
नागरिक उन्मुक्ति पार्टीका सभापति रेशम चौधरीलाई थुनामा राख्न पत्र लेख्ने सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएकोमा चार दिन थुनामा राख्न म्याद पाएको छ । उनीविरुद्ध लिखत किर्तेलगायत मुद्दामा अनुसन्धान सुरु भएको एसपी अपिलराज बोहराले बताए।
विष्टलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। विष्टले चौधरीलाई थुनामा राख्न भन्दै बुधबार डिल्लीबजार कारागार र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र लेखेका थिए। प्रहरीले थप नबुझी सोही पत्रकै आधारमा चौधरीलाई पक्राउ गरी करिब पाँच घण्टा डिल्लीबजार कारागारमा थुनेको थियो। पछि सर्वाेच्च अदालतले अर्काे पत्र पठाएपछि उनी छुटेका थिए।
विष्टले सनकका भरमा आफैँ त्यसरी पत्र लेखेर आफैँ बुझाएका थिए।