
अन्तर्राष्ट्रिय सहभागिता र उत्कृष्ट प्रदर्शनपछि अहिले नेपाली महिला फुटबलको क्रेज बढेको छ । अन्तर्राष्ट्रिय मात्र नभएर घरेलु फुटबलमा पनि महिला खेलाडीको सहभागिता त्यत्तिकै बढिरहेको छ ।
पुरुषमा जस्तै महिला खेलाडीहरूले प्रतिस्पर्धा गरिरहँदा रंगशालामा पनि दर्शकको उपस्थिति थेग्नै नसक्ने स्थिति सिर्जना भएको छ । यसैकारण, आयोजक पनि पुरुष फुटबल प्रतियोगिता रोकेरै महिलातर्फका स्पर्धा आयोजना गर्न तम्सिएका छन् ।
यसैको प्रतिफल हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदान गुलजार बन्यो । मकवानपुरमै पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको महिला फुटबल हेर्न दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता सुरु भएदेखि दर्शकले खेलाडीलाई साथ दिएका थिए ।
१९ देखि २५ वैशाखसम्म चलेको प्रतिस्पर्धाको हरेक दिन दर्शकको बाक्लो उपस्थितिले आयोजकलाई हौसला प्रदान गर्यो । उपाधि भिडन्तमा २४ सय क्षमताकोे गौरीटार मैदान भरिएको थियो । तर, मैदानबाहिर त्यसको दोब्बर संख्यामा उपाधि भिडन्त हेरेका थिए । उनीहरूले महिला फुटबल खेलको भरपुर आनन्द लिए ।
हेटौँडा बजारबाट १० किमिको दूरीमा रहेको गौरीटार रंगशालामा प्रत्येक दिन खेल हेर्न आएका दर्शकले खेलाडीहरूको हौसला बढाए । स्थानीयदेखि महिला दर्शकले घरका कामै छाडेर आआफ्नो उपस्थिति जनाए ।
दुई विगाभीय टोली नेपाल पुलिस र एपिएफबिचको फाइनलले पनि दर्शकलाई उपाधि भिडन्त हेर्न बाध्य पार्यो । राष्ट्रिय महिला टोलीमा समावेश अधिकांश खेलाडीको उपस्थितिले समर्थकलाई उत्साहित बनाएको आयोजकको भनाइ छ ।
प्यारापिटमा रंगशालाबाहिर दोब्बर संख्यामा दर्शकको उपस्थिति देखियो
आफूलाई मन पर्ने खेलाडीको समर्थनमा नारा लगाइएका दृश्यले रंगशालाको माहोल झनै रोचक बनायो । हेटौँडा–४ का राजन कटुवालले यसपटक गौरीटार रंगशालामा भएको प्रतियोगिताले दर्शकलाई तानेको बताए ।
व्यवस्थित पूर्वाधार भए खेलप्रति दर्शकको उपस्थिति पनि बढ्ने अनुभव यसपटक महसुस गरेको उनको भनाइ छ । ‘यसपटकजस्तो हामीले महिला फुटबलमा दर्शकले खेल हेर्न आएको अगाडि देखेका थिएनौँ,’ कटवालले भने, ‘पुरुषमा जस्तो महिला खेलाडीहरूलाई त्यत्तिकै माया र समर्थन गरेको पाएँ ।’ मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निकालेको नतिजाअनुरूपै दर्शकको संख्या बढेको बताए । ‘गौरीटार रंगशालाको फुटबल मैदान व्यवस्थित भएको र महिला फुटबलरले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका कारण पनि हेटौँडामा भएको प्रतियोगितामा दर्शकको उपस्थिति राम्रो रहेको हो,’ लामाले भने, ‘अर्कोपटक योभन्दा पनि व्यवस्थित रूपमा हामी आयोजना गर्छौँ ।’
उत्कृष्ट नतिजाको परिणाम
महिला खेलाडीले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आएका छन् । उनीहरूलाई प्रोत्साहन गर्न हेटौँडामा महिला फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ । आयोजक समितिले प्रतियोगितामा हुने राष्ट्रियस्तरका महिला फुटबल खेलाडीको खेल प्रदर्शनबाट स्थानीयस्तरमा पनि चासो बढ्ने र नयाँ–नयाँ खेलाडी जन्माउन प्रेरित गर्ने विश्वास संघले लिएको छ ।
‘महिला खेलाडीले जुन जोस र कौशलका साथ खेल प्रदर्शन गरे, त्यो साँच्चिकै प्रेरणादायी छ,’ एक दर्शकले भने, ‘यस्तो प्रतियोगिता अझ धेरै हुनुपर्छ ।’ उनले आफूले पहिलोपटक प्यारापिटमा बसेर फुटबल हेरेको अनुभव सुनाए । ‘प्यारापिटमा बसेर फुटबल हेर्दा अझै रमाइलो र रोमाञ्चक भइँदोरहेछ, भौतिक पूर्वाधारको विकासले खेल क्षेत्रलाई अझ टेवा पुग्छ ।’ शिलान्यास भएको १७ वर्षपछि गत १० वैशाखमा गौरीटार रंगशालाभित्रको फुटबल रंगशाला उद्घाटन भएको थियो । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामा र खेलकुदमन्त्री मीनकृष्ण महर्जनले रंगशालाको उद्घाटन गरेका थिए । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए । रंगशाला परिसरभित्र फुटबल स्टेडियमसहित पौडीपोखरी र क्रिकेट स्टेडियम पनि निर्माण भइरहेको छ ।