१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
डा. डिबी कट्टेल
२o८२ जेठ २ शुक्रबार o७:५७:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तनका प्रभाव

Read Time : > 5 मिनेट
डा. डिबी कट्टेल
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार o७:५७:oo

ग्लोबल वार्मिङका कारण हिमालयको हिउँ पग्लेको छ, तर भयावह तरिकाले हिमाल नै नांगो हुने अवस्था भने छैन

चीनको चाइनिज एकेडेमी अफ साइन्सले ‘थर्डपोल इन्भायरमेन्ट’ परियोजना सञ्चालन गर्छ । थर्डपोलका शाखा विभिन्न देशमा छन् । नेपालको पनि त्रिविको सेन्ट्रल डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेटोरोलोजीसँग थर्डपोलको विधिवत् सहकार्य छ । थर्डपोलले ताजकिस्तान, किर्गिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश, भुटानजस्ता हिमालका पामिरदेखि हिन्दुकुश, काराकोरम हिमालयसम्मको अनुसन्धान गर्छ । यसले वैश्विक रूपमा यसको विस्तार गरिरहेको छ । थर्डपोल इन्भायरमेन्ट प्रोग्राममा अन्तर्राष्ट्रिय सहकार्य नेपालका लागि पनि महत्वपूर्ण छ । 

हाम्रा हिमशृंखलाले अर्बौँ मानिस, प्राणी तथा वनस्पतिलाई जीवन दिएका छन् । वैश्विक तापमानमा आएका चुनौतीबाट यी हिमशृंखला अत्यधिक प्रभावित छन् । यस्तो समस्यालाई एक्लो प्रयासबाट मात्रै सम्बोधन गर्न सम्भव छैन । भूराजनीतिका विद्यार्थीले तिब्बतलाई राष्ट्रिय सुरक्षा संवेदनशीलताका रूपमा नेपालमा अध्ययन गरिरहेका छन् । तर, तिब्बती पठारको वैज्ञानिकता, दुई अर्ब मानिसको जीवनरेखाका रूपमा हामीले बुझ्न सकेका छैनौँ । 

तिब्बत र तिब्बती पठार फरक हुन् । तिब्बती पठार क्षेत्रमा चीन, नेपाल, पाकिस्तान, भारत, भुटान, ताजिकिस्तान, किर्गिस्तान पनि पर्छन् । यो प्राकृतिक विषय हो, यसलाई राजनीतिक सीमांकनका नजरबाट हेर्नु हुँदैन र हेरिँदैन पनि । तिब्बती पठार यस्तो क्षेत्र हो, जुन क्षेत्रको तापक्रमको चरित्रले हाम्रो दक्षिण एसियाको जलवायु मात्र नभई एसिया र उत्तरी गोलाद्र्धसँगै संसारकै जलवायुलाई नै प्रभावित पार्छ । त्यहाँको सानो परिवर्तनले नेपालमाथि ठुलो असर पर्छ । हिमशृंखलाको स्रोत सुक्नेबित्तिकै कृषिमा आधारित हाम्रो जनजीवन समाप्त हुन्छ । जलवायु परिवर्तनले ल्याउने खतराले जनजीवनलाई अति अस्तव्यस्त पार्छ । यो साह्रै नै संवेदनशील क्षेत्र हो । यसमा अमेरिकी र युरोपेली वैज्ञानिकले त्यसै काम गरेका होइनन् । 

दक्षिण एसियामा हामीले वन मासेका छौँ, स्रोतहरूको क्षयीकरण गरेका छौँ । तिब्बतबाट यो दक्षिणतिरको समस्या हो । जलवायु परिवर्तनको प्रवृत्तिले त्यसमा असर गरेको छ । चीनले तिब्बतको वातावरण र जलवायु बचाउन, तिब्बतको वातावरणीय संरचना, तिब्बतीय सेरोफेरोको जलवायु बचाउन काम गरिरहेको छ । तिब्बतको वातावरणीय संरक्षण त्यहाँको जनजीवनलाई मात्र नभई संसारकै वातावरण संरक्षणका लागि महत्वपूर्ण छ, जसमा चीनले अहिले ध्यान दिएर काम गरिरहेको छ । 

तिब्बतमा सिमसार र घाँसेमैदान बढेको छ । त्यहाँको वातावरणीय संरक्षणले त्यहाँको हिमशृंखलाको तापक्रम नियन्त्रण हुन्छ, जसबाट हामी प्रत्यक्ष लाभान्वित छौँ । भारत, भुटान, पाकिस्तान, नेपाल, चीन हामी सबैले एउटै स्रोतको पानी पिउँछौँ । संसारको ठुलो स्वच्छ पानीको मुहान तिब्बत हो । हामी सबैको मूल पँधेरो एउटै हो । पँधेरोमा असर प¥यो भने हामी सबै प्रभावित हुन्छौँ । यही सन्दर्भमा चीनमा जलवायु वैज्ञानिकले काम गरिरहेका छन् । हामीले गरेको वैज्ञानिक शोध अनुसन्धानबाट नेपालले फाइदा लिनुपर्छ । 

तिब्बत पठार जलस्रोत, जैविक विविधता र मानिसको जीवनयापनको महत्वपूर्ण क्षेत्र हो । तिब्बती पठार क्षेत्रमा हुने हानिले एउटा क्षेत्रलाई मात्रै नभई संसारलाई नै प्रभावित गर्छ । तिब्बती पठार तातो भएन भने मनसुन नै अघि बढ्न सक्दैन । त्यसको संरक्षण अपरिहार्य छ, यसलाई नेपालीले पनि बुझ्नु जरुरी छ । हाम्रो सुन्दर प्रकृति बचाउन हामीले चीनसँग सहकार्य गर्नु ठिक हुन्छ । यो राजनीतिक वा भूराजनीतिक विषय होइन, हामीले सहकार्य गरेर जानुपर्छ । 

सगरमाथा क्षेत्रको ‘स्नोकभर चेन्जेज’का विषयमा म अनुसन्धान गरिरहेको छु । हिउँ तह घटेको छ, के कारण यो भएको हो भन्ने अनुसन्धान गरिरहेको छु । हिमालय क्षेत्रमा अनुसन्धान निकै कठिन छ । समुद्रमुनि या सगरमाथा क्षेत्रमा सम्मेलन गर्दैमा वातावरण संरक्षण गर्न सम्भव छैन । यो काम हाम्रो बुताले मात्रै सम्भव छैन । अहिले चीनले लिएको पहलकदमीमा हामी सहभागी हुनुपर्छ ।

हिमालको सन्दर्भमा जापानी, फ्रेन्च, युरोपियन वैज्ञानिकले सन् ८० को दशकमा अनुसन्धान गरेका छन् । तर, सन् १९९० पछि हिमाली र पहाडी भेगमा अनुसन्धान भएकै छैन । भूगोल र स्रोतका हिसाबले यस क्षेत्रको अध्ययन निकै कठिन पनि हुन्छ । चीनले हिमाल बचाउ र वातावरण संरक्षणका लागि गरेको पहलकदमी विश्वका लागि महत्वपूर्ण र उदाहरणीय छ । त्यसमा हामी सहभागी हुनुपर्छ । तिब्बती पठारको संरक्षण वातावरण र जलवायु संरक्षणका लागि सबैभन्दा महत्वपूर्ण छ । यो पठार मध्य एसियाका देशसँग जोडिएको छ । चाइना एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटोले पाकिस्तान, भारत, अन्य देशका वैज्ञानिकसँग मिलेर काम गरिरहेको छ । चीनमा अमेरिकी, भारतीय र युरोपियन वैज्ञानिक आइरहेका छन् । युरोपका नाम चलेका वैज्ञानिक हाई माउन्टेन र क्लाइमेट सिस्टमबारे अनुसन्धान गर्न चीन पुगिरहेका छन् । संसारका सबै वैज्ञानिक यसमा संलग्न छन् । 

३० देशका चार सय वैज्ञानिक चाइना एकेडेमिक साइन्सअन्तर्गत इन्स्टिच्युट अफ तिब्बतीयन प्लेटोमा काम गर्छन् । उनीहरूले एसियाको वाटर टावर बचाउन संसारका वैज्ञानिकसित मिलेर काम गरिरहेका छन्, नेपालले यसमा किन सहभागिता नजनाउने ? वैज्ञानिक भनेका राजनीतिसँग गाँसिने होइन । चीनले स्पेस क्रान्ति, प्राविधिक उच्चता, अन्तरिक्षको अनुसन्धानमा मारेको फड्को निकै उदाहरणीय छ । यसबाट नेपालले सिक्नुपर्छ । यसका लागि नेपालको विज्ञान तथा प्रविधि कूटनीति आवश्यक पर्छ । यो ट्र्याक टु डिप्लोमेसीका लागि महत्वपूर्ण छ । दुनियाँले यो कार्य गरिरहेका छन्, हामीले पनि गर्नुपर्छ । हाम्रा अनुसन्धान पेपर कागजका खोस्टा होइनन् । यिनले देशलाई पनि योगदान दिएका छन्, जसको उपयोग नीति–निर्माताले गर्नुपर्छ । हामीले अप्रत्यक्ष रूपमा यहाँबाट नेपाललाई योगदान गरिरहेका छौँ । चीनमा त्यसरी कार्य गर्ने वातावरण छ, प्रयोगशाला छ, स्रोत छ । त्यसैले, थर्डपोल इन्भायरमेन्टल प्रोग्रामअन्तर्गत अहिले अनुसन्धानका गहन काम भइरहेको छ । 

अब सामाजिक वैज्ञानिकलाई पनि जलवायुका सन्दर्भमा सहभागी गराउनुपर्छ भन्ने आवाज उठिरहेको छ । कोर वैज्ञानिकले प्राविधिक पक्षलाई मात्रै हेर्छन्, अब सामाजिक वैज्ञानिक पनि मिलेर काम गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनको असर त समाजलाई पर्ने हो । उच्च हिमाली क्षेत्रका मानिसलाई अनुसन्धानमा सामेल गराउनुपर्छ र उनीहरूको सहभागिता बढाउनुपर्छ भन्ने मत अगाडि आइरहेको छ । उनीहरूको परम्परागत ज्ञान निकै महत्वपूर्ण हुन्छ । तीस वर्षदेखि हिमालमा भएको परिवर्तनका प्रत्यक्ष पर्यवेक्षक उनीहरू नै हुन् । इन्टरनेसनल ग्लेसियर सोसाइटीले यसको महसुस गरेको छ । यसबारे जर्नलमा लेख नै प्रकाशित भएको छ ।

प्राकृतिक संरक्षण एवं वातावरणका सन्दर्भमा चीन एसियाको भविष्य हो । यहाँ अनुसन्धान र अध्ययन गर्न विश्वले चाहिरहेको छ । नेपालले किन नचाहने ? हामी वल्लोघर पल्लोघर हौँ । वैज्ञानिक खोज अनुसन्धान र अभ्यासमा चीनसँग हामीले सहकार्य गर्नुपर्छ र आफूलाई त्यही रूपमा माथि उठाउनुपर्छ । यो सम्भव पनि छ । 
अब अर्को सन्दर्भ हेरौँ, हामी जलवायु परिवर्तनलाई ग्रिन हाउस कार्बनडाइअक्साइड, मिथेन ग्यासको असरको परिणाम मान्छौँ । उत्तरतिर न्यूनतम तापक्रम बढेको छ । हामीकहाँ अधिकतम तापक्रम बढेको छ । नेपालको परिवर्तन हरितगृह ग्यास कार्बनडाइअक्साइडले गरेको होइन । अधिकतम तापक्रम हामी आफैँले बढाएका हौँ । वनजंगलमा बुट्यानदेखि ठुला रुखको समानुपातिकता छैन । भुइँमा झार छैन, ठुला रुख मात्रै छन् । पहाडी भेगमा तीव्र सहरीकरण भइरहेको छ । यो जलवायु परिवर्तनको कारण होइन, हाम्रो लापरबाहीको कारण हो । हामी अरूलाई दोष दिन्छौँ, तर हाम्रो दुष्प्रभावका कारण अधिकतम तापक्रम बढेको कुरा स्वीकार गर्नुपर्छ । गत वर्ष काठमाडौंमा आएको बाढी, गत वर्ष र अहिले काठमाडौंको गर्मी वैश्विक जलवायु परिवर्तनले बढेको होइन । यो लोकल वार्मिङ हो, ग्लोबल वार्मिङ होइन । जाडो याममा तापक्रम बढ्ने र जलवायु परिवर्तनको असर देखिने हो, गर्मीमा होइन । भुइँमा माटो, झार, बिरुवा नभएका कारण काठमाडौंमा गर्मी बढेको हो, अन्य कारणले होइन । 

तिब्बती पठारको जलवायुमा पनि अनिश्चितता देखिने उपलब्ध तथ्यांकले बताउँछन् । उच्च हिमाली क्षेत्रमा अझै पनि अनुसन्धान जति हुनुपर्ने हो, भएको छैन । ग्लोबल वार्मिङ र स्थानीय प्रभाव सँगसँगै भएको छ । उत्तरतिर न्यूनतम तापक्रम बढेको छ । अधिकतम तापक्रममा स्थिरता छ, न्यूनतम तापक्रममा विविधता छ । हामीले आफ्नो तहमा सुधार गर्नुपर्छ । 

हाम्रो देश भारतको चेरापुन्जीको छेउमै छ, जहाँ प्राकृतिक रूपमा धेरै वर्षा हुन्छ । धेरै वर्षा हुनु, बाढी हुनु हाम्रो विरासत हो । हाम्रो क्षेत्रमा पहिरो जान्छ, भुइँचालो जान्छ । भुइँचालोलाई पनि हामीले प्रकृतिप्रदत्त प्रकोपका रूपमा लिएका छौँ । यस क्षेत्रमा पानी, बाढी हुनु नयाँ होइन । यसको आवृत्ति प्राकृतिक पक्षभन्दा बढी भयो भने चिन्ताको विषय हो । खडेरी र वर्षाको चक्र तीन–चार वर्षको छ । पामिर, काराकोरम, तिब्बती पठारको हिउँको अध्ययन गर्दा पश्चिममा हिउँ बढेको छ, बिचतिर हिउँ पग्लेर सामान्य रूपमा घटेको छ र दक्षिणी तिब्बती पठारमा तीव्र रुपमा हिउँ घटेको छ । यस क्षेत्रमा दश वर्षदेखि गम्भीर रूपमा अनुसन्धान भइरहेको छ । अझै धेरै काम गर्न बाँकी नै छ । 

वैज्ञानिकहरू भविष्यवाणीमा विश्वास गर्दैनन् । एक्काइसौँ शताब्दीमा हिमशृंखला समाप्त हुन्छ भनेर नीति–निर्मातालाई घचघच्याउन त सकिन्छ । तर, यथार्थमा भविष्य त्यस्तो देखिँदैन । यो घचघच्याउने काम अभियन्ताले गरिरहेका छन् । हाम्रो अनुसन्धानअनुसार हाम्रा हिमालको ग्लोबल वार्मिङ रेट ०.७ सेल्यियस छ । सगरमाथा क्षेत्रको उपलब्ध तथ्यांक हेर्दा ०.०३ सेल्सियसले तापक्रम बढेको देखिन्छ, यसले धेरै भयावह असर गर्दैन । हिमशृंखला पग्लेका छन्, लेकमा वनस्पति छैनन्, भुइँ उजाड छ । हिउँ पग्लेको छ, तर भयावह हुने गरी हिमाल नै नांगो हुने अवस्था भने छैन । आजभन्दा १५ सय वर्षअघि तापक्रम धेरै थियो, औद्योगिक क्रान्ति पनि भएको थिएन । त्यसकारण, पृथ्वी बचाउने सचेतनाका लागि हुने भविष्यवाणीले हामीलाई नराम्रो गर्दैन । तर, यसको अनिश्चितताका सन्दर्भमा वैज्ञानिक अनुसन्धानरत छन् । 

अर्को विषय, हरेक विषयलाई ग्लोबल वार्मिङसँग जोड्नु हुुँदैन । सन् १९९० को दशकमा ओजोन तह घटेको विषय निकै चर्चामा थियो । अब ओजोन तहको समस्या समाधान भइसक्यो । त्यसपछि ग्रिनहाउस ग्यासको चर्चा चल्यो, मानिसले ओजोन तहलाई बिर्से । खतरा पनि कम भयो । अब ग्लोबल वार्मिङको चर्चा सुरु भएको छ । वातावरण र प्रकृति हाम्रो कारणले तलमाथि भएको छ, जसलाई सन्तुलनमा फर्काउन सकिन्छ । हरेक परिवर्तनलाई मौसम परिवर्तनसँग जोडेर हेर्नुहुँदैन, तर सतर्कचाहिँ हुनुपर्छ । 

(जलवायु वैज्ञानिक डा. कट्टेल चीनको बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्समा कार्यरत छन्)