१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार १६:४१:oo
Read Time : > 3 मिनेट
सप्तरंग डिजिटल संस्करण

लमजुङको गुरुङ बस्तीमा घाटुकाे रौनक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १६:४१:oo

लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ । लमजुङको श्रीभञ्ज्याङ, घलेगाउँ, सिउरुङ, सिङ्दी, करापु, भुजुङ, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, ढगैँ, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दुधपोखरी, खाँसुरगाउँलगायत गुरुङ समुदायको बाहुल्य रहेको बस्तीमा अझै घाटुनाच देख्न पाइन्छ । 

वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाटु जारी छ यतिवेला । गुरुङ बस्तीमा साना नानीदेखि वृद्ध आमासम्म सबैले सजिलैसँग घाटु नाच्ने गर्दछन् । तिनैले नाचेको घाटुनाचले गुरुङ बस्तीसम्म पुग्ने सबैको मन लोभ्याउने गर्दछ । हिजोआज गुरुङ बस्तीमा पुग्ने पर्यटकलाई घाटुनाच देखाएर स्वागत गरिने प्रचलन कुनै नयाँ चलन पनि होइन । 

गुरुङ र गुरुङसेनीहरू गाउँमा पाहुना आएपछि हतारहतार गरी सामुदायिक भवनमा गुन्द्री ओछ्याएर घाटु नाच्न थाल्छन् । वसन्तपञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिने प्रचलन गुरुङ गाउँहरूमा रहेको छ । 

गुरुङ संस्कृतिको अमूल्य निधिको रूपमा रहेको यो नाच शास्त्रीय नाच पनि हो । सती र बाह्रमासे गरी यो नाच दुई समयमा नाचिन्छ । सतीघाट श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने यता बाह्रमासे घाटु जुनसुकै समयमा पनि नाच्ने र गाउने गरिन्छ । यी दुवै घाटुको आकर्षण भनेको कुसुन्डा घाटु हो । कुसुन्डाविनाको घाटु नै हुँदैन । गीत र मादलको तालमा नाच्दै गर्दा घाटसरी (घाटु नाच्ने व्यक्ति) हरू बेहोस हुन्छन् भने नाच्दानाच्दै बेहोस भएका घाटसरीलाई गीत र मादलको तालले ब्युँझाउने गरिन्छ ।

नाचमा कम्तीमा दुई र बढीमा तीनजना किशोरी सहभागी गराइन्छ । उनीहरूले शिरमा लाहाको मुकुट, गुन्यु र चोली लगाउने गर्छन् भने दुई घाटसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतीकका रूपमा लिने गरिन्छ ।

घाट शब्द कसरी नामकरण भयो र यसको अर्थ के हो भन्नेबारेमा खासै भरपर्दो र विश्वासलाग्दो आधार केही पनि छैन । गुरुङ भाषामा घाटु शब्दको अर्थ कतै पनि पाइँदैन । 

नेपाली शब्दकोशमा हेर्दा भने गुरुङ कन्याहरूले गाउँदै नाच्ने एक प्रकारको लोकनृत्य भन्ने उल्लेख गरिएको छ । कसैले घाटली देवीको नामबाट घाट नाम रहन गएको भन्छन् र कसैले घैँटोजस्तो आकारमा नाचिराख्ने भएकाले घैँटो नाच भन्दाभन्दै यसको अपभ्रंश भई घाट भएको किंवदन्ती पनि पाइन्छ ।

गुरुङ जातिको घाट नाच्ने अविवाहित घाटनीले घाटु नाच्ने तीन दिनको अवधिभर लगाएको चुरापोते र कपालको रातो डोरी घाटु नाच सेलाउने अन्तिम दिनमा हिन्दु राजा पर्शुरामका नाममा बनाएको काल्पनिक समाधि (गुरुङ भाषामा चैँदी) मा चढाएर विधुवी भएको नाटक वा रूप धारण गराउने मस्याङ्दी गाउँपालिका– ३ की स्मृति गुरुङको भनाइ छ । 

गुरुङ जानकारहरूका अनुसार घाटुनाच राजा पर्शुराम र रानी यम्फावतीको कथामा आधारित छ । इतिहासमा यी राजारानीको उल्लेख नभए पनि गुरुङ जातिले सदियौँदेखि यी राजारानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई किंवदन्तीका रूपमा आफ्नो संस्कृतिको धरोहरका रूपमा अँगाल्दै आएका छन् । 

जानकारहरूका अनुसार १६औँ शताब्दीतिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलको सिकार, पुत्रबढाइँ, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको विषयवस्तु हो । 

राजारानीको विवाह, उनीहरूको प्रेम–कहानी, सिकार खेल्न गएको प्रसंग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलिदानी र रानी सती गएको प्रसंग घाटको कथा सारांश हो । गुरुङ गाउँमा घुम्न आउने पर्यटकहरूको रोजाइमा घाट परेको ढगैँका पूर्णबहादुर गुरुङले बताए ।

उनी भन्छन्, ‘मादलको ताल र टुक्का बिग्रिएमा बेहोस हुन्छन् घाटसरीहरू । घाट सुरु हुनुपूर्व देउता बोलाइन्छ । घाटु गुरुहरूले सुरुमा देउचुली, हिमचुली आदि देवीदेउता पुकारेपछि देउता घाटसरीको शरीरमा प्रवेश गर्ने विश्वास गरिन्छ । मादलको ताल र गुरुहरूले गाउने गीतको आधारमा घाटुसरीहरू नाच्ने गर्छन् । यस क्रममा मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुट्यो भने घाटसरीहरू बेहोस नै भइरहने विश्वास छ ।’
 
देउता चढेपछि घाटसरीहरू बेहोसीमै नाच्ने गर्छन् । यही अवस्थालाई ‘कुसुन्डा’ भनिन्छ । घाटको गीतलाई विशेषगरी चार खण्डमा व्याख्या गरेको पाइन्छ । यसमा जन्मडाँडी, विवाहडाँडी, सिकारडाँडी र कुसुन्डाडाँडी पर्दछन् । यसलाई ‘डाँडी’ पनि भनिन्छ । घाटुनृत्य पनि ठाउँअनुसार फरकफरक रहेको पाइन्छ । तर, सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरू बताउँछन् । घाटसरीहरूको साथमा एक–एकजना सुसारे पनि हुन्छन् । घाटु नाच्नेहरू रजस्वला भएका, अपांग तथा अशक्त हुनुहुँदैन भन्ने मान्यता रहिआएको छ । 

विशेष गरेर घाटुनाच पश्चिमाञ्चलको लमजुङ, गोर्खा, तनहुँ, कास्की, स्याङ्जाका गुरुङ गाउँहरूमा बढी प्रचलित रहेको छ ।  यो नाच गण्डकी अञ्चलमा बसोबास गर्दै आएका केही दुरा, मगर र अधिकांश गुरुङ जातिले नाच्दै आएको एक लोकनृत्य हो । 

यसलाई गुरुङ जातिले आफ्नो प्राचीन इतिहास बोकेको संस्कृति नाच ठान्दछ । तर, घाटुनाचमा गाउने गीत भने गुरुङ भाषामा छैन र आफ्नो जातीय इतिहास झल्काउने कुनै कथा पनि छैन । घाटमा गाउने गीतको भाषालाई राम्रो अध्ययन र अनुसन्धान गरेर इतिहास खोज्यो भने सुदूरपश्चिमाञ्चल र भित्रीमधेशमा बस्ने भोजपुरी र थारू जातिको धेरै पुरानो हिन्दु संस्कृति नाच देखिन्छ । किनभने ‘घाटुनाचमा गाउने सबै गीतहरू बिहारी, भोजपुरी र थारू भाषामा गाएको पाइन्छ । 

घाटु गीतको भाषा सुन्दा घाटुनाचकाे थालनी भोजपुरी र थारू जातिले नै सुरु गरेको केही जानकारहरू बताउँछन् । घाट स्थापना गर्दा पहिला घाटु नाचिसकेको अनुभवी दिदीहरू र घाटु गीत गाउने गुरुहरूबाट रजस्वला नभएकी दुई कन्या युवतीलाई नचाउने अथवा सिकाउने प्रचलन छ ।

यहाँ गुरुङ समुदायको बाहुल्य रहेको छ । आफ्नाे संस्कार–संस्कृत जोगाउन कसिएका गुरुङ समुदायले घाटुनाचलाई पनि संरक्षण गर्ने कोसिस गरेका छन् । जिल्लामा बाह्रमासे घाटु बढी नाचिँदै आएको छ । वैशाख पूर्णिमाका दिनमा नाचिने सतिघाट जिल्लामा लोप हुने अवस्थामा छ । ढगैँ, खासुरगाउँलगायत जिल्लाका अधिकांश गाउँमा यस्ता घाटु भने देख्न मुस्किल छ । तर, पसगाउँमा भने पूर्णिमा दिनदेखि सुरु भई गत बुधबार बेलुकासम्म चलेको थियो । रासस