्रस्तुत गरिएको थियो । सुसेला ब्यान्ड, सामना परिवार, इन्द्रेणी सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारलगायतका कलाकारले प्रस्तुति दिएका छन् ।