निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
गण्डकी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकाले आसन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरेका हुन्।
आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहल गर्नु कानुनको दृष्टिमा नमिल्ने कुरा भएकोसमेत आयुक्त भण्डारीले स्पष्ट गरे।
‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निजविरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्तबमोजिम सुनुवाइको मौका दिइएको छ,’ उनले भने, ‘मौकामा प्रतिक्रिया पेस गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेस गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो।’
उनले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गरे।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उनले बताए।
निर्वाचन आयोगले संविधान, कानुन, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउनुहुँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताए।
सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने समाचार हरेक मतदाताको हातहातमा पुग्ने भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आयुक्त भण्डारीले आग्रह गरे।