कर्णालीमा भेट्ने वाचा गरेर सकियो नवौँ राष्ट्रिय खेलकुद

१७२ स्वर्ण, ११० रजत र ८९ कांस्यका साथ त्रिभुवन आर्मी क्लब लगातार तेस्रोपटक पदक तालिकाको शीर्ष स्थानमा

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण
कर्णालीमा भेट्ने वाचा गरेर सकियो नवौँ राष्ट्रिय खेलकुद

दसौँ राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवा (बायाँ)

कर्णालीमा भेट्ने वाचा गरेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार पोखरा रंगशालामा भव्यका साथ सम्पन्न भएको छ । २८ असोजबाट सुरु भएको प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । प्रधानमन्त्री देउवाले एक कार्यक्रमबीच दसौँ राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झन्डा हस्तान्तरण गरेका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिताको दसौँ संस्करण २ देखि ९ मंसिर ०८१ सालमा कर्णालीमा हुनेछ । घरेलु खेलकुदमा कोभिड–१९ पछि आयोजना भएको यहीँ नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हो । 

यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीमा २२ देखि २८ जेठ ०७९ सालसम्म हुने भनिएको थियो । तर, प्राविधिक कारण प्रतियोगिताको मिति सारियो । एक सातासम्म चलेको प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपिएफ र एक गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीले प्रतिस्पर्धा गरेका थिए ।  

 चार सय चार स्वर्ण
प्रतियोगितामा सहभागी कुल ३६ खेलका तीन सय ९६ विधामा पुरुष तीन हजार चार सय १४ र महिला दुई हजार सात सय १३ गरी कुल ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समावेश गरिएका ३६ खेल गण्डकीका आठ जिल्लामा भएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा चार सय चार स्वर्ण र उति नै रजत पदक समावेश थिए । खेलाडीले पाँच सय १२ कांस्यका लागि भिडेका थिए । एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य पदकसहित कुल तीन सय ९१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी टिम च्याम्पियन बन्न सफल भएको छ ।

२८ असोजमा एक भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगितामा दुखद दुर्घटना भयो । पाराग्लाइडिङका खेलाडी निसिम थापा खेलकै क्रममा निधन भए । समापन समारोहबीच थापाको चिरशान्तिको कामा गर्दै एक मिनेट मौनधारण गरिएको थियो । समापनका अवसरमा विविध सांस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजीसमेत गरिएको थियो ।

यस्तै, नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा भयो । यसबाहेक अन्य सबै खेल गण्डकी प्रदेशमै भएको थियो । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । व्यक्तिगत स्पर्धामा भने बागमती प्रदेशकी शिक्षा नापितले फेन्सिङतर्फको स्पर्धामा पहिलो स्वर्ण जितेकी थिइन् ।

 सहभागि खेलाडीमध्ये कान्छो खेलाडीको रुपमा रितिका बुमी रहिन् । सात वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन । उनले सुदूरपश्चिमबाट सहभागी भएक्ी थिईन ।  यसै गरि जेठो खेलाडीका रुपमा धनबहादुर घले रहे । प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन ।

 पौडी र बक्सिङमा दर्शकको ओइरो 
पोखरेली समर्थकहरूले विभिन्न खेलमा निकै उत्साहका साथ सहभागिता जनाएका थिए । भलिबल र फुटबलमा भव्य उपस्थित रहने समर्थकको यसपटक पौडी, बक्सिङमा समेत उल्लेख्य सहभागिता रह्यो । प्रतियोगितामा थुप्रै राष्ट्रिय कीर्तिमान बने । विशेषः एथलेटिक्स, भारोत्तोलन, पौडीमा धेरै कीर्तिमान बने । पौडीकी डुवाना लामाले सर्वाधिक नौ स्वर्ण पदक जित्न सफल भइन् । यस्तै, एथलेटिक्सकी जयरानी थारूले पाँच इभेन्टमा पाँचमै स्वर्ण पदक जितिन् । भारोत्तोलनकी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदबाट नवौँसम्म स्वर्ण पदक जित्ने कीर्तिमान बनाइन् ।

 १३औँ सागकै संरचनामा खेल
यसपटक राष्ट्रिय खेलकुदमा नयाँ कुनै संरचना निर्माण भएनन् । सन् २०१९ मा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बनेका संरचनामै प्रतियोगिता गरियो । राखेपले सुरुमा गण्डकी प्रदेशको ११ वटै जिल्लामा खेल खेलाउने भनेको थियो । तर, आठ जिल्लामा मात्रै प्रतियोगिता भए । उद्घाटन २८ असोजमा भए पनि केही खेल त्यसअघि नै सुरु भएका थिए ।

पूर्वाधार नहुँदा सुटिङ खेल ललितपुरमा भयो । सुरुमा वर्षा हुँदा पुरुष क्रिकेट पूर्ण रूपमा प्रभावित भयो भने खेल पूर्वाधार अद्यावधिक गर्न पनि समस्या भयो । खेलाडीले समयमै पोसाक पाएनन् । पोसाक पाएका खेलाडीको साइज नमिल्दा उनीहरूले लगाउन सकेनन् । जर्सीको रङ जुध्दा राष्ट्रिय खेलकुदमा बिब्सको प्रयोग बाध्यकारी बन्यो । फुटबलमा फिफाको नियमअनुसारका आधारभूत कुरा पनि पालना गरिएनन् । कम्तीमा ४८ घन्टाको अन्तरमा दुई खेल हुनुपर्नेमा दिनदिनै खेल गराइयो । पोखरा रंगशालामा फुटबल टोलीका लागि व्यवस्थित बेन्चको व्यवस्था थिएन । स्याङ्जाको वालिङमा खाल्डो भएको मैदानमा खेल्नुपरेको महिला फुटबलरहरूको गुनासो थियो । 
 

सुझावित समाचार