विद्युत् अध्यादेश राष्ट्रपति कार्यालयमै अड्कियो

निजी क्षेत्रको विद्युत् व्यापार अन्योलमा

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने उद्देश्यसहित सरकारले अघि बढाएको ‘विद्युत् अध्यादेश, २०७९’ लाई प्रमाणीकरण गर्न (लालमोहर लगाउन) राष्ट्रपति कार्यालयले आनाकानी गरेको छ । १ असोजदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सरकारले संसद्मा विचाराधीन विद्युत् विधेयक फिर्ता ल्याएर अध्यादेशमार्फत जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । तर, त्यसलाई प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आनाकानी गरेकी हुन् । 

७ असोजको मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘विद्युत् अध्यादेश, २०७९’ ११ असोजमा राष्ट्रपति कार्यालयमा पेस गरिएको थियो । तर, त्यसको झन्डै तीन हप्ता बितिसक्दासमेत राष्ट्रपति कार्यालयले कुनै निर्णय गरेको छैन । संसद् नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत ऐन ल्याउन पाउँछ । त्यसका लागि राष्ट्रपतिको प्रमाणीकरण आवश्यक हुन्छ । तर, त्यो अध्यादेश प्रमाणीकरण गर्न कुनै निश्चिम समयसीमा तोकिएको छैन । साथै, अध्यादेश खारेज गर्न पाउने अधिकारसमेत राष्ट्रपतिलाई रहेको छ । फलस्वरूप विद्युत् अध्यादेश अन्योलमा परेको हो । 

नेपालमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्रै विद्युत्को खपत बढाउन सकेको छैन । त्यसैले, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिएर खपत बढाउने सरकारको मुख्य उद्देश्य थियो ।तर, त्यसका लागि प्रचलित विद्युत् ऐन, २०४९ मा कुनै कानुनी व्यवस्था छैन । उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकमा भने निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संसद्मा विचाराधीन रहेको उक्त विधेयक तत्काल पास हुने सम्भावना देखिएन ।  त्यसपछि सरकारले उक्त विधेयक फिर्ता ल्याएर अध्यादेश अघि बढाएको थियो ।  

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विद्युत् अध्यादेश प्रमाणीकरण भइनसकेको बताए । ‘सरकारबाट विद्युत् अध्यादेश पेस भएको हो । तर, त्यो प्रमाणीकरण भएको छैन,’ उनले भने, ‘यसमा भएको ढिलाइबारे म पनि अनभिज्ञ छु ।’ यस्तै, ऊर्जासचिव सुशीलचन्द्र तिवारीले पनि अध्यादेशको पछिल्लो अवस्थाबारे आफू अनभिज्ञ रहेको बताए । 

ऊर्जाले दिएको अध्यादेश जारी गर्नुपर्ने कारण 
अध्यादेश पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले १५ असोजमा सरकारका प्रतिनिधिलाई छलफलमा बोलाएकी थिइन् । त्यसमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत टोली उपस्थित थिए । सो क्रममा मन्त्री भुसालले अध्यादेश ल्याउनुपर्ने आठ कारण राष्ट्रपतिसमक्ष पेस गरेकी थिइन् । तर, राष्ट्रपति कार्यालयले त्यसमा चासो नदिएको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् । नेपालमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा खपत भने बढ्न सकेको छैन । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गरिरहेको छ । सोही कारण निजी क्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने निर्णयमा सरकार पुगेको थियो । 

 अब आशा छैन : ऊर्जा मन्त्रालय 
मन्त्री भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूले भने अब अध्यादेश पारित हुने मामलामा आशा मारिसकेका छन् । मन्त्रालयका एक उच्च अधिकारीले अब अध्यादेश आउने आशा नरहेको बताए । 

‘हामीले अध्यादेश पेस गरेको २० दिन भइसक्यो । अध्यादेश प्रमाणीकरण हुने भए अहिलेसम्म भइसक्थ्यो,’ उनले भने, ‘अब अध्यादेश जारी हुन्छ भन्नेमा आशा मारिसकेका छौँ ।’ यद्यपि, राष्ट्रपतिले अझै पनि उक्त विधेयक प्रमाणीकरण गर्न भने सक्नेछिन् । त्योअनुसार विद्युत् विधेयक प्रमाणीकरण गर्न ढोका नै बन्द नभएको उनको भनाइ छ ।

सुझावित समाचार