
किराँतहरू सुनुवार, राई, लिम्बू र याक्खा जातिको महान् चाड उँभौली पर्वको अवसरमा रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन (आज र भोलि) स्थानीय पर्व बिदा दिएको छ ।
सुनुवारहरूको बाहुल्य रहेको उमाकुण्ड गाउँपालिकामा उँभौली पर्वको अवसरमा मंगलबार र बुधबार दुई दिन स्थानीय पर्व बिदा दिएको हो । उँभौली पर्वको अवसरमा उमाकुण्ड गाउँपालिका– ४ प्रितीस्थित चण्डीथानमा भव्य मेलासमेत लाग्ने गर्दछ । उँभौली पर्वको अघिल्लो रातभर सुनुवारहरूले नाचेर बुल्फे अर्थात् चण्डी बोलाउने गर्दछन् ।
रातभर नाचगान गरी चण्डी बोलाएपछि सुनुवारहरूले उँभौली पर्वको दिन दिउँसो चण्डी पूजा गर्ने गर्दछन्। उक्त पूजामा सुनुवारहरूले राँगा, बोका र भालेको बलि चढाउने गर्दछन्। चण्डी पूजाका दिने भेला भएका सुनुवारहरूले आफ्नो संस्कृति र परम्पराअनुसार भाले र पोथी ढोल बजाएर नाचगान गरी रमाइलो गरेर मनाउने गर्दछन् ।
उँभौली पर्वमा सुनुवारहरूले वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति सू–स्वास्थ्य रहोस् र दैवी प्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने चलन रहेको छ। सुनुवार जातिले गुठेर अर्थात् बस्नेतको उपस्थितिमा चण्डी पूजा गर्ने प्रचलन रहेको र गुठेरको उपस्थितिविना गरेको पूजा अपूरो हुने जनविश्वास रहिआएको छ ।