नवौँ राष्ट्रिय खेलकुद : बाबु–छोरी सँगै कोर्टमा

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

आभाना कार्की भर्खर १५ वर्षकी भइन् । उनका बुबा अभिषेक ४० वर्षका भए । बुबा–छोरीको जोडी क्ले कोर्टमा निकै जमेको देखिन्छ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको मिक्स इभेन्टमा छोरी आभाना र बुबा अभिषेकले अन्य प्रतिस्पर्धीलाई कडा टक्कर दिएका छन् । बुबा अभिषेकको पछि–पछि लाग्दै कोर्टसम्म पुग्ने आभाना अहिले व्यावसायिक खेलाडी भइसकेकी छिन् । 

जारी प्रतियोगितामा आभाना र बुबाले मिक्ससँगै एकलतर्फ सहभागी भए । यद्यपि, मंगलबार दुवै प्रतियोगिताको तेस्रो चरणबाट माथि उठ्न सकेनन् । तर, प्रतियोगितामा सहभागी भएसँगै आभानाको मनोबल उच्च भएको छ । ०७५ सालमा भएको आठौँ राष्ट्रिय खेलकुदमा बुटवलमा खेलेपछि आभाना पहिलोपटक कोर्टमा उत्रिएकी हुन् ।

छोरीसँगै एउटै टोली र मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बुबा अभिषेकको भनाइ छ । छोरीसँगै खेल्दा र विपक्षी टोलीलाई पराजित गर्नु आफ्ना लागि धेरै हर्षको विषय रहेको भन्दै छोरीलाई सफल खेलाडी बनाउने आफ्नो एक मात्र उद्देश्य रहेको बताए ।

बुबा अभिषेकले ६३ सालबाट टेनिस सुरु गरेका थिए । अभिषेकले विराटनगरमा आयोजना भएको सातौँ र लुम्बिनी प्रदेशमा आयोजना भएको राष्ट्रिय खेलकुदमा सहभागी भए । छोरी आभानाले आठौँ राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिप खेलेकी छिन् । यसपटक स्वर्ण जित्ने लक्ष्य बुबा–छोरीको थियो । तर, छोरीको माध्यमिक तह (एसइई)को परीक्षा हुँदा अभ्यास राम्रोसँग गर्न पाएनन् ।

‘एसइईको कारण राम्रो तयारी हुन पाएन । अलि राम्रो अभ्यास भए पदक प्राप्त गर्न सक्थ्यौँ,’ नम्र स्वरमा आभाना भन्छिन् । बुबा अभिषेक मोबाइल चलाउनभन्दा खेल खेल्दा नै स्वस्थ र ऊर्जावान् बन्न सक्ने बताउँछन् । ‘अहिलेका बच्चाहरूमा धेरै मोबाइल चलाउने समस्या छ । त्यही नहोस् भनेर बच्चालाई पनि खेलकुदमा ल्याएँ,’ उनले भने, ‘खेल्नसँगै खेलाडीको स्वास्थ्य राम्रो हुन्छ, साथै ऊर्जावान् भइन्छ ।’ 

दुई छोरीका बुबा अभिषेक छोरीको भविष्य राम्रो भएको बताउँछन् । आभानाले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपालबाट सहभागिता जनाइसकेकी छिन् । सन् २०१८ मा दक्षिण कोरियामा आयोजना भएको १३औँ विश्व जुनियर च्याम्पियनमा आभाना सहभागी भएकी थिइन् । आभाना यसपटक नौ दिनको स्कुल बिदा लिएर राष्ट्रिय खेलकुदमा सहभागी हुन पोखरा आइपुगेकी थिइन् ।

यसपटक असफल भए पनि एक दिन स्वर्ण पदक जित्ने योजना राखेकी छिन् । आभाना बुबासँग दैनिक केही सिक्दै राष्ट्रिय खेलाडी बन्न चाहन्छिन् । ‘एक दिन नेपालको नम्बर एक बन्ने योजना बनाएकी छु । अहिले सिक्दै छु । स्कुल बिदा लिएर खेल्न आएकी हुँ । पढाइ र खेललाई सँगै लैजान्छु । एक दिन पदक त पक्कै आउँछ,’ आभाना भन्छिन्, ‘बुटवलमा खेलपछि खेलेको छैन । यस्तो प्रतियोगिता निरन्तर आयोजना भए चाँडै लक्ष्य पूरा हुन्छ ।’ 
 

सुझावित समाचार