१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Friday, 02 May, 2025
प्रेम गौतम काठमाडाैं
२o८२ बैशाख १८ बिहीबार o८:२२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीसँग एकीकृत समाजवादीको माग : विशिष्ट पदमा पुगेका व्यक्तिको सम्पत्ति  छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ

माधव नेपाल बालुवाटार प्रवेशपछि ओली उत्साहित

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार o८:२२:oo

एकीकृत समाजवादीले विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर राज्यसत्ताको माथिल्लो ओहदामा पुगेका सम्पूर्ण विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न मागपत्र पेस गरेको हो । 

मगपत्रमा भ्रष्टाचारीलाई कारबाही गर्न, रोजगारी र सुशासनका लागि सर्वपक्षीय राष्ट्रिय सम्मेलन आयोजना गर्न पनि माग गरिएको छ । विषयविज्ञहरूबिच प्रतिस्पर्धाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन हुने व्यवस्था गर्न, भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा तीनै तहका सरकारका नीतिगत निर्णयको परीक्षण हुने व्यवस्था गर्नुपर्ने भनिएको छ । संसद्मा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने, तर विधायकहरू मन्त्री हुन नपाउने गरी संवैधानिक व्यवस्था गर्न पनि एकीकृत समाजवादीले माग गरेको छ । संघीय प्रणालीको प्रभावकारिता, खासगरी प्रदेश तहको प्रभावकारिताका लागि आवश्यक संवैधानिक व्यवस्थाका तथा कानुनी प्रबन्ध गर्न पनि माग गरिएको छ । 

भ्रष्टाचारजन्य कारण देखाई पालिका परिषद्को दुईतिहाइ बहुमतले पालिकाका पदाधिकारीलाई हटाउने र त्यही कारणले सम्बन्धित पार्टीले प्रत्याह्वान गर्न सक्ने व्यवस्था गर्न, सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने व्यवस्था लागू गर्न, तोकिएको सेवा वा जिम्मेवारीको पारदर्शी परिणामका आधारमा कर्मचारीको मूल्यांकन हुने व्यवस्था गर्न पनि माग गरिएको छ । कानुनबमोजिम दिनुपर्ने सेवामा ढिलाइ गरेको वा सेवा रोकेको अवस्थामा कर्मचारीमाथि कारबाही हुने व्यवस्था गर्न पनि माग गरेको छ । 

एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्न पनि प्रस्ताव गरेको छ । सम्मेलनले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्ने एकीकृत समाजवादीको विश्वास छ । सम्मेलनका क्रममा कैयन् विषयमा राष्ट्रिय सहमति बन्न सक्ने र राष्ट्रनिर्माणका लागि कुन राजनीतिक दलका के योजना छन् भन्ने विषयमा राष्ट्रिय बहस सुरु हुने एकीकृत समाजवादीको दाबी छ । 

सबै दलले गणतन्त्रको अभ्यासमा रहेका कमीकमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा/स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार–ढिलासुस्तीरहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आ–आफ्ना योजना पेस गर्ने एकीकृत समाजवादीको प्रस्ताव छ । १० वर्षमा सबै नेपालीलाई रोजगारी दिन सक्ने सुशासनयुक्त मुलुक बनाउने राष्ट्रिय एजेन्डा र संकल्पसहित एकीकृत समाजवादीले आन्दोलन अघि बढाएको पनि नेताहरूले बताएका छन् । 

मागपत्रमा गत १५ चैतमा तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि नेपालले सरकारसँग माग पनि गरेका छन् । दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनका क्रममा आलोकनगरस्थित एकीकृत समाजवादी कार्यालय तोडफोड गरिएको थियो । प्रधानमन्त्री ओली एकीकृत समाजवादी कार्यालय पुगेर निरीक्षण गरेका थिए । त्यसवेला पनि ओलीले एकीकृत समाजवादीका नेताहरूसँग भलाकुसारी गरेका थिए ।

प्रधानमन्त्री ओलीले मागपत्र बुझ्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै यी सुझावलाई समेट्ने कोसिस गर्ने विश्वास दिलाए । उनले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए । प्रतिगामीविरुद्ध अग्रगामी शक्ति मिलेर अगाडि जानुपर्ने प्रस्ताव ओलीले राखेका थिए । उनले राष्ट्रिय एजेन्डामा मिलेर जानुपर्ने भन्दै सानो टिम बसेर छलफल गर्ने प्रस्तावसमेत राखेका छन् । ‘प्रतिगामीविरुद्ध मिलेर जानुपर्छ । राष्ट्रिय एजेन्डामा मिलेर जाऊँ । सानो टिम बनाएर छलफल गरौँ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीको प्रस्तावमा नेपालले सकारात्मक जवाफ दिएका छन् । ‘ठिक छ, बसेर छलफल गरौँ,’ नेपालको भनाइ थियो । कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वधारलगायत क्षेत्रबाट रोजगारी सिर्जना गर्न सकिने भन्दै नेपालले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न आग्रह गरेका थिए । करिब दुई घण्टाको छलफलमा ओलीले नीति तथा कार्यक्रममा समेट्न ढिलो भएको भन्दै बजेटमा विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नीति तथा कार्यक्रम लगभग तयार भइसक्यो । ढिलो भएकाले त्यहाँ कति सम्बोधन गर्न सकिन्छ, कोसिस गर्छु । बजेटमा यी विषय समेटिन्छन,’ ओलीले भने । अध्यक्ष नेपालले शिक्षक, चिकित्सक, मिटरब्याजपीडितलगायतका समस्या समाधान गरेर अघि बढ्नसमेत सुझाव दिएका छन् ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए ।

माधव नेपाल बालुवाटार प्रवेशपछि ओली उत्साहित
एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक बालुवाटार पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विषय प्रवेश गर्दै सुशासन र रोजगारीको अभियान सुरु गरेको बताएका थिए । विषयविज्ञसँग समेत छलफल गरेर विषयवस्तु तयार पारेको भन्दै उनले गम्भीरताका साथ दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । ओलीले उत्साहित हुँदै पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षको नेतृत्वमा विषयवस्तु अघि सारेको भन्दै स्वागत गर्छु, सम्मान गर्छु भनेका थिए । ‘जुन तरिका अपनाउनुभयो, यो अत्यन्तै राम्रो छ । पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षको नेतृत्वको टोलीलाई म हार्दिक स्वागत गर्छु, सम्मान गर्छु,’ ओलीको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।