
एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्। भरतपुर महानगरपालिका– २५, किसान चोकनजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुईजनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैँमाथि प्रहार गरेको उनले जानकारी दिए।
घटनालगत्तै तीनैजनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएकाे अवस्थामा घटना गराएको प्रारम्भिक रूपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९:४५ बजेको समयमा भएको हो ।