नवौँ राष्ट्रिय खेलकुद : आकाशमै बिलायो प्याराग्लाइडिङ खेलाडी निसिमको सपना

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

प्याराग्लाइडिङतर्फ उपाधि जित्ने लक्ष्य राखेका निसिम थापा आइतबार उडान भरेको ५० मिटर माथि पुगेपछि उनको ग्लाइड फनफनी घुम्यो, ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो । आकाशतर्फ उड्दै जानुपर्ने निसिम सराङकोटमा निर्माणाधीन एक अपार्टमेन्टको संरचनामा बजारिए

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङतर्फ उपाधिका प्रमुख दाबेदार थिए, निसिम थापा । यसपटक निसिम त्रिभुवन आर्मीलाई प्याराग्लाइडिङतर्फ स्वर्ण जिताउने लक्ष्यका साथ सहभागी भएका थिए । अब उनको राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने सपना कहिल्यै पूरा नहुने भएको छ । आइतबार उडान क्रममा उनको दुःखद निधन भएको छ । प्याराग्लाइडिङ प्रतियोगिता सुरु गर्नुअघि रेफ्री सुरेन गुरुङले सबै खेलाडीलाई सराङकोटस्थित प्याराग्लाइडिङ टेक अफ गर्ने ठाउँमा लगे । 

सुरेनले खेलाडीलाई प्रतियोगितामा पालना गर्नुपर्ने नियमबारे जानकारी गराए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पूरा भएपछि हावाको चाप र मौसमको अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडेका थिए । त्यसपछि आकाशबाट प्याराग्लाइडिङमा उडेर रेफ्री सुरेनले खेलाडी उड्दै गरेको हेरिरहेका थिए । 

निसिम सराङकोटको डाँडाबाट धर्ती छाडेर ५० मिटर माथिसम्म पुगेपछि ग्लाइड फनफनी घुमिसकेको थियो । ग्लाइडको एउटा भागलाई हावाले खुम्चाइदियो । आकाश तर्फ उड्दै जानुपर्ने निसिम सराङकोटमा निर्माणाधीन एक अपार्टमेन्टको संरचनामा बजारिए । स्वास्थ्यकर्मीसहितको टोलीले उनको उद्धार गरेर मेट्रो सिटी अस्पताल पुर्याए । अस्पतालका चिकित्सकले उनको निधन भइसकेको घोषणा गरे । निसिमको निधनपछि प्याराग्लाइडिङ खेल स्थगित भएको छ । 

‘सराङकोटबाट टेक अफ गरेर निसिम ५० मिटर माथि पुगेका थिए, उनको ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो,’ गुरुङले भने, ‘ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो र आकाशतिर उड्दै जानुपर्ने निसिम भुइँतिर खसे ।’ प्रतिस्पर्धाका क्रममा देशले एकजना प्रतिभावान् प्याराग्लाइडिङ खेलाडी गुमाएको रेफ्री गुरुङले बताए । ‘निसिमको ग्लाइडर कोल्याप्स भयो, आकाशमा उड्दा कहिलेकाहीँ यस्तो हुन्छ,’ रेफ्री गुरुङले भने, ‘ग्लाइडर खुल्न नसक्दा दुःखद दुर्घटना हुन पुग्यो ।’ 

जमिनबाट केवल ५० मिटर माथि भएका कारण पनि दुर्घटना हुन पुगेको उनको भनाइ छ । खेलाडी निसिमले जमिन छाडेको करिब पाँच मिनेटमै ग्लाइड खुम्चिन पुगेको थियो । उनका अनुसार अग्लो स्थानमा हुँदा पाइलटले ग्लाइड फुकाउन सक्थे । ‘हाइटमा भएकाले उद्धार गर्न सकिन्थ्यो, पाइलटसँग पनि अर्को प्यारासुट हुन्थ्यो, त्यहीमार्फत ल्यान्ड गर्न सक्थे,’ उनले भने, ‘हाइट नहुँदा कोल्याप्स हुन पुग्यो ।’

नवौँ राष्ट्रिय खेलकुदमा आर्मी क्लबलाई उपाधि जिताएर प्लाराग्लाइडिङ क्षेत्रमा चम्किने निसिमको सपना एक क्षणमै चुँडियो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि आर्मीबाट सहभागी भएका निसिमले यसपटक पनि आर्मीबाटै प्रतिनिधित्व गरेर स्वर्ण जित्ने लक्ष्य राखेका थिए । प्याराग्लाइडिङ खेलाडीका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले भारत, इन्डोनेसिया, दक्षिण कोरियालगायतमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका थिए । 

 सुटिङ 
राष्ट्रिय सुटिङ प्रतियोगिताको पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् । सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले । स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसीले ५८४.३ अंक जोडे । पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६, बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वामगरले ५३८ अंक बटुले । महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।

 सेपाकताक्रो 
सेपाकताक्रोको पुरुष र महिला डबल्समा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्बर १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । अनिल जर्घामगर, रोशन तामाङ र दीपेशजंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । यसैगरी, महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कांस्य पदक प्राप्त गरे ।

 साइक्लिङ 
साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् । बागमतीकी मगर १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दूरीको सो स्पर्धा मगरले एक घन्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घन्टा १२ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितिन् । पुरुषतर्फ १९ किलोमिटरको दूरीको क्रसकन्ट्रीमा एपिएफका सुरज रानामगरले स्वर्ण पदक जिते । उनले एक घन्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीका हिमाल टमाटाले रजत पदक जित्नेक्रममा एक घन्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए ।

 टेनिस
टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय आर्मीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ ले खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा आर्मीका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनालमाथि ६–३ र ७–५ को सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । महिलातर्फ एकलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे ।

 महिला बास्केटबल 
महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेस प्रदेशलाई ४५–२१ अन्तरमा सुदूरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै दुवै टोलीले ६–६ अंक जोडे । अन्तिम चरणमा भने सुदूपश्चिमले उत्कृष्ट प्रदर्शन गरी १६–५ को अंक जोड्दै मधेस प्रदेशलाई पराजित गरेको हो ।

 खोखो
खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हावी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला–पुरुष दुवैमा लुम्बिनीले एकल इनिङ्समै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो । चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।

 महिला भलिबलमा लिग सकियो
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको लिग चरण समाप्त भएको छ । आइतबार भएको खेलमा एपिएफले आर्मीलाई हरायो । बागमतीले मधेस प्रदेशलाई पराजित गर्यो । एपिएफले आर्मीलाई २५–२०, १९–२५, २५–२१ र २५–२३ ले हरायो । एपिएफ विजेता र आर्मी उपविजेता हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । मधेस र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका छन् । सेमिफाइनलमा एपिएफले लुम्बिनीको सामना गर्नेछ । अर्को खेल बागमती र सुदूरपश्चिमबीच हुनेछ । नेपाल पुलिसले त्रिभुवन आर्मीविरुद्ध खेल्नेछ । गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । 

अधिकारीले तोडे राष्ट्रिय कीर्तिमान
एथलेटिक्समा चार स्वर्णको छिनोफानो भएको छ । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा भएको खेलमा अधिकारीले दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीलाई पछाडि पार्दै स्वर्ण जितेका हुन् । उनले एपिएफका धावक पार्कीले राखेको कीर्तिमान भंग गरेका हुन् । अधिकारीले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा पार्कीले ३० मिनेट ३०.९९ को समयको रेकर्ड बनाएका थिए । दोस्रो भएका पार्कीले दूरी ३० मिनेट ३८.३२ सेकेन्डमा पूरा गरेका थिए । 

चार सय मिटर हर्डल्समा आर्मी क्लबकी जयरानी थारूले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेकी छिन् । जयरानीले यसअघि आफैँले बनाएको १ मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०४ः१३ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन् । एथलेटिक्सको पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जिते । खत्रीले १.९० मिटरको उचाइ नाघेर स्वर्ण जितेका हुन् । महिला हाइजम्पमा आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन् । 

सुझावित समाचार